Comments Add Comment

अक्सिजन प्लान्ट खरिद गर्न भक्तपुर नगरपालिकाले नगरबासीसँग सहयोग जुटाउँदै

फाइल तस्वीर

१८ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरबासीसँग सहयोग जुटाउन थालेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको र सरकारले तोकिदिए जत्ति पनि अक्सिजन नपाएपछि भक्तपुरले आफ्नै अक्सिजन प्लान्ट राख्ने योजनाका साथ जनताबीच गएको मेयर सुनिल प्रजापतिले बताए ।

सरकारले ख्वःप अस्पताललाई दैनिक ८० सिलिन्डर अक्सिजन दिने भनेपनि नपाएको प्रजापतिले गुनासो गरे । संक्रमितको उपचारको लागि बीमा संस्थानले दिनुपर्ने करिब साढे पाँच करोड रकम समेत नआएको उनको भनाइ छ । जेठ ४ गते नगरपालिकाको भर्चुअल बैठक गरेर जनतामाझ गएको हो । उनले भने ‘हामीलाई केन्द्र सरकारले दिनुपर्ने रकम पनि नदिएका कारण हामीसँग दुई विकल्प रह्यो । एक विकासको रकम कटौती गरेर यता लगाउने, अर्को जनतामाझ जाने ।’

नगरपालिकाको बैठकपछि नगरबासीलाई नै सोधेर उनीहरुको अनुसार अघि बढेको जनाएको छ । ‘हामीले जनतालाई सोध्यौं । केन्द्र सरकारबाट पाउनुपर्ने रकम समेत आएको छैन । त्यसैले हामी विकासको काम रोकेर यता खर्च गरौं कि तपाईंहरु सहयोग गर्नुहुन्छ ?’ मेयर प्रजापतिले भने जनताले हामी सहयोग गर्छौं । विकासको काम नरोकौं भनेपछि सहयोग जुटाउन थालेका हौं ।’

नगरपालिकाले जनतालाई अपील गरेको १२ दिनमा नै तीन करोडभन्दा बढी जनताको सहयोग जुटेको छ । जनताको सहयोगबाट उठेको रकमले जनताकै स्वास्थ्य उपचारका लागि आवश्यक अक्सिजन प्लान्ट राख्ने र स्वास्थ्य सामग्री खरिद गर्ने योजना रहेको मेयर प्रजापतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment