
१६, जेठ, काठमाडौं । नेपाल स्टील बिलेट उत्पादक उद्योगीले आर्थिक वर्ष २०७८–७९ को बजेटमा आफूहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।
तयारी बिलेट र त्यसको कच्चा पदार्थ (स्पोन्ज आइरन) आयातमा लाग्ने भन्सार महसुल पुनरावलोकन गर्न आग्रह गरे पनि बेवास्ता गरिएको संघका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । भन्सार महसुल पुनरावलोकन गरेको भए तयारी बिलेटको आयात आधा कम हुने र बजेट घाटासमेत घट्ने उनको दावी छ ।
‘नेपालमा वार्षिक ७० अर्बको तयारी बिलेट आयात हुन्छ, हामी नै यहाँ उद्योग खोल्छौं, भन्सार महसुलमा सहजीकरण गरियोस भन्यौं तर सुनुवाइ भएन’ उनले भने ।
सरकारका सबै निकायमा भन्सार महसुल पुनरावलोकनका लागि आग्रह गरेको र आश्वासन पाए पनि बजेटमा सम्बोधन नभएको न्यौपानेले बताए ।
‘हामीले सित्तैमा कच्चा पदार्थ ल्याउन देऊ भनेका थिएनौं, कम्तीमा तयारी वस्तु र कच्चा पदार्थमा लाग्ने महसुलमा एक तहको फरक गरियोस् भन्ने चाहेका थियौं । तर त्यो भएन’ उनले भने ।
हाल तयारी बिलेट र कच्चा पदार्थको भन्सार महसुल पाँच प्रतिशत छ । यस्तो अवस्थामा उद्योग खोल्ने भन्दा आयात गर्दा नै सस्तो पर्ने संघको भनाइ छ ।
नेपालमा स्टील उद्योगहरुले तयारी बिलेट भारत लगायतका मुलुकबाट आयात गरेर त्यसैलाई गालेर फलामे डण्डी तथा छड बनाउँदै आएका छन् ।
नेपालमा वार्षिक २५ लाख टन बिलेटको माग हुने गरेको संघले जनाएको छ । नेपालमा चाहिने ९० शतप्रतिशतभन्दा धेरै बिलेट अहिले पनि भारत लगायतका मुलुकबाट आयात हुन्छ ।
प्रतिक्रिया 4