Comments Add Comment

बेलायतले १० करोड डोज कोरोना खोप गरीब देशलाई उपलब्ध गराउने

२८ जेठ, काठमाडौं । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

धनी देशहरूको समूह ‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् ।

स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएका छन् ।

यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

शुक्रबार कोर्नवालमा सुरु हुने जी-सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी-सेभनमा सात प्रमुख विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् ।

बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बीबीसीले जनाएको छ ।

बेलायतले यसअघि कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । कोभ्याक्स कार्यक्रममार्फत् विश्वका गरिब देशहरूले खोप पाउँछन् । नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत् कोभिशिल्डको ३ लाख डोज प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment