Comments Add Comment

सरकारले कोरोनालाई सत्ताको सुरक्षाकवच बनायो : नेता महत

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सरकारले कोरोना महामारीलाई आफ्नो सत्ता सुरक्षाकवचको रुपमा लिएको आरोप लगाएका छन् ।

स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा बोल्दै नेता महतले अहिले अवस्था सामान्य भएको भए सरकारको विरोधमा लाखौं मानिस सडकमा आउने बताए ।

‘सरकारमा रहेकाहरु कोरोना महामारी लम्बिए लकडाउन लगाएर सत्ता जोगाउने चाहनामा छन्’ नेता महतले भने, ‘कोभिडको दोस्रो लहर नेपाल प्रवेश गरिसक्दा प्रधानमन्त्री धरहरा उद्घाटनमा व्यस्त रहे र अहिलेको अवस्था आयो ।’

नेता महतले परराष्ट्र नीति सञ्चालनमा अहिलेसम्मकै सबैभन्दा खराब ढंगले सञ्चालन गरिएको बताए । वर्तमान सरकारले परराष्ट्र नीतिको केन्द्रविन्दु देश र जनताभन्दा पनि सत्तालाई मानेको उनको आरोप छ ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कोरोनाको आतंकवाद विश्वभरि फैलिएको बताए । उनले सरकारले जनतालाई अक्सिजन र शय्या समेत दिन नसकेको भन्दै नेतृत्व असफल भएको बताए । भण्डारीले हामीले नाकाबन्दी, भूकम्प र पहिलो लहरको कोरोनाबाट केही पनि नसिकेको बताए ।

पूर्वराजदूत दिनेशकुमार भट्टराईले भ्याक्सिनका सम्बन्धमा विज्ञहरुले दिएको सुझाव प्रधानमन्त्रीले नमानेको बताए । ‘राष्ट्रपतिलाई किन पत्राचारमा संलग्न गराएको हो, संसदीय व्यवस्थामा प्रधानमन्त्री कहाँ गए, परराष्ट्रमन्त्री कहाँ गए ?’ उनले प्रश्न गरे, ‘यो मिल्ने कुरा भएन । समयमा नै पहल भएन अनि भ्याक्सिनका सम्बन्धमा विज्ञहरुसँग परामर्श भएन ।’

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले सरकारले खोप ल्याउन समयमा नै पहल नगरेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment