Comments Add Comment

घर डुबेपछि स्कुलको शौचालयमा बास

१६ जेठ, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका– ८ इटहर टोलमा एक दलित परिवार विद्यालयको शौचालयमा बस्न बाध्य भएका छन् ।

विसुन भनिने स्थानीय विष्णु मल्लिक, उनकी आमा र छोरी गरी ३ जना स्थानीय विद्यालयको शौचालयमा बसिरहेका छन् । दुई दिनदेखि परेको पानीका कारण उनको फुसको घर डुबानमा परेको छ । घरमा भएको अन्नसमेत भिजेका कारण उनीहरुले गाउँबाट मागेर खाइरहेका छन् ।

विद्यालय र आसपासका खेतहरुबाट बग्ने पानीको निकास नहुँदा उनको घर वर्षेनी डुबानमा पर्ने गरेको छ । आफ्नो जग्गा जमिन नभएका कारण उनी वर्षौदेखि त्यहीँ बस्दै आएका छन् ।

गतवर्षको वर्षामा उनले पालेको बंगुर नै डुबेर मरेको थियो । पानीको निकास हुने ठाउँमा चौतारा निर्माण गरिदिएपछि निकास बन्द छ । जसले गर्दा आफ्नो घर वर्षेनी डुबानमा परेको मल्लिकको भनाइ छ ।
‘पहिला यस्तो समस्या थिएन, चौतारा बनेपछि पानी बग्न छोडेको छ, थोरै पानी पर्नेवित्तिकै घर डुब्छ’ माल्लिकले भने ‘त्यसैले विद्यालयको शौचालयमा आएर बसेको छु ।’

एक बर्षदेखि समस्या भोग्दै आएको र सरोकारवाला निकायलाई समस्याबारे जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । उनीहरु बस्ने गरेको शौचालय विद्यार्थीहरुले प्रयोग गर्दै आएको शौचालय हो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विद्यालय बन्द छ ।

माली परिवारको विजोग देखेपछि सामाजिक सञ्जालबाट राहत सहयोगका लागि आह्वान गरेको तर कतैबाट सहयोग नमिलेको स्थानीय सद्दाम हुसैन बताउँछन् । ‘मैले बिहान उनीहरुको शौचालयमा बास भएको थाहा पाएँ, बिहान थाहा पाएपछि सहयोगका लागि हार गुहार गरें’ उनले भने ‘कतैबाट सहयोग जुटाउन सकिएन ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले भने आफूलाई मालीको घर डुबानमा परेको र उनको शौचालयमा बास भएको बारे जानकारी नभएको बताए । ‘म कलैयामा बस्छु, गाउँपालिकामा काम परेको समयमा जाने हो । गएपछि बुझ्छु’ उनले भने ‘सम्बन्धित वडाका अध्यक्षसँग कुरा गर्दा राम्रो होला ।’

वडाअध्यक्ष सुरेन्द्र साहले पानीको निकास गराउन गाउँपालिकाबाट डोजर मगाएको तर नआएकोले भोलि नै निजी डोजर मगाएर समस्या समाधान गर्ने दावी गरे । ‘पानीको निकास हुने ठाउँ एउटा व्यक्तिले थुनिदिएका छन्, पटक पटक आग्रह गर्दा हटाउन अटेरी गरिरहेका छन्’ उनले भने ‘समस्या समाधानका लागि भोलि नै प्राइभेट डोजर ल्याएर काममा लगाउँछु ।’

तर वडा अध्यक्ष साहले भने अहिलेसम्म शौचालय सञ्चालनमा नआएको दावी गरेका छन् । ‘शौचालयमा प्यान नै हालेको छैन, सञ्चालनमा आउनै बाँकी छ, ठूलो कोठाजस्तो छ, त्यही भएर उनीहरु गएर बसेका होलान्’ उनले भने ।

वडा सदस्य राम विश्वासप्रसाद साहका अनुसार विष्णुलाई पालिकाले समय समयमा सेवा सुविधा दिए पनि सदुपयोग हुन सकेको छैन ।

‘उनी शुरुदेखि नै विद्यालयको जमिनमा बसेका छन्, तैपनि पालिकाबाट घरिघरि सुविधा दिलाइरहेका छौं’ उनले भने ‘गत वर्षपनि घर बनाउनका लागि ३० हजार रुपैयाँ दिएका थियौं ।’

उनले अहिले आइपरेको समस्याका बारेमा बुझेर शौचालयमै बस्नुपर्ने अवस्था बनेको भए विद्यालयको कक्षा खोलाएर राख्न लगाउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment