Comments Add Comment

अमेरिकालाई चीनको जवाफ-कोरोनाको उत्पत्तिबारे वैज्ञानिक अनुसन्धान गरौं

वुहानमा गत फेब्रुअरीमा हात मिलाउँदै डब्ल्यूएचओ र चिनियाँ विज्ञहरु ।

१८ जेठ, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा राजनीति गर्न नहुने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार कोरोनाको उद्गमस्थल पत्ता लगाउने विषय वैज्ञानिक अनुसन्धानको भएको बताएका हुन् । नियमित प्रेस ब्रिफिङमा वेनबिनले अमेरिकाले चीनलाई कोरोना महामारीको दोष लगाउने प्रयास गरिरहेको बताएका हुन् ।

‘हामीले अहिले महामारीको कलंक भिराउने काम भइरहेको देखेका छौं’, वेनबिनले भने, ‘कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर केही मुलुकलाई दोष लगाउने प्रयास भइरहेको छ ।’

वेनबिनले कोरोना उत्पत्तिबारे अध्ययन टोलीमा अमेरिकी सेना पनि सामेल हुन खोजेको आरोप लगाएका छन् । ‘कोरोनाको उत्पत्तिबारेको अध्ययन वैज्ञानिकहरुमा आधारित हुनुपर्छ, गुप्तचर सैनिकहरुमा होइन’, वेनबिङले थपे ।

कोरोनाको उत्पत्तिको विषयमा चीन निकै पारदर्शी रहेको र अन्य मुलुकसँग यस विषयमा सहकार्य पनि गर्दै आएको वेनबिनको दाबी छ ।

यसअघि अमेरिकी गुप्तचर संस्थाले कोरोना भाइरस चीनको प्रयोगशालाबाट आएको हुन सक्ने बताएको थियो । अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि आफू कोरोना भाइरस प्राकृतिकरुपमा आएको भन्नेबारे विश्वस्त हुन नसकेको बताएका थिए । साथै उनले चीनमा के भइरहेको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको उत्पत्तिको विषयमा अध्ययन गरी ९० दिनभित्र त्यसको प्रतिवेदन बुझाउन गुप्तचर संस्थालाई निर्देशन दिएका छन् ।

त्यस्तै बेलायतको गुप्तचर संस्थाले पनि हालै मात्र कोरोनाको उत्पत्ति प्रयोगशालाबाट भएको हुन सक्ने बताएको छ । बेलायती सञ्चारमाध्यमहरुका अनुसार नयाँ अध्ययनमा शोधकर्ताले एक विशेष किसिमको फिंगरप्रिन्ट पाइएको यसले भाइरस प्रयोगशालाबाटै आएको हुन सक्ने देखाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment