Comments Add Comment

विदेशी सेनाका लागि काम गर्ने व्यक्तिलाई आक्रमण नगर्ने तालिबानको घोषणा

२४ जेठ, काठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले विदेशी सेनाको लागि काम गर्ने व्यक्तिहरु अफगानिस्तानमा सुरक्षित रहने बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै तालिबानले उनीहरुले ‘पश्चाताप’ गर्दासम्मको अवस्थामा सुरक्षित रहने बताएको हो । साथै उनीहरुले मुलुक छाड्नुपर्ने अवस्था नरहेको पनि तालिबानले उल्लेख गरेको छ ।

‘इस्लामिक इमिरेट्स (तालिबानको सरकार) सबै मानिसहरुलाई यो सूचित गर्न चाहन्छ कि उनीहरुले यसअघि गरेको कामप्रति प्रायश्चित गर्नुपर्छ र भविष्यमा पनि यस किसिमका गतिविधिमा संलग्न हुनुहुँदैन, जुन इस्लाम र मुलुकमाथिको धोका हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले अफगानिस्तानबाट अमेरिका र उसका सहयोगी मुलुकको संगठन (नेटो)का सैनिकहरु आफ्नै मुलुक फर्किने तयारीमा छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ बाट अमेरिकी सेनाले अफगानिस्तान छाड्ने घोषणा यसअघि नै गरेका थिए । पछिल्लो २० वर्षमा हजारौं अफगानीहरुले अन्तर्राष्ट्रिय सेनाको लागि काम गरेका थिए । यस्तोमा अन्तर्राष्ट्रिय सैनिक फिर्ता गएसँगै तालिबानले उनीहरुलाई निशाना बनाउने आशंका बढेको थियो । अमेरिका, जर्मनी र बेलायतले यसरी सहयोग गर्ने कर्मचारीहरुलाई आफ्नै मुलुकमा बसोबासको अनुमति दिने कार्यक्रम ल्याएका छन् ।

अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा करिब १८ हजार अफगानीहरुले विशेष आप्रवासी भिसाको लागि आवेदन दिइसकेका छन् । अन्तर्राष्ट्रिय सेनाका लागि काम गर्ने हजारौं मानिसहरुले यसअघि नै सम्बन्धित मुलुकमा बसोबासको अनुमति पाइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment