News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंअघिको वर्षा र बाढीपहिरोपछि सडक विभाग, स्थानीय सरकार र यातायात निकायको संयुक्त प्रयासले अवरुद्ध सडक खुलाएर यात्रा सहज बनाएका छन् ।
- पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक विभागले युद्धस्तरमा काम गर्दा यसपालि यात्रामा धेरै गुनासो नआएको र सडक क्षमता बढेको बताएका छन् ।
- उपत्यका ट्राफिक प्रहरीले गत वर्षको दसैंमा १५५ दुर्घटना र १० मृत्यु भएकामा यस वर्ष १०५ दुर्घटना र ३ मृत्यु भएको तथ्यांक दिएको छ ।
९ कात्तिक, काठमाडौं । दसैंको मुख्य चहलपहल हुनु एक साताअघि देशभरि वर्षा र बाढीपहिरोले अधिकांश रुटको यात्रा अनिश्चित जस्तै थियो । वर्षा थामियो । यात्रा सुरु भयो ।
यद्यपि, धेरै रुटमा बाटो बिग्रिएका कारण मुख्य राजमार्गहरू अस्थायी रूपमा चलाइएको थियो । यति हुँदाहुँदै छिटपुट घटना बाहेक यसपालि दसैंको यात्रा तुलनात्मक सुरक्षित रह्यो । सरोकारवालाले गरेको निरन्तर मिहिनेतले यो सम्भव भएको देखिएको छ ।
सडक विभागले देशका विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउन युद्धस्तरमा काम गरेको थियो । जसमा स्थानीय सरकारहरूले समेत सक्रिय साथ दिएका थिए । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरि रुट परपरमिट खुला गरेको थियो ।
पूर्वाधार विकास समिति सभापित आशिष गजुरेलका अनुसार यसपालि यात्रासँग जोडिएका सबै निकायले संयुक्त पहल गरेका थिए । त्यसमा संसदीय समितिले नेतृत्व लिएर खटिएको थियो । त्यसले सकारात्मक नजिता दिएको उनी बताउँछन् ।
‘जसको जे जिम्मेवारी हो, त्यसमा सबै खरो उत्रनुपर्छ भनेरै हामीले दसैं अगाडि एक प्रतिवेदन सरकारलाई बुझाएका थियौं,’ उनी भन्छन्, ‘त्यस अनुसार काम भएको फिल्डमा देखियो, यसपालि यात्रामा धेरै गुनासो सुनिएन ।’
उनका अनुसार केही गुनासो बढी भाडा लिएको भन्नेमा आएको थियो । त्यसलाई ट्राफिक प्रहरीबाट कारबाही गराउने काम भएको उनले बताए । कतैकतै राजमार्गमा बासी खाना खुवाएको वा धेरै मूल्य लिएको भन्ने गुनासो पनि थियो ।
यो समस्या समाधान गर्न पूर्वाधार विकास मन्त्रालय र उद्योग मन्त्रालयले समेत पहल लिएर कारबाही चुस्त बनाउने निर्णय गरेका थिए । धेरै यात्रुले बाटोको अवस्था के छ, खुला छ कि बन्द भनेर सोध्ने गरेको अनुभव सभापति गजुरेलले सुनाए ।
उनका अनुसार सडक विभागले आफ्नो क्षमता स्तरीय बनाएको र वृद्धि गरेको पुष्टि यसपालि भएको छ । विनाशकारी बाढीका कारण असम्भव जस्तै बनाएका स्थानमा समेत केही दिनमै ट्र्याक खोल्न सक्नु, नेपाली सेनाको सहयोगमा बेलिब्रिज यथाशक्य जडान हुुनु र ट्र्याक खुल्नुले यी निकायको क्षमता अभिवृद्धि भएको पुष्टि हुने गजुरेल बताउँछन् ।
‘काम गर्दागर्दै समय लाग्नु र कामै नगरी अलपत्र पर्नुमा फरक पर्छ,’ उनले भने, ‘यसपालि सडक विभागले काम गरेन भन्ने गुनासो खासै सुनिएन ।’
त्यसो त, दसैंभरि मौसम तुलनात्मक सफा रह्यो । यसले राजमार्ग सञ्चालनयोग्य बनाइराख्न सहयोग गर्यो । विभागका अनुसार मुख्य राजमार्गमा अहिले जनशक्ति सहित मेसिन तयारी हालतमा छन् । स–साना अवरोध केही समयमै हटाएर यात्रा खुलाउन सम्भव छ । ठूलो समस्या आउँदा भने समय लाग्ने गरेको छ ।
दसैंको समयमा ठूलो दुर्घटना र मानवीय क्षतिका घटना भएनन् । ट्राफिक प्रहरी र सुरक्षा निकायको सक्रियता तथा यातायात व्यवसायी र चालकको सचेतनाका कारण यो सम्भव भएको सभापति गजुरेल बताउँछन् ।
यद्यपि, चालकको लापरबाहीका कारण हुने छिटपुट घटना र मानवीय क्षति भने निरन्तर भइरह्यो । यसलाई अझै न्यूनीकरण गर्न सकिने उनी बताउँछन् । सोमबार मात्र गुल्मीमा स्कारपियो दुर्घटनामा कम्तीमा ६ जनाको ज्यान गएको छ ।
दुर्घटना न्यूनीकरण विषय सडक, चालक स्वयं, यातायात व्यवसायी र नियामक निकाय सबैको संयुक्त जिम्मेवारीको विषय हो । त्यसकारण यसलाई दसैं वा कुनै चाडबाड विशेषभन्दा पनि निरन्तर जारी राख्नुपर्ने उनको भनाइ छ ।
दसैंमा काठमाडौंमा दुर्घटना कम
ट्राफिक प्रहरी तथ्यांकले समेत दसैं अवधिमा काठमाडौं उपत्यकामा समेत दुर्घटना केही कम भएको देखाउँछ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांक अनुसार गत वर्ष दसैंमा १ सय ५५ सवारी दुर्घटना भएकोमा यस वर्ष १ सय ५ मात्र दुर्घटना भएका छन् ।
दसैंमा गत वर्ष १० जनाको मृत्यु भएकोमा यस वर्ष घटेर तीन जनामा झरेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अधिकांश दुर्घटना दुई पाङ्ग्रेका छन् । जसको मुख्य कारण तीव्र गति हो ।
यात्रु घट्दा व्यवस्थापनमा सहज
यातायात व्यवसायीका अनुसार यस वर्ष तुलनात्मक सार्वजनिक यातायातमा चाप कम भयो । दसैं अगाडिको विनाशकारी बाढीले धेरै परिवारमा बज्रपात निम्त्यायो ।
यसको असर यातायातमा पनि देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष सरोज सिटौलाका अनुसार विगतको तुलनामा सार्वजनिक यातायातमा यात्रु चाप कम थियो । यद्यपि, सामान्य अवस्था भने चाप थियो ।
तर, सरोकारवालाको संयुक्त पहलले यात्रा सहज बनाउन सम्भव भएको उनको भनाइ छ । ‘हामी निकै सचेत थियौं, यात्रुलाई सुरक्षित गाउँठाउँ पुर्याएर, सुरक्षित काठमाडौं फर्काउन, त्यसमा सफल भएका छौं,’ उनले भने ।
विपद्, बाटोघाटोको अवस्था, व्यापार–व्यवसायमा आएको सुस्तता लगायत कारण यात्रु घटेको भन्दै उनले त्यति हुँदाहुँदै दसैं यात्रा सुरक्षित रहेको विश्लेषण आफूहरूको रहेको उनले बताए ।
उनका अनुसार दसैंमा उपत्यका छाड्नेमध्ये २५ प्रतिशत हाराहारी यात्रु तिहार र छठसम्मै गाउँमै बस्ने अनुमान छ । सोही आधारमा तिहारसम्मको यात्रामा अब दुईतर्फी नै चाप भए पनि व्यवस्थापनमा भने समस्या हुँदैन ।
प्रतिक्रिया 4