
२४ जेठ, विराटनगर । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले ढुंगा गिट्टी भारत निर्यात गर्ने संघीय सरकारको निर्णयको विरोध गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रदेश-१ प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले केन्द्र सरकारको निर्णयको विरोध गर्न आग्रह गरेका हुन् ।
‘३६ सालमा जनमत संग्रह हुँदा जंगल साफ भए, त्यसपछि सबैको नजर खोलानाला,’ उनले भने,‘ चुरे पनि दोहन गरेर ढुंगा गिटीजति उतै (भारत) पठाउने हो भने के रहन्छ ? देश भनेको भूगोल मात्र होइन् ।’
प्रदेश २ सरकारले ढुङ्गा गिट्टी निकासीको विरोध गरेको बताउँदै उनले प्रदेश-१ ले पनि चुरे क्षेत्र जोगाउन आवाज उठाउनु पर्ने बताए ।
बैठकलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षको बजेट कहाँ हरायो भन्दै प्रदेश सरकारलाई प्रश्न पनि गरेका छन् । ‘पूर्वाधार विकास कोषको पैसा कहाँ गयो ?’ उनले भने,‘रातो किताबमा भएका योजनाको रकम कहाँ गयो ?’
सरकारले विनियोजन गरेको बजेट नै हराएका कारण जनतासम्म पुग्न पनि समस्या भएको उनले बताए । सरकारका कारण जनतासमक्ष पुग्न नपाएको बताउँदै उनले आफ्ना मतदातासँग माफी मागेका छन् ।
प्रतिक्रिया 4