Comments Add Comment

‘सांसद पद गएर के भो, आत्मसम्मान गुमाएको छैन’

थापा भन्छन् : ममाथिको अन्याय र कम्युनिष्ट स्खलनमाथि किताब लेख्छु

२० जेठ, पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको दिन २२ माघ २०७४ मा आकर्षणको केन्द्र बनेका थिए, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा ।

पहिलो पटक रोस्टममा बोल्न उभिएका थापाले बागलुङे लवजमा संघीयतालाई ‘हीराको सिक्रीले बाँधिएको भालु’ संज्ञा दिएपछि अरु पार्टीका सांसद मुखामुख गरेका थिए । संघीयताको विरोध गर्दागर्दै प्रदेशसभा सांसद भएका थापाले त्यही व्यवस्था जनताको अभिशाप भएको बताउँदा अरु दल चकित पर्नु स्वाभाविक थियो ।

थापाले सत्तारुढ दल, सत्ताको चरित्र र प्रवृत्तिमाथि संसदमा सधैं प्रश्न उठाइरहे । बागलुङ क्षेत्र नम्बर १ ‘ख’ मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद थापाले प्रदेश सभा छिरेको ३९ महीनापछि पनि संसदमा संघीयताको विरोध नै गरे ।

संसदमा बोल्ने सांसदहरुमध्ये थापा चर्चाको केन्द्रमा रहे । मिडियामा पनि छाइरहे । लामो नबोल्ने, जे हो त्यही ठेट शब्दमा बोल्ने र लवजका कारण पनि उनी धेरैको ध्यान खिच्न सफल हुन्थे । सरकारलाई समर्थन गरे पनि प्रतिपक्षको लहरमा बस्ने थापा संसदमा आलोचनात्मक चेत प्रदर्शन गर्थे ।

तर १८ वैशाख २०७८ मा थापा निराश थिए, शब्दमा ब्यंग्यभन्दा बढी आक्रोश थियो । साविकको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि निर्माण भएको सत्ता समीकरण र त्यसमा आफ्नै भूमिकाले थापा सांसद पदबाटै हटाइने अवस्था बन्दै थियो ।

यो पनि पढ्नुहोस राष्ट्रिय जनमोर्चाले कृष्ण थापा रोज्छ कि मध्यावधि ?

संसदमा समर्थन दिएर नेकपालाई दुईतिहाइ पुर्‍याउन सघाएको राष्ट्रिय जनमोर्चाले अहिले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न सघाउने निर्णय गरेको छ । तर थापाले त्यसलाई स्वीकार गर्न सकेनन् । कांग्रेस नेतृत्वमा सरकार बनाउन थापाले हस्ताक्षर गर्न अस्वीकार गरेपछि २९ वैशाखमा मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै नियुक्त भएका थिए ।

‘यहाँ कृष्ण थापालाई हटाएर हामी सरकारमा पुग्छौं भनेर मिडियाबाजी गरिएको छ । यो निर्दलीयता हो । अर्को अस्तित्व स्वीकार्न नसक्ने चरित्र हो । जनताबाट निर्वाचित सांसदलाई स्वीकार्न नसक्ने चरित्र हो’ थापाको चेतावनी थियो, ‘इतिहासले मूल्यांकन गर्नेछ ।’

पार्टी नीति र निर्देशन उल्लंघन गरेको भन्दै सोही दिन संसदीय दलको नेताबाट हटाइएका थापालाई जनमोर्चाले ८ जेठमा पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको थियो ।

अहिले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने मिति नजिकिंदै गर्दा राष्ट्रिय जनमोर्चाले थापालाई सांसद पदबाटै मुक्त गरेको छ । मुख्यमन्त्रीले विश्वासको मत नपाए नयाँ सरकार गठनको चरणमा प्रवेश हुन्छ ।

तर नयाँ सरकार निर्माणका लागि थापाले सहयोग नगरे बहुमत नपुग्ने भएपछि जनमोर्चाले आफ्ना निर्वाचित सांसदलाई नै पदमुक्त गरिदिएको छ । थापालाई हटाएपछि प्रदेश सभा ५९ सदस्यीय हुन्छ र बहुमत दाबी गरेर सरकार निर्माण गर्नका लागि ३० सांसद चाहिन्छ । जुन संख्या पुर्‍याउने दाबी विपक्षी गठबन्धनले गरेको छ ।

पार्टीको नीति र निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेको पत्र गण्डकी प्रदेश सभा सचिवालयमा बुझाउन लागेको कृष्ण थापाले बिहीबार बिहानै थाहा पाइसकेका थिए । १ बजे प्रदेश सभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठकमा थापा पदमुक्त भएकोबारे जानकारी गराएका थिए ।

आफू पदमुक्त भएको खबरपछि सांसद थापाले आफ्ना कागजात, संसदमा गएका रेकर्ड पनि उपलब्ध गराउन सचिवालयमा पत्र बुझाए । ‘हिजोसम्म त बैठकमा गा’कै हो । आज निकाल्ने थाहा पा’को थिएँ । संसदबाट ४/५ मिनेटको दूरी वरिपरितिरै थिएँ’ पदमुक्त थापाले सुनाए, ‘कारबाही गरे गरुन् भनेरै आफ्नो निर्णयमा अडिग थिएँ ।’

पार्टीले पदमुक्त गर्ने छनक पाएर उनले मंगलबार संसद बैठकमा बोल्दा नै संविधानमा माननीय सदस्यको मतदान र हस्ताक्षर गर्ने अधिकार सुनिश्चित गरिएको भन्दै धन्यवाद दिएका थिए ।

‘तर यहाँ कृष्ण थापालाई हटाएर हामी सरकारमा पुग्छौं भनेर मिडियाबाजी गरिएको छ । यो निर्दलीयता हो । अर्को अस्तित्व स्वीकार्न नसक्ने चरित्र हो । जनताबाट निर्वाचित सांसदलाई स्वीकार्न नसक्ने चरित्र हो’ थापाको चेतावनी थियो, ‘इतिहासले मूल्यांकन गर्नेछ ।’

बिहीबार पदमुक्त भएपछि उनले दोहोर्‍याए, ‘कांग्रेसलाई काँधमा बोक्न यत्रो वर्ष योगदान, संघर्ष, त्याग गरेर बनाएको पार्टीले यसरी कारबाही गर्ला भन्ने लागेको थिएन ।’

निर्वाचन क्षेत्रमा वर्षौंदेखि दुश्मनी रहेको, मुद्दा खेपेको आफूलाई कांग्रेस नेतृत्वमै सरकार बनाउन बलि चढाइएको थापाले बताए । ‘म त जनताबाट निर्वाचत सांसद हुँ । जनताकै भावना र निर्देशन अनुसार कदम बढाएको हुँ’ थापाले भने, ‘यो ममाथि ठूलो अन्याय भएको छ । घात भएको छ । यो कम्युनिष्ट आन्दोलनको एउटा स्खलन हो र यो इतिहासले मूल्यांकन गर्ला ।’

यो पनि पढ्नुहोस कारबाही भोग्छु, कांग्रेसलाई साथ दिन सक्दिनँ : थापा

सार्वभौम अधिकार र जनताको भावनाविपरीत कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्तिलाई निर्दलीय व्यवहार गरिएको थापाको भनाइ थियो । आफू हिजो जनताबाटै आएको र अब पनि जनताकै माझमा जाने थापाले बताए । ‘पार्टीमा नरहेर के भो त ? गाउँको मान्छे हुँ, गाउँ फर्किन्छु, किसान बन्छु । जनताका समस्यामा बोल्छु र हिजोजस्तै समाजसेवा गर्छु’ थापाले भने, ‘सांसद रहँदा गरेका गतिविधि, भाषण र कागजातको रेकर्ड मगाएको छु । पार्टीको कम्युनिष्ट आचरण कसरी स्खलन भयो भनेर किताब लेख्छु ।’

प्रदेशसभा सदस्य (सांसद) पद गुमाए पनि आफूले आत्मसम्मान नगुमाएको थापाको दाबी छ । ‘कसैले बिक्यो भन्लान्, कतिले पार्टीमा पद गुमायो भन्छन्, तर त्यो सब मलाई मात्र थाहा छ । आत्मसम्मान गुमाएको छैन’ थापाले भने, ‘म कुनै पार्टीमा जान्न ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने थापालाई पदमुक्त गर्नु बाध्यता ठान्छन् । ‘कम्युनिष्ट पार्टीमा नीति तथा निर्देशन उल्लंघन गर्नु अपराधै सरह हो, त्यसैले पनि उहाँलाई पदमुक्त गर्नुपर्ने बाध्यता हो’ उनले भने, ‘टिकट दिने, सांसद बन्ने पार्टीबाटै, अनि पार्टीकै नीति लत्याउनु अधिकार हो भन्नु अपराधै हो ।’

८ वर्ष जनमोर्चा बागलुङ जिल्ला कमिटीको कार्यालय सचिव भएर काम गरेका थापाले जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए । गत चैत २६ गते बुटवलमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment