Comments Add Comment

युरोकप डेब्युमै फिनल्याण्डको जित

३० जेठ, काठमाडौं । युरोकप २०२० मा डेनिस खेलाडी क्रिस्टियन एरिक्सम मैदान ढलरेर बेहोस् भएको खेलमा फिनल्याण्डले भने डेब्यु प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको छ ।

१६औं संस्करणअन्तर्गत शनिबार राति भएको समूह बी को खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले पराजित गरेको हो । डेनमार्को लागि कुनै कुरा आफ्नो पक्षमा रहेन । घरेलु मैदानमै खेलेको डेनमार्कको महत्वपूर्ण खेलाडी मैदानमै बेहोस् हुनु, पेनाल्टीमा गोल गर्न चुक्नु र खेल पनि गुमाउनु पर्‍यो ।

पहिलो पटक युरोकप खेलिरेको फिनल्याण्डको लागि जोएल पोहनपालोले ५९औं मिनेटमा गोल गरेका थिए ।

डेनमार्कले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । खेलको ७४औं मिनेटमा डेनमार्कका पिएरे एमिल होजवर्गको पेनाल्टी प्रहार फिनिस गोलकिपरले बचाए ।

पहिलो खेलमै जित हात पारेको फिनल्याण्डले ३ अंक जोड्दा सन् १९९२ को च्याम्पियन डेनमार्कले घरेलु मैदानमै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

डेनमार्को घरेलु मैदान कोपनहेगनमा भएको खेलको पहिलो हाफमा एउटा नराम्रो घटना हुँदा खेल एक घण्टा रोकिएको थियो ।

४१औं मिनेटमा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन थ्रोबाट आएको बल लिने क्रममा बेहोस भएर मैदानमै ढलेपछि खेल रोकिएको थियो र युइएफएले तत्कालका लागि खेल स्थगित गरेको थियो ।

एरिक्सनलाई मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर हस्पिटल लगियो । उनको अवस्था स्थिर भएपछि दुवै टिमलाई खेल फेरि सुरु गर्न प्रस्ताव गरेको यूइएफएले जनाएको थियो ।

एरिक्सन मैदानमा बेहोस् हुँदा उनलाई टिममेटहरु क्यामेराबाट छेकेका थिए । उनको अवस्थाको भिडियो पनि दोहोर्‍याएर देखाइएन । डेनिस फुटबल संघले एरिक्सनको अवस्था स्थिर भएको जनाएपछि खेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment