Comments Add Comment

कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् ।

वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको उनले बताए ।

‘वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएका छन्,’ डा. पौडेलले भने, ‘त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको सूचना पाएका छौं । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएको खबर आएको छ ।’

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका डा. निरज सिंहले बताए ।

यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । ‘तीन जना कोरोना संक्रमितमा कालो ढुसीसँग मिल्दो लक्षण देखिएका थिए,’ डा पाण्डेले भने, ‘दुई जनाको उपचार प्रक्रिया नथाल्दै मृत्यु हुन गयो । एकजनालाई भने काठमाडौं रेफर गरिएको थियो ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पछिल्लो समय हप्तामा कालो ढुसीका दुई/तीन वटा केस देखा परेका छन् । यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको उनले बताए ।

अस्पतालमा फंगसको परीक्षण नहुने भएकाले औपचारिक पुष्टि भने हुन नसकेको डा. पाण्डेले बताए ।

भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो ।

नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ । ‘कोभिड संक्रमण हुने दर अहिले बढ्दो छ । संक्रमणको बेला धेरै जनाले स्टेरोइड लगायत एन्टिबायोटिक औषधिको प्रयोग गरेका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘कोभिड सञ्चो भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्लाक फङ्गसको संक्रमण बढ्न गएको हो ।’

डा. पौडेलका अनुसार पछिल्लो समय हप्तामा कालो ढुसीका दुई/तीन वटा केस देखा परेका छन् । यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको उनले बताए ।

स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको उनले बताए ।

नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले एक दुई महिनाभित्रमा यो संक्रमण बढेर एकसयदेखि डेढसयको संख्यामा पुग्ने अनुमान गर्छन् ।

काठमाडौंको तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत तथा कोर्निया विशेषज्ञ डा. रीता गुरुङले यो एक प्रकारको दुर्लभ रोग भएको बताउँछिन् । कोभिडका बिरामीलाई मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका अन्य बिरामीमा पनि यसको संक्रमण हुने बताउँछिन् ।

कसरी हुन्छ परीक्षण ?

विशेष गरी मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड एवं एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने बिरामीसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । यस्ता व्यक्तिहरुमा ‘अपरट्यूनिस्कि इन्फेक्सन’ हुन जान्छ ।

जसले गर्दा त्यस्ता व्यक्तिहरुमा आँखा सुनिने, दुख्ने, धमिलो देख्ने, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, एक्कासी सुगर बढ्ने, सास फेर्न असहज हुने लगायतका लक्षणहरु देखा पर्छन् । यस्ता लक्षणहरु देखा परेमा इन्फेक्सन देखा परेका शरीरका अंगअनुसार परीक्षण गरिने डा. पौडेलले बताए ।

संक्रमितको स्वाबको माउन्ट गरेर माइक्रोस्कोपिक टेस्ट गरेर यो रोगको पहिचान गर्न सकिने उनले बताए । यसै गरी कल्चर टेस्ट तथा बायोप्सी परीक्षणमार्फत पनि यो रोगको पहिचान गर्न सकिने डा. पौडेलको भनाइ छ ।

माइक्रोस्कोपिक टेस्ट र बायोप्सी टेस्ट काठमाडौं बाहिरका ल्याबमा पनि गर्न सकिने उनको भनाइ छ । तर कल्चर टेस्ट भने काठमाडौंको केही अस्पतालमा मात्र सम्भव रहेको उनको भनाइ छ ।
कसरी बच्न सकिन्छ ?

कालो ढुसी प्राकृतिक रूपमै हाम्रो वातावरणमा पाइने एक प्रकारको ‘अपरट्यूनिस्कि’ ढुसी हो । बढी ओसिलो ठाउँमा कालो ढुसीको संक्रमण हुने जोखिम बढी हुने हुन्छ । त्यसैले डा. पौडेलको सुझाव छ, भिजेको वा चिसो मास्कको प्रयोग नगर्नुस् । एउटै मास्क दोहो¥याएर तेहे¥याए प्रयोग गर्ने बानी तत्काल त्याग्नुपर्ने डा. पौडेलको भनाइ छ ।

लामोसमयसम्म स्टेरोइड औषधि प्रयोग गर्ने व्यक्तिहरुले चिकित्सको सल्लाहबमोजिम मात्रै कन्ट्रोल गरेर सेवन गर्न पनि उनले सुझाव दिए । आफ्नो इच्छा अनुसार औषधि सेवन गर्ने बानीलाई डिस्करेज गर्नुपर्ने डा. पौडेलले बताए ।

यो रोगबाट बच्नका लागि एन्टिफंगल औषधि प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । इन्फेक्सन भएको शरीरको भाग हेरी केही हप्ता वा महिनासम्म औषधि प्रयोग गर्नुपर्ने छ, तर चिकित्सकको सल्लाहमा मात्र ।

कोर्निया विशेषज्ञ डा. गुरुङले हाम्रो वरपरको वातावरणमा कालो ढुसी हुने भन्दै जोकोहीलाई यसले आक्रमण नगर्ने बताउँछिन् । कोभिड महामारीको समयमा गम्भीर प्रकृतिका बिरामीले स्टेरोइड औषधि सेवन गर्दा रोगसँग लड्ने क्षमता घट्दा यसको संक्रमण हुने बताउँछिन् ।

मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढी देखिने उनी तर्क गर्छिन् । ‘आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा चनाखो हुनुपर्छ । आफूखुसी स्टेरोइड औषधि प्रयोग गर्नै भएन,’ डा. गुरुङले भनिन्, ‘औषधिको प्रयोग गर्नै परे चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ ।’ नाक रातो हुने, आँखा पोल्नु, आँखाबाट रगत जस्तो तरल पदार्थ आउने जस्ता समस्या देखिए चिकित्सककहाँ जान उनको सुझाव छ ।

उपचार विधि के हो ?

कालो ढुसीबाट संक्रमितको उपचारमा मुख्यतया ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार कालो ढुसीका संक्रमितले दुई/तीनवटा एन्टिफंगस औषधि प्रयोग गरिन्छ ।

उनका अनुसार मुख्यतया एम्फोटेरिसिन बी र पोसाकोनाजोल औषधि प्रयोग गरिन्छ । जसमध्ये एम्फोटेरिसिन बी कालाजारका बिरामीले पनि औषधि प्रयोग गर्छन् ।

तर पछिल्लो समय नेपालमा कालाजारका बिरामी नेपालमा घट्दै गएकाले यो औषधि आयात कम छ, त्यसमाथि भारतले निर्यातमा रोक लगमएको छ । भारतमा पनि ब्लाक फङ्गसको संक्रमण बढेकाले कालाजारको औषधि निर्यातमा रोक लगाएको हुनसक्ने सरकारी विश्लेषण छ ।

नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. न्यौपाने पनि एन्टिफंगस औषधि र अपरेशनमार्फत कालो ढुसीको संक्रमण निधान गरिने बताउँछन् ।

फंगलबाट इन्फेक्सन भएको शरीरको अंगको पहिचान गरी त्यसलाई अपरेशन गरी खुर्केर फाल्नुपर्ने र साथ साथै एन्टिफंगस औषधि सेवन गर्नुपर्ने डा. न्यौपानेको तर्क छ । समयमै उपचार हुन नसके संक्रमण भएका व्यक्तिहरु मध्ये करिब ५० प्रतिशत मानिसको मृत्यु हुने उनको भनाइ छ ।

सरकारले के गर्दै छ ?

पछिल्लो समय कालो ढुसीको संक्रमण बढ्दै गएपछि सरकार औषधिको जोहो गर्नतर्फ लागेको छ । एन्टिफंगस औषधि ल्याउनका लागि डब्लूएचओसँग समन्वय भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । ‘डब्लूएचओको सिस्टमबाट औषधि ल्याउने प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘जुन ३ वा ५ तारिखभित्र यो औषधि नेपाल आइसक्छ ।’

नियमित हवाई उडान नभएका कारण औषधि आउन ढिलाइ भएको उनले बताए ।

उनकाअनुसार स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल उपलब्ध गराउन भनिएको थियो । तर डब्लूएचओले पहिलो लटमा ३००० भाइल उपलब्ध गराउँदैछ । उनले भने, ‘एक हजार भाइल त कालाजारका बिरामीका लागि नियमित आउँदै गरेको सेड्यूलमा छँदैछ । तीन हजार एडिसनल आउँदा तत्कालका लागि हामीलाई अलिकति राहत मिल्छ ।’

के हो प्रोटोकल ?

डा. पौडेलका अनुसार चिकित्सकहरुले यो संक्रमणबारे डाइग्नोसिस गर्छन् । बिरामीको डाइग्नोसिसको आधारमा चिकित्सकहरुले संक्रमण भएको स्थान पहिचान गरेर औषधि प्रयोगबारे निर्णय गर्छन् । अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे फिजिसियनहरुले अध्ययन गरेर उपचार प्रक्रिया अगाडि बढाउने डा. पौडेलको भनाइ छ ।

रोकथामका लागि एड्भाइजरी जारी

नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनले मन्त्रालयसँगको समन्वयमा यसको रोकथाम र व्यवस्थापनसम्बन्धी एड्भाइजरी जारी गरिसकेको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेन्द्र न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

‘कालो ढुसी के हो ? यसका लक्षणहरु के–के हुन् ?, कस्ता बिरामीहरुमा यसको संक्रमण देखिन्छ ? यसको पहिचान कसरी गर्ने ?, सचेतना अपनाउन के–के गर्न सकिन्छ ?, यसबाट कसरी बच्न सकिन्छ ?, उपचार विधिहरु के–के हुन् ? प्रयोग गरिने औषधिहरु के–के हुन् ?’ भन्नेबारे हेल्थ वर्करहरुलाई सुझाव दिनका लागि एडभाइजरी जारी गरिएको डा. न्यौपाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment