Comments Add Comment
निबन्ध :

आर्यघाटमा घडी हेर्नुहुँदैन !

कतिखेर घडी हेरेछु पत्तै भएन !

चिसो दिन । एक खालको पानी बिर्बिराइरहेको दिन । मनै रुझ्ला रुझ्ला जस्तो दिन । सबैतिर नीरस र विरसिलो दिन ।

त्यही ओसिलो बिहानमा पुगेको थिएँ म आर्यघाट ।

मृत्युले हाब्रो च्यातेर मुख बाएको ठाउँ– यो आर्यघाट । मुर्दा पोलिरहेका अनुहारको लामबद्ध । लाश पोलिने लस्कर । दाउरा बोकिरहेका मैले–धैले असिनपसिन अनुहार । शवमा पूmल र अबीर हाल्ने होडबाजी ।

आँशुका अक्षरलाई आँशुको पर्दा हटाएर पढ्नुपर्ने यो ठाउँ– आर्यघाट ।

यी सबैको माझमा छ एउटा सानो लाश । एकदमै सानो शव ।

हो, मात्र दुई वर्षको ।

हामी धेरैजना शवका वरपर छौं । लाशका सुरक्षामा बसेका असाध्यै अग्ला मान्छेहरू । ठूलाठूला छातीका मान्छे । बलिया पाखुरा र बलशाली ज्यानका मान्छेहरू छौं । खँदिला ज्यानले बनेका शक्तिशाली मनमुटु ।

दुई हत्केलाले सरक्क उठाउन सकिने लाश छ, पीताम्बरले छोपेको । राम्रोसँग पूmलका थुँगा र अबीरसम्म अडिन नसक्ने सानो ज्यानको शरीर । त्यस्तो कलिलो शरीरमा मृत्यु पस्यो सुटुक्क !

एउटा ज्यादै कलिलो बालकको लाश छेउमा छौं ।

झिसमिसेमै आएथ्यो फोन– शम्भु सुस्केराको छोराको निधन । अनि म झटारिएर यो आर्यघाट आइपुगेथें ।

दुई हत्केलाले सरक्क उठाउन सकिने लाश छ– पीताम्बरले छोपेको । राम्रोसँग पूmलका थुँगा र अबीरसम्म अडिन नसक्ने सानो ज्यानको शरीर । एक पसर अबीरसम्म थेग्न नसक्ने अविकसित शरीर ।

त्यस्तो कलिलो शरीरमा मृत्यु पस्यो सुटुक्क ।

कति बेला मैले घडी हेरेंछु !

एउटा हतारो थियो । त्यसकै झटारोमा परेर मैले घडी हेरें हुँला, कुन बेला ।

जीवनमा थिचिएको छु नि हरक्षण । त्यही क्षणले चिमोटेर घडी हेरें हुँला सरक्कै ।

‘घाटमा घडी हेर्नुहुँदैन !’

छेउमा रहेका भाइ उत्तम भट्टराई बोले ।

म तिलचामले–ती भरिभराउ काला कपाले । म मुजा पर्ने तरखरको, उनी भरभराउँदो उमेरतिर उक्लँदो । म आँख्ला बनिसकेको, उनी पानी चढ्नै बाँकी भएका हाँगा ।

हत्तेरिका !

मैले किन छ्यानविचार गरेको रहेनछु– गर्न हुने, नहुने ।

हो, मलाई हतारो थियो ।

नपुगी नहुने हतारो । गर्नैपर्ने कामले मलाई थिल्थिलाएको थियो । तर हेक्कै किन नराखेको होला मैले । ठ्याम्मै ख्याल नगरेको रहेछु मैले ।

कसलाई फुर्सद छ र !

बगिरहेको वागमतीमा लहर उर्लिन हतारो छ । पारिपट्टि बसेका जोगीलाई हतारो छ । ऊ झटपट ऐना हेर्दै निधारमा चन्दन घसिरहेकै छ । खोलामा कोइला बटुलिरहेका महिलालाई बोरामा यी कोचेर शहर पस्न हतारो छ ।

असिनपसिन जस्तो । हस्याङफस्याङ जस्तो । झटपट र फटाफट जस्तो । थला परिसकेको मुर्दासामु गतिको तीव्रता ।

वागमतीको पानीमा डुबुल्की मारेर पैसा टिपिरहेका किशोरहरूलाई फुर्सद छैन लाश गन्ने । चिता बनाइरहेका तन्नेरीहरूका हात चलिरहेका छन् बेस्सरी । तिनलाई हतारो छ, झनै । कान, निधार र जर्नीनिर पसिनाको थोपाथोपी चुहाउँदै चिता तयार पारेका पारेकै छन् । खुब हतार छ तिनलाई ।

व्यस्तताको अर्को नाम हो नि समय त !

पारिपट्टि नदीतीरमा श्राद्ध गरिरहेका ब्राह्मणहरूका आँखा पुस्तक र घडीमा सरोबरी परिरहेका छन् । श्लोक, मन्त्र वा पाठमा तिनको ओठको दगुरादगुर छ । तीव्र लम्काइमा छन् तिनीहरू । ओठबाट छुटेको स्वरमा मन्त्रको मज्जाभन्दा नि गोलीको पर्रा छुटेको जस्तो लाग्छ— हतारोले ।

म यसो उत्तरतिर हेर्छु— तीनवटा लाश छन् । सेतो कपडाले टनटनी बेरिएका । तिनका मुख खुल्ला छन् ।

‘पहिरोमा परेका रे !’

सुकसुकाइरहेका मान्छेका बोली सुन्छु ।

यिनले पनि हतारो गरेरै यो ठाउँसम्म आइपुगे । पहिरो आउनु भनेको एकखालको असामान्य भूमि हुनुपर्छ । तिनको घरबास, मनबास र चिन्तनबासले यो ‘मृत्युबास’ पुर्‍यायो । हतारो त कति धेरै !

दक्षिणपट्टि धेरै युवा थिए । मैले तिनलाई ठम्याएर हेरें ।

‘आमा मरेकी !’ एक जना पत्रकार जस्ता मान्छेले भने ।

‘सात जना छोरा छन् !’ तिनैले भने ।

हतारोमै तिनले छोरैछोरा पाइछन् । छोरी पाउने रहर नि हुँदो हो । कतिपटक त घडी हेर्दाहेर्दै आफ्नो बेथा लाग्ने समय तालिकामा उभ्याइन् होला तिनले आपूmलाई ।

गइरहेको हावामा आफ्नो बेथालाई सँगी बनाइन् कि !

‘पानी खानु, पानी !’

हातमा पानी बेच्दै हिंडिरहेकी एउटी मैली महिला देख्छु । ऊ हतारोसँग हरेक लाश वरपर झुम्मिरहेका शोकाकुल हूलमा पस्छे, निस्कन्छे ।

नुनिलो पानी गालाका पाटामा बगिरहेको मान्छेको हूलमा फेरि पानीको हल्ला आयो ।

एउटा मौनता छ । उसको मात्र बोली सुनिन्छ ।

‘पानी, पानी !’ आवाज आउँछ, जान्छ ।

पानी खुवाएको ओठ चाम बाँधेर लडिरहेका लाश छन् आर्यघाट वरपर । फेरि पनि पानीको आवाज छ । सबै आँशुको दहमा छन्, चुर्लुम्म ।

ऊ हातको घडी हेर्दै दगुरिरहेकी छ । उसलाई व्यापार बढाउनु छ । उधारो तिरिसक्नु छ । भरेको छाक कमाउनु छ । अथवा सस्तो सामान बेचिसक्नु छ जसरी नि । पुरानो स्टक सकेर अरू नयाँ पानी बेच्नु छ ।

मैले त घडी हेरेंछु कतिबेला कतिबेला । घाटैघाटले घेरिएको आर्यघाट ! म धेरै पटक आएँ यहाँ । यो एउटा परिचित जस्तो । जीवनसँग जोडिएको स्वाभाविक जस्तो । परिचित र चिनारु गाउँ जस्तो । आँखासँग आफन्ती गाँसिएको– मनले पराइ ठानेको छु आर्यघाटलाई ।

रुनेहरूको झुरूप्प हूल । पश्चिम, उत्तर वा दक्षिणतिरको वागमतीको तीर । पारिपट्टि कपाल खौरेका चिन्डे तालु र बाहुनहरूको हतपत ।

घडी हेर्नेहरूको कुनै कमी छैन । छेउमा डढिरहेका लाश घोच्नेहरूले बोलेको सुन्छु– ‘दुई घन्टाभन्दा बढ्ता भो । घिउ पुगेनछ !’

‘खुबै घडी हेरिस् । ठ्याक्कै साढे दुई घन्टा भो !’

‘पानी निकै भरिएको रहेछ !’

‘अनि पो यत्रो समय खाएको !’

फेरि पनि दाउरा ठोसेर घडी हेर्दै उसले भन्यो । मैले सुनिरहें ।

मनमा एउटै कुरा गुन्जिरहेथ्यो ‘आर्यघाटमा घडी हेर्नुहुँदैन !’

यो बिसाउने ठाउँ हो । जीवनको भित्री पत्रे तहमा पर्गेल्ने ठाउँ । आपूmलाई निखारेर पारि उतार्ने ठाउँ यो । अर्थात्—अन्तिम थलो आर्यघाट । समाप्तिको प्रस्थानबिन्दु ।

अलिक पर छ— राजराजेश्वरी घाट । त्यहाँ झन् छन् रुनेहरू ।

बाबु र र आमाले एकै घन्टा आलोपालो गरी धर्ती छोड्न पुगेछन् र तिनका बलिया छोराछोरी यतिबेला डाँको छोडी रोइरहेथे । तिनको कङ्कला शब्द सुन्दा रुवाइको प्रतियोगिता, रोदनको होडबाजी वा ह्वाँ ह्वाँ विलापको प्रतिस्पर्धा जस्तो लाग्थ्यो ।

‘छिटो गर्नुपर्छ, छिटो !’

घडी हेर्दै एउटा धोती फेरेको मान्छेले ती रोइरहेका केटाकेटीतिर हेर्दै भनेको मैले सुनें ।

‘मृत्युले जिते पनि संसारको लोकव्यवहारको आवाज हो यो !’ आफैंमा म बोलें ।

पानी परेर दिन चिसो भएको छ । मनै ओसिलो र चकमन्न । एउटा शून्यता र घोर चुपचापले स्थिर भइरहेको काल–वेला । परिवेशले पनि प्रतिकूलता ओकलिरहेको समय । मैले घडी हेरें– चेतनाको एउटा झकझकाइ ।

गति र निरन्तरतासँग जोडिएको छ मेरो जीवन । त्यो गँसाइबाट सधैं निर्देशित रहेछु म । म जडवत् वा स्थिरताको पक्षमा रहेनछु कदापि । मलाई वेग र तीव्रताले आफ्नै ठानेका रहेछन् । बग्नु र उडानका ढुकढुकीमा जोडिएको रहेछु म पनि ।

अनि पो मैले घडी हेरेंछु ।

घाट– समाप्तिको अर्को नाउँ । घाट– निमिट्यान्नको अर्को परिचय । घाट– खरानी हुने निर्दिष्ट ठाउँ । अर्थात् यो आर्यघाट– पञ्चमहाभौतिक शरीरले विलीन भएर नयाँ सम्बोधन पाउने स्थल ।

यो ठाउँमा त हतारो, हतार वा हडबड नहुनुपर्ने !

सम्भवतः भाइ उत्तमले मलाई परबाट सिकाएको शिक्षाको सानो सुइरो यही हुनुपर्छ । तिनले सरक्क बोलेको अर्थ यस्तो पनि हुनुपर्छ– शोकमा सम्झौता नगर । मसँग अरू धेरै सँगी छन् । तिनले आफू कतिखेर आर्यघाट आएको भन्ने बारेमा झिनो बहस पनि गर्दैछन् ।

कानमा पर्दैछन् तिनका भावावेगहरू ।

‘सुन्ने बित्तिकै हिंड्दा पनि यहाँ आइपुग्न एक घन्टा लागिहाल्यो !’

‘सुत्केरी श्रीमतीलाई भान्सा तयार पारी आउँदा तीस मिनेटमा यहाँ आइपुगें !’

‘जतिसुकै गरे पनि पैंतालीस मिनेट त लागि’गो नि !’

‘छोरीलाई स्कूल पुर्‍याएर आउँदा आउँदै एक घन्टा नाँघ्यो !’

सानो शवसामु उभिएका अनुहारका कुरा सुन्छु ।

तिनले घडी हेरेका छन् । अनुमानभन्दा घडी हेरेर अड्कल गरेका वा ठोकुवा बोलेका बोलीले घडीको भाषा बिर्सेका छैनन् । आर्यघाटमा उभिएको र समयलाई व्याख्यान नगरिनुपर्ने– यो तथ्य यहाँनिर एकपटक फेरि बाङ्गियो ।

घाट– समाप्तिको अर्को नाउँ । घाट– निमिट्यान्नको अर्को परिचय । घाट– खरानी हुने निर्दिष्ट ठाउँ । अर्थात् यो आर्यघाट– पञ्चमहाभौतिक शरीरले विलीन भएर नयाँ सम्बोधन पाउने स्थल । यो ठाउँमा त हतारो, हतार वा हडबड नहुनुपर्ने !

तर एक घन्टा अलिक भइसकेको छैन– दुई हत्केलामा सर्लक्क अटाउने यो शिशु शवले चितामाथि चढेको ।

हतारोमा विदा हुने सोचसँगै घडी हेरेको हुनुपर्छ मैले । लौकिक जञ्जालको घटेसीले आत्तिएर घडी हेरेको हुनुपर्छ मैले । सांसारिक जेतेमेतेले हानेको सिर्कना सम्झेर घडीतिर आँखा हुत्याएको हुनुपर्छ मैले ।

तर लडिरहेको लाशमा एकाकार नभए जस्तो । विरह, वेदना र विछोडमा समाहित नभए जस्तो । शोक, सन्तप्त र सकसमा लीन नभए जस्तो । यस्तै अर्थले यतिखेर जोडिएँ म । मेरो घडीहेराइ त्यही हुनुपर्छ । वेदनाले छुन नसकेको कठोर स्वभाव जस्तो । रूखो, रित्तो र रूढ चेतले डोरिएको जस्तो ।

मेरो घडीमा परेका आँखाले पढ्न नसकेको समाजको रीत । कति हतारो छ– छेउमा घिउका बट्टा खोलिरहेका हातहरूलाई । कति चाँडो बन्चरा चलाइरहेका छन्– दाउरा चिर्ने पाखुरीहरू । अझ लाश पोल्ने घाटको पुर्जी काट्ने कर्मचारीका चङ्ख आँखामा हड्बड् छ झनै तीव्र ।

चाँडो भनेको कहाँसम्म हो ! मैले घडी हेर्दा त्यतातिरको अन्तःस्करण किन मौन ! अथवा खुलिनसकेको हरहालत । कि प्रयासै नगरेको चेतनाको उपस्थिति !

मैले घडी हेरें ।

लाश जलिरहेको ठाउँमा एउटा खिन्नतालाई समयले सुसेला हालेको रहेछ । त्यो सुसेलीमा मेरा कान तानिएछन् । मभित्र भएको जागरूक चरित्रले नथिची अग्रसर गराएको रहेछ ।

झन् झन् थपिएको छ धुवाँ । जलेको मुर्दाको गन्धलाई हावाले हरेकका नाकसम्म ल्याइपुर्‍याउँछ । धेरै जसो नाक थुन्दै गइरहेका छन् । घडी हेर्दै गन्धको प्रहारबाट उम्किन खोजिरहेका छन् ।

जति छेके पनि धर्ती र आकाशसम्म धुवाँले हालेको छ अँगालो । रुमाल, हत्केला वा मजेत्राले गरेको प्रतिरोध लगभग निस्तेज मानेको छ । वागमतीपारि कैले अनुहारका विदेशीले अनेक कोणबाट तस्वीर खिचिरहेका छन् । छिटो, चाँडो वा धेरै मात्र तिनका चेतनामा जोडिएको हुनुपर्छ । तिनले घडी हेर्दै फोटो खिचिरहेका छन्—किलिक्क किलिक्क ।

क्यामेराको उज्यालो र चिताको आगोको शक्तिमा भिन्नता भए पनि अर्थ र मूल्यले भनेको सार छ एउटै । तिनीहरू नि हतारोमा छन्—हात फल्यासमा चले पनि पुग्नुपर्ने ठाउँ र दृश्यलाई पैतालाले तान्न छोडेका छैनन् ।

म त जलाउन ठिक्क पारिएका लाशका छेउमा छु । ती कति हतारिएका थिए होलान् ! खाने, सुत्ने, पढ्ने वा परीक्षाको तयारीमा जुटेका अनुहार जस्ता–दुब्ला र ख्याउटे अनुहार ।

‘एसएलसीमा दोहोर्‍याएर दिंदा नि पास नभएपछि बिख खाएछन् भान्जाले !’

अलिक तल एउटा ठूलो मलामी भीड थियो ।

दुईजना एउटै उमेरका अधबैंसेले लाश रुङ्दै विलौना गरेको सुनें । स्वजन वा परजनको घाउ यहाँनिर बाँडिएको थियो । मेरा आँखामा लत्पतिंदा प्रश्न छन् आँसुले आहाल बनाएका ।

यो भर्खर मरेको युवकले घडी हेर्दैहेर्दै परीक्षा दिएथ्यो, अवश्य । उसको घडी हेराइमा जीवन र भविष्यको अविच्छिन्न सम्बन्ध थियो होला । यतिखेर ढलेको रूख जस्तो लाश सामु उभिएर हाम्रा आँखाले हेरेका घडीका सुई र काँटा वाञ्छनीय मानिएका छैनन् ।

फेरि फर्केर कलिलो लाशनिर आइपुगें । राम्रोसँग आमाको अनुहार पनि पढ्न नसकेको यो बालक । प्रष्टसँग बाबुको बोली पनि खुट्याउन नसकेको यो बालक । ढुक्कले फूलको बास, चराको चिरबिर र बिहानको रङ बुझ्न नसकेको यो बालक । विदा भयो धर्तीबाट ।

जन्मको क्यालेन्डर राम्ररी पल्टिनै नपाई यो शिशु गयो पृथ्वीबाट । मैले आफ्ना परेलीमा समयका काँटा र सुई मात्र घुमेको ख्याल गरें । यो त यस धर्तीको घाम र पानीको परीक्षा हुनुपर्छ । यो एउटा आकाश र धर्तीमा गाँसिएको गतिको जाँच हुनुपर्छ ।

हो, म निचोरिनु छ ।

निचोराइको चोटमा मात्र दगुरेर घाट त आएँ । पाइला र शरीर—तीव्रसँग आकुल भएर यो आर्यघाटमा त टेक्न पुगें । आवेग र हडबडले यो आँशुमा त उभिएँ । तर जान्न र पढ्न बाँकी निकै कुरामा मेरो उमेर सुहाउँदो मन भएको रहेनछ ।

पक्का त्यतिखेर पनि त भो– पशुपतिमा घन्ट बज्ने तीव्रतालाई कानले पढे । ब्रह्मनालमा सुताइएका लाश मास्तिर सार्ने हतारोलाई निषेध पनि गरिनँ मैले । मास्तिर श्लेष्मान्तक वनबाट सिर्सिराएको बतास । किराँतेश्वरबाट ओइरिएको घामको पातलो किरण । यी सबको साक्ष्य–वागमती नदी ।

माथि–माथि उडेका धुवाँका पत्र । भजन टोलीले भजन भट्याइरहेका आवाज । श्राद्ध गरिरहेका पण्डितहरूका हतारिंदा स्वरहरू । सबै दृश्यले समयको पदचाप समातेका छन् । समातिन बाँकी कोही छैन । नअँगालिएको छैन कोही ।

मैले घडी हेरें आर्यघाटमा ।

यो हतारो हुनु नपर्ने । यो हडबडले मेरो उँचाइ थेप्चिएको छ होला । यो हतपतले मेरो संवेद्यपना बाम्पुड्किएको होला ! पक्का छ, समयान्तरमा यो बालकको लाश भए ठाउँमा राखिनेछ अर्को प्रौढ शव । त्यो मेरो नि हुन सक्नेछ ।

‘आर्यघाटमा घडी हेर्नुहुँदैन । हो, हेर्नुहुँदैन !’

समयले पनि मृत्युको पन्ना रोकेको हुन्छ त्यो बेला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment