Comments Add Comment

निषेधाज्ञाका बेला रुपन्देहीमा फरार अभियुक्त खोज्दै प्रहरी

१८ जेठ, बुटवल । कोरोना महामारीका कारण जारी निषेधाज्ञा (बन्दाबन्दी)ले सबै क्षेत्र प्रभावित भएको छ । तर निषेधाज्ञामा प्रहरीलाई भने फरार अभियुक्त खोज्न सजिलो भएको छ ।

अरु बेला फरार रहेका अभियुक्त निषेधाज्ञाका बेला घरमै आएका बेला प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जघन्य अपराधमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका पाँच जना फरार अभियुक्त सोमबार एकै दिन पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका–११ रुपन्देहीका ५३ वर्षीय धनबहादुर बुढाथोकी, तिलोत्तमा–१६ का ५६ वर्षीय कन्हैया कँवर जोगी,  ३६ वर्षीय बेनीराम कँवर जोगी, गैडहवा गाउँपालिका– ८ का ३२ वर्षीय बलवीरकुमार सुनार र तिलोत्तमा नगरपालिका–२ का ३४ वर्षीय बाबुराम विक रहेका छन् ।

उनीहरुमध्ये धनबहादुर, कन्हैया र बलवीर कर्तव्य ज्यान मुद्दामा क्रमशः १०, १४ र १९ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले बताए ।

यस्तै बेनीराम जबरजस्ती करणी मुद्दामा ७ वर्ष र बाबुराम अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष कैद सजाय पाएका अभियुक्त हुन् । पाँचै जनालाई कैद भुक्तानीका मंगलबार कारागार चलान गरिएको डीएसपी थापाले जानकारी दिए । १० वर्षमाथि कैद सजाय पाएर फरार रहेका १६ जना वैशाखयता पक्राउ परेको प्रवक्ता थापाले बताए । उनीहरुलाई कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment