
१६ जेठ, काठमाडौं । निजी क्षेत्रका संघ संगठनहरुले आगामी आर्थिक वर्षका लागि आएको बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार बजेटबारे आधारिक धारणा सार्वजनिक गर्दै बजेट सकारात्मक रहेको तर कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको प्रतिक्रिया दिएको छ ।
निजी क्षेत्रको अर्को संगठन नेपाल उद्योग परिसंघले पनि बजेटको स्वागत गर्दै अर्थमन्त्री विष्णु पौडेललाई धन्यबाद दिएको छ । यी दुबै संस्थाहरुले आइतबार विज्ञप्ति निकालेर बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् ।
‘यो बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्दै उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको छ, महासंघद्वारा प्रस्तुत अधिकांश सुझाव समावेश गरिएको आर्थिक बर्ष २०७८-७९ को बजेटलाई महासंघ स्वागत गर्दछ’ एफएनसीसीआईको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीले कहिल्यै नभोगेको स्वास्थ्य जटिलतासंगैको आर्थिक समस्यासँग जुध्नु परिरहेको छ, यस्तो अवस्थामा बजेटको प्राथमिकताले सकारात्मक सन्देश दिएको छ ।’
उता सीएनआईले पनि औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड-१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान, औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भई आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने बताएको छ ।
‘सीएनआईले अघि बढाएको ‘मेक इन नेपाल’ कार्यक्रमलाई विशेष महत्व दिएर बजेट बक्तव्यमा समावेश गर्नुभएकोमा नेपाल सरकार र अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वाषिर्क निर्यात ४.३ अर्ब डलर पुर्याउने लक्ष्यका साथ परिसंघले यो अभियान अगाडि बढाइरहेको छ ।’
कार्यान्वयनको पक्ष भने चुनौतीपूर्ण रहेको दुबै संगठनले उल्लेख गरेका छन् । अब कार्यान्वयनतर्फ ध्यान दिन पनि उनीहरुको अनुरोध छ ।
प्रतिक्रिया 4