Comments Add Comment

समस्यामा परेका लोकदोहोरी कलाकारलाई सहयोग सामाग्री वितरण गर्दै प्रतिष्ठान

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले निषेधाज्ञाको समयमा समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई सहयोग गर्ने भएको छ । प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरुलाई सहयोग सामाग्री वितरण गर्न लागेको हो ।

पहिलो चरणमा आउँदो आईतबार समस्यामा परेका २ सय लोकदोहोरी कलाकारहरुलाई सहयोग सामाग्री वितरण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अनलाईनखबरलाई जानकारी दिए ।

उनले पहिलो चरणमा काठमाडौं उपत्यका समन्वय समितिसंँगै ९ वटा समितिभित्रका पूर्व, निवर्तमान र वर्तमान कार्यसमितिका दोहोरी गायक–गायिकाहरुलाई सहयोग वितरण गर्न लागिएको बताए ।

‘समस्यामा परेका लोकदोहोरी कलाकारहरुको नामावली तयार पारिरहेका छौं’ अध्यक्ष बिजीले भने, ‘सोही अनुसार समस्यामा परेको जानकारी दिनुभएका २ सय जना लोकदोहोरी कलाकारहरुलाई पहिलो चरणमा राहत सामाग्री वितरण गर्न लागेका हौं ।’

सहयोग सामाग्रीमा चामल, दाल, तेल, मसला, चिनी लगायत दैनिक उपभोग्य सामाग्री रहेको प्रतिष्ठानले जनाएको छ । पहिलो चरणको सहयोग सामाग्री प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकालीले व्यवस्थापन गरेका हुन् ।

त्यसपछि पनि निरन्तर समस्यामा परेका लोकदोहोरी कलाकारहरुको सहयोगमा जुट्ने प्रतिष्ठानले जनाएको छ । ‘पहिलो चरणमा संस्थासँग आवद्धलाई सहयोग गर्न लागेका हौं । यसपछि हाम्रो संस्थासंघ आवद्धलाई मात्र नभएर दोहोरी साँझमा काम गरेका तर संस्थामा आवद्ध नभएका, त्यस्तै होचापुड्का संघ, नेत्रविहिन संघ, रेकर्डिङ स्टुडियोहरुमा काम गरेका कलाकारहरुलाई पनि सहयोग गर्छौ’ अध्यक्ष बिजीले बताए ।

उनले दैनिक छाक टार्नका लागि पनि समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई प्रतिष्ठानमा सम्पर्क गर्न आग्रह गरेका छन् । कतिपयले खाद्यान्नको समस्या भएर पनि संस्थालाई समस्या व्यक्त गर्न लाज मान्ने, ईज्जत गएको सोच्ने गरेकोले त्यस्तो नगर्न प्रतिष्ठानले आग्रह गरेको छ ।

‘दुई छाक टार्नका लागि खाद्यान्न समस्या परेकाहरुले दुःख लुकाउनु भएन । उहाँहरुलाई दुई छाकको व्यवस्था हामी गर्छौ । कोही पनि लोकदोहोरी कलाकारहरुलाई भौकै रहन दिदैनौं’ अध्यक्ष बिजीले भने ।

समस्यामा परेकाहरुले प्रतिष्ठानमा सम्पर्क गर्न आग्रह गर्दै अर्को चरणमा उनीहरुलाई सहयोग सामाग्री वितरण गरिने बताए ।

अहिले राजधानीमा झण्डै एक हजार लोकदोहोरी कलाकारहरु समस्यामा रहेको प्रतिष्ठानको आँकलन छ । प्रतिष्ठानले गतवर्ष लकडाउनको समयमा पनि समस्यामा परेका सयौं लोकदोहोरीसँग सम्बन्धित कलाकारहरुलाई सहयोग सामाग्री वितरण गरेको थियो । यसवर्ष समस्यामा परेका ६ सय बढी लोकदोहोरी कलाकारहरुलाई खाद्यान्न सहयोग वितरण गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment