Comments Add Comment

जोर्डनविरुद्ध यस्तो छ नेपालको विगत

२३ जेठ, काठमाडौं । सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट हुने संघारमा पुगेको जोर्डन अन्तिममा प्लेअफमा उरुग्वेसँग पराजित हुँदै विश्वकप पुग्नबाट वञ्चित भएको थियो ।

त्यही विश्वकपको लागि दुई लेगको छनोटमा नेपालले जोर्डनसँग खेलेको थियो । जहाँ नेपाल जोर्डनसँग समग्रमा १०–१ गोलले पराजित भएको थियो ।

त्यो खेल नेपालको लागि बिर्सनलायक नै थियो । तर दोस्रो लेगमा नेपालले गरेको प्रदर्शनका कारण त्यो खेल याद आइरहन्छ ।

२०११ जुलाईमा जोर्डनमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो तर त्यसको एक साता नबित्दै नेपालले घरेलु मैदानमा जोर्डनलाई १–१ को बराबरीमा रोकिदियो । जोर्डन त्यो बेला साँच्चिकै बलियो थियो भन्ने प्लेअफ यात्राले पनि प्रष्ट पार्छ ।

त्यही जोर्डनसँग नेपालले फेरि एक पदक खेल्दैछ । फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी मा रहेको नेपालले सोमबार जोर्डनसँग खेल्दैछ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह बी का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ । नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ ।

जोर्डन विरुद्ध पनि जितकै लक्ष्यका साथ मैदान उत्रिने नेपालका कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आइतबार प्रिम्याच कन्फ्रेन्समा बताएका छन् ।

नेपालले विश्वकप छनोटमै यसअघि जोर्डनसँग उसैको मैदानमा खेल्दा ३–० ले पराजित भएको थियो । ५५ मिनेटसम्म जोर्डनलाई बराबरीमा रोके पनि त्यसपछि नेपालले पेनाल्टीमा गोल खायो र अन्तिम १२ मिनेटमा थप दुई गोल व्यहोरेको थियो ।

जोर्डन फिफा वरीयतामा नेपालभन्दा ७६ स्थान माथि छ । त्यसैले जोर्डन नेपालभन्दा बलियो टोलीको रुपमा रहेको छ । जोर्डन ९५औं र नेपाल १७१औं स्थानमा छ ।

नेपालले जोर्डनलाई पराजित गर्न सके यसअघिको हारको बदला मिल्नेछ भने एसिया कप छनोटका लागि अर्को चरणमा पुग्ने बाटो समेत केही सहज बन्न सक्छ । एसिया कपको अन्तिम चरणको छनोटमा सिधै पुग्न नेपालले जोर्डनलाई हराउनै पर्ने हुन्छ । अन्यथा नेपालले अन्तिम चरणको छनोटमा पुग्न पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो ।

तर उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना हुने छैन । त्यसैले पनि नेपाललाई जोर्डन विरुद्ध अंक जोड्नुपर्ने आवश्यकता छ ।

जोर्डनसँग हेड टु हेड

जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जमा दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो । २०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।

तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालमा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् ।

२०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । त्यो खेलमा नेपाली टिममा रहेका ११ खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

नेपाल भर्सेस जोर्डन

खेल : ३

जोर्डन जित : २

नेपाल जित : ०

बराबरी : १

विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

विश्वकप छनोट २०१९ अक्टोबर : नेपाल ३–० ले पराजित

विश्वकप छनोट २०२१ जुलाई : १–१ को बराबरी

गोलकर्ता : भरत खवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment