Comments Add Comment

चीन सरकारले पठाएका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण

फाइल तस्वीर

१६ जेठ, काठमाडौं । चीनले कोरोना महामारीसँग लड्नका लागि सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यस्तै चीन सरकारले अतिरिक्त अनुदान अन्तर्गत उपलब्ध गराएको ३५ सय अक्सिजन सिलिण्डरमध्ये १५ सय थान सोमबार केरुङ नाकामा नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्री पनि आइतबारै तातोपानी नाकामा हस्तान्तरण गरिएको छ । तिब्बत सरकारले पठाएको स्वास्थ्य सामग्रीहरुमा ८०० थान अक्सिजन सिलिण्डर, २०० थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ हजार एन्टिजेन किटलगायत छन् ।

यसैगरी चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख डोज कोरोनाविरुद्धको खोपमध्ये ८ लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान सोमबार राति बेइजिङ जाने पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवादमा १० लाख डोज कोरोना खोप नेपाललाई प्रदान गर्ने चीनले घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment