Comments Add Comment

‘हिउँद छिमेकीको बर्कोले काट्यौं, बर्खामा कहाँ जाने ?’

निसीखोला पहिरो पीडितले एक वर्षसम्म अनुदान पाएनन्

२४ जेठ, पोखरा । अरु गाउँका गाउँलेलाई बर्खा लागेसँगै खेतीपातीको चटारोले छोएको छ । तर, निसीखोला २ का श्याम छन्त्यालको मनमा भने बेचैन छ । सिमसिमे पानीमै छेवैको निसीखोला बढेर धमिलिन थालेको छ । खोलाे जत्ति सुसाउँछ उनको मनमा उसैगरी डरको ढ्यांग्रो बज्छ ।

पोहोर नै पहिरोले बगाएको घर पुनर्निर्माण हुन पाएको छैन । फेरि बर्खा लाग्न थालेपछि उनी आत्तिन थालेका हुन् । गाउँमा उनी जस्तै करिब ४० घरपरिवार यसै गरी त्रासमा छन् । कुनै कुनैको त घरखेत जम्मै पहिरोमा परेकाले छिमेकीको जग्गामा टहरो बनाएर बर्खा काट्ने सोचमा छन् ।

गत बर्खामासमा आएको पहिरोमा परी निसीखोला गाउँपालिकाका ५ जनाले ज्यान गुमाए । गाउँपालिकाभरि विभिन्न ठाउँमा आएको पहिरोले करोडौंको क्षति पुर्‍यायो ।

त्यसमध्येमा पनि सबैभन्दा बढी क्षति निसीखोला १ र २ वडाले व्यहोरे । सरकारले दिने भनेको राहत अनुदान एक वर्षसम्म पनि नपाउँदा उनीहरु झनै पीडामा छन् ।

गाउँमा पहिरोले बस्ती नै बगाएपछि सरकारबाट पटकपटक आफूहरुले अनुदान पाउने आश्वासन पाएको तर, अर्को बर्खा सुरु हुन लागिसक्दा पनि आफूहरुले नपाएको पीडितको गुनासो छ । ‘कहिले सिडिओ आउनुभो । कहिले मुख्यमन्त्री आउनुभो । कहिले पत्रकारहरु आउनुभो । सबैले राहत हुन्छ, हुन्छमात्रै भने तर अहिलेसम्म खै क्यै देख्न पाएका होइनौं,’ छन्त्याल गुनासो गर्छन् ।

अहिले सानै पानी पर्दा पनि नजिकै सानोसानो पहिरो जान सुरु गरिसकेकाले आफूहरु झनै त्रासमा रहेको छन्त्याल सुनाउँछन् । ‘पोहोर धन्न के भाग्यले बाँचियो । यसपालि बर्खा नलाग्दै निसीखोला थुनिनेजस्तो हुन लागिसक्यो’ भन्छन्, ‘हिउँदको चिसो त आफ्नाहरुको बर्कोले काट्यौं । यो बर्खा क्यारी काट्ने हो ?’

स्थानीय पहिरो पीडित राजु परियार, सन्तबहादुर परियार, नरबहादुर थापाको पनि गुनासो त्यही छ । सरकारले दिन्छु भनेको राहत समयमै दिएको भए आफूहरु पटकपटक पहिरोको त्रासमा दिन काट्नु नपर्ने उनीहरु बताउँछन् । भन्छन्, ‘कि त राहतै दिन सक्दैनौं भन्नुपर्‍यो । हामी बाटो हेर्‍याहेर्‍यै छौं । खै कहिले आउँछ थाहा छैन ।’

गाउँका पहिरो पीडितहरु कोही भाडामा कोही, आफन्तकोमा र कोही ससानो परालको झुप्रोमै हिउँद काटे । अब फेरि बर्खेमास सुरु हुन लागेकाले परिवारका अन्य सदस्य पनि त्रासैत्रासमा राम्रोसँग सुत्न नसकिरहेको उनीहरु बताउँछन् ।

निसीखोला गाउँपालिका २ का वडाध्यक्ष इन्द्र मल्लका अनुसार पोहोर गएको पहिरोबाट पीडित ५२ परिवारको नाम प्रदेश सरकारमा राहतका लागि पठाइएको थियो ।

असारदेखि साउनसम्म आएको पहिरोमा परी ती परिवारको क्षति पुगेको थियो । घटनापश्चात मुख्यमन्त्री आफैं आएर हेरेर गए पनि कुनै राहतको व्यवस्था गरेका छैनन् ।

‘कसैको घर चर्कियो, कसैको आधा भत्कायो । कसैको त घर बनाउने सानो जग्गा पनि बाँकी राखेको छैन,’ वडाध्यक्ष मल्ल भन्छन्, ‘केन्द्र र प्रदेशमा राहतका लागि चिठी पनि पठाएकै हौं । तर, केही भएको छैन ।’ उनले २०, २५ परिवारको घर पूरै नयाँ नै बनाउनुपर्ने गरी क्षति पुगेको जानकारी दिए ।

निसीखोला १ का वडाध्यक्ष कुवीर विश्वकर्माले वडाभरि ३९ जनाको घर पहिरोले पूर्ण क्षति पुर्‍याएको जानकारी दिए । ‘एकपटक पहिरो गएको ठाउँको अध्ययन पनि भएको थियो । अध्ययन टोलीले त्यहाँ बस्न अनुपयुक्त भनेर गयो’ उनी भन्छन्, ‘गाउँ नै पहिरोले सखाप पारेको हो । स्थानीय तहसँग अन्यत्र सार्न सक्ने सामर्थ्य छैन ।’

वडाध्यक्ष विश्वकर्माले पनि जिल्ला र प्रदेशको टोली पटक-पटक आए पनि राहत तथा आवास पुनर्निर्माणमा वास्ता नगरेको बताए ।

‘उही चिठी पठाउने र पाउनेमात्रै काम भएको छ’

गाउँपालिका प्रमुख तारानाथ पौडेल पालिकाले आफ्नो सामथ्र्यअनुसार सहयोग गरेको तर, केन्द्र र प्रदेश सरकारबाट सहयोग नआउँदा पहिरो पीडित झनै पीडामा परेको बताए । सरकारले घर बनाइदिने वाचा गरेकै कारण पनि पीडितहरु आफैंले घर ठड्याउन नसकेको उनको भनाइ छ ।

‘सरकारसँग हाम्रो पत्र पठाउने र पाउनेमात्रै भएको छ । ३ दिनअघि पनि फेरि पत्र पठाएका छौं,’ गाउँपालिका प्रमुख पौडेल भन्छन्, ‘कुन दिन फेरि अर्को पत्र आउँछ । त्यतिबेलासम्म बर्खा लागिसक्छ ।’

गाउँपालिका प्रमुख पौडेलले आफूहरुले पहिरो पीडितहरुलाई प्रति मृतक ३० हजारका दरले, भत्केका घरलाई १५ हजारका दरले सहयोग गरेको बताए । ‘त्यतिले पुग्दैन भन्ने हामीलाई पनि थाहा छ । तर, के गर्नु यस्तोबेला पनि अरुकै मुख हेरेर बस्नु भएन,’ उनी भन्छन्, ‘हिउँदमा जसोतसो बसे । बर्खामा पो कसरी बस्लान् भन्ने चिन्ताले सताएको छ ।’

संघीय सरकारले पहिरो पीडितलाई उपलब्ध गराउने भनेको राहत कार्यक्रममा ढिलाइ भएपछि बागलुङकै जैमिनी नगरपालिकाले भने आफैं पुनर्निर्माण र पुनर्स्थापनाको काम थालेको छ । संघीय सरकारको कार्यक्रम आउनु पहिले नै घर पुनर्निर्माण गर्न चाहे २ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ । जैमिनीमा गत वर्ष पहिरोमा परी ५६ घर क्षति पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment