Comments Add Comment

पौडेल समूहको निष्कर्ष : विशेष होइन, १४औं महाधिवेशन नै सम्भव छ

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले विवादित क्रियाशील सदस्यतालाई थाती राखेर भएपनि १४ औं महाधिवेशन गर्नुपर्ने बताएको छ । साथै कतिपय जिल्लामा देखिएको विवाद समाधानको प्रयासबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।

कांग्रेसको महाधिवेशन भदौ ७–१० का लागि निर्धारण गरिएको छ भने पार्टीको वैधानिकता जोगाउन भदौ २३ सम्म नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोगलाई जानकारी गराइसक्नुपर्छ । तर अहिलेसम्म क्रियाशील सदस्यता टुंगिएको छैन ।

संस्थापन इतर समूहका नेताहरुको बुधबार भएको भर्चुअल बैठकमा क्रियाशील सदस्यता छानविन समितिमा रहेका प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरेका थिए । पछिल्लो पटक जेठ २५ गतेसम्म सबै क्रियाशील सदस्यको विवरण पार्टीको डेटा सिस्टममा इन्ट्री गरिसक्न भनिएको छ ।

केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘झण्डै ८० प्रतिशतमा विवाद हुन्न । ८/१० प्रतिशत विवाद समाधान गर्न सकिन्छ । बाँकीलाई अर्को महाधिवेशनको प्रक्रियामा हालेर नियमित महाधिवेशन गर्ने प्रयत्न गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो ।’

तर कतिपय जिल्ला तथा क्षेत्रीय सभापति आफैं कोरोना संक्रमित भएका छ कारण काम गर्न सकेका छैनन् भने सिन्धुपाल्चोक, सुर्खेत, बर्दिया लगायतका जिल्लामा विवादका कारण क्रियाशील सदस्यता तथा नवीकरण प्रभावित भएको छानविन समितिका सदस्यहरुले बताएका छन् ।

क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री गरेपछि सार्वजनिक गरेर उजुरी लिनुपर्छ । हालसम्म सार्वजनिक भएका विवरणका आधार उजुरी पनि आएका छन् । तर कोरोना महामारी र निषेधाज्ञाका कारण छानविन समितिको काम पनि प्रभावित भएको समितिका सदस्य जीवन परियारले बताए । छानविन समितिका अर्का सदस्य प्रदीप पौडेलले भने पार्टीले प्रष्ट मापदण्ड बनाएर लागू गरे एक महिनामा सबै उजुरी छानविन गर्न सकिने बताएका थिए ।

भर्चुअल बैठकका क्रममा नेताहरुले विवाद नटुंगिए कसरी महाधिवेशन गर्ने भन्नेबारे समेत धारणा राखेका थिए । छलफलमा १३ औं महाधिवेशनका प्रतिनिधिबाट भएपनि महाधिवेशन गर्नुपर्ने रायसमेत कतिपय नेताहरुले राखेका छन् । तर १३ औं महाधिवेशनपछि पार्टी एकता प्रक्रियामा आएकाहरुलाई कसरी महाधिवेशनको प्रक्रियाबाट बञ्चित गर्ने भनेर प्रश्न पनि उठेको छ ।

१२ जेठमा प्रेस युनियनको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले टुंगो लागेका क्रियाशील सदस्यबाट वा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव अघि सारेका थिए । तर बुधबार भएको छलफलमा उनले यसबारे केही भनेनन् ।

बैठकले विवाद नभएका क्षेत्रको महाधिवेशन प्रतिनिधिहरु टुंगो लगाउने, छानविन समितिले सक्ने जति छानविन गर्ने र बाँकी भएकालाई १५ औं महाधिवेशनको प्रक्रियामा हालेर भएपनि नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘झण्डै ८० प्रतिशतमा विवाद हुन्न । ८/१० प्रतिशत विवाद समाधान गर्न सकिन्छ । बाँकीलाई अर्को महाधिवेशनको प्रक्रियामा हालेर नियमित महाधिवेशन गर्ने प्रयत्न गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो ।’

यसरी महाधिवेशन गर्दा वैकल्पिक उपायहरु पनि अपनाउने सकिने पौडेल समूहले बताएको छ । सामान्य अवस्थामा महाधिवेशन गर्दा सबै महाधिवेशन प्रतिनिधि एकैठाउँमा भेला हुन्छन् । तर महामारीको यो समयमा ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला हुन सम्भव छैन । केन्द्रीय सदस्य घिमिरे भन्छन्, ‘जिल्लाजिल्लामा मतदान गर्ने, प्रविधिको प्रयोग गर्ने जस्ता विकल्पहरु अपनाउन सकिन्छ भनेर छलफल भएको छ ।’

बैठकमा नेताहरुले महाधिवेशनका लागि पार्टी नेतृत्वले अपेक्षाकृत तदारुकता नदेखाएको गुनासो समेत गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले सिन्धुपाल्चोक लगायतका जिल्लाको विवादबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने भन्दै सभापति देउवासँग छलफल गर्न महामन्त्री शशांक कोइरालालाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment