
२७ जेठ, बुटवल । राप्ती नदीमा मापदण्ड विपरित जथाभावी नदीजन्य वस्तु उत्खनन् गरेको विरोधमा स्थानीय बासिन्दा नदी क्षेत्रमै धर्ना बसेका छन् ।
दाङको गढवा गाउँपालिका–५ धर्मपुर गाउँका स्थानीयले उत्खनन् भइरहेको स्थानमा पुगेर जथाभावी उत्खनन् रोक्न धर्ना दिएका हुन् । जनताको तटबन्ध कार्यक्रमले बनाएको तटबन्ध भत्काएर बाटो बनाइ उत्खनन् र ढुवानी भएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।
गढवा गाउँपालिकाले ठेक्का लगाएको स्थानबाट ठेकेदारले आधा दर्जन ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य वस्तुको जथाभावी उत्खनन् र डेढ दर्जन टिप्परले ढुवानी गर्दै आएकाले रोकिएको स्थानीय सञ्जीव चौधरीले बताए । उक्त स्थानमा केही दिनअघि पनि उत्खननको विरोध भएपछि काम रोकिएको थियो ।
‘नदीमा ठूला–ठूला खाडल खनिएको छ । बिहान ४ बजेदेखि रातिसम्म उत्खनन् भएको छ,’ स्थानीय सञ्जीव चौधरीले भने, ‘गढवा गाउँपालिकाका जनप्रतिनिधि आएर उत्खनन् नरोकेसम्म धर्ना रोकिन्न ।’ राष्ट्रपति चुरे मधेश संरक्षण समितिले मेसिनरी औजार प्रयोग गर्न नपाइने भने पनि जनप्रतिनिधि, प्रहरी प्रशासन समेतको मिलेमतोमा एक्साभेटरको प्रयोग गरी तोकिएको भन्दा बढी मात्रामा उत्खनन् भइरहेको चौधरीले बताए ।
उक्त स्थानबाट ४० हजार घनमिटर उत्खननका लागि अनुमति भए पनि तोकेभन्दा बढी परिमाणमा उत्खनन् गरी अन्यत्र लगेर बिक्री र डम्पिङ भइरहेको स्थानीयको आरोप छ । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले ठेकेदारले तटबन्ध भत्काइदिएपछि बस्तीमा बाढी पस्ने भन्दै स्थानीयले विरोध गरेको प्रतिक्रिया दिए ।
तस्वीर सौजन्य : निशान भट्टराई
प्रतिक्रिया 4