
३० जेठ, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको जनस्वास्थ्यको मापदण्ड पालना नगरेको भन्दै साओ पाउलोको प्रान्तीय सरकारले १०८ अमेरिकी डलर बराबरको जरिवाना गरेको छ ।
शनिबार साओ पाउलोमा मोटरसाइकल र्यालीम सहभागी भएका बोल्सोनारोले मास्क लगाएका थिएनन् र उनी अन्य मानिसहरुसँग पनि घुलमिल भएका थिए । शनिबार र्यालीको क्रममा बोल्सोनारोले खोप लिइसकेका मानिसलाई मास्क लगाउनुपर्ने नियम हटाउने तयारी भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘यसको विरोध विज्ञानमा विश्वास नराख्ने मानिसले मात्र गर्छन् । कोरोना खोप लगाएका मानिसबाट अर्को मानिसमा कोरो संक्रमण फैलिन सक्दैन ।’
यद्यपि अहिलेसम्म खोप लगाएका मानिसबाट अर्कोमा संक्रमण सर्दैन भन्ने पुष्टि भएको छैन । स्थानीय सरकारले राष्ट्रपति बोल्सोनारोसहित पूर्वाधार मन्त्री र अर्का एक नेताका छोरालाई पनि मास्क नलगाएको र भौतिक दूरीको नियम पालना नगरेको आरोपमा जरीवाना गरिएको छ । यस विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि पनि बोल्सोनारोले कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध मास्क लगाउनेजस्ता मापदण्डको विरोध गर्दै आएका थिए । बोल्सोनारो आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा पुनः नयाँ कार्यकालको लागि उम्मेदवारी दिने योजनामा छन् । त्यसैले मुलुकका विभिन्न स्थानमा र्याली गर्दै आएका छन् ।
साओ पाउलोका गभर्नर जोआओ डोरियाले र्याली सुरु हुनुभन्दा पहिला नै जनस्वास्थ्यको नियम पालना नगरे बोल्सोनारोलाई कारबाही गर्ने बताएका थिए । राष्ट्रपतिको निर्वाचनमा डोरिया बोल्सोनारोका प्रतिस्पर्धी हुन् ।
ब्राजिलमा कोरोना संक्रमणको कारण अहिलेसम्म चार लाख ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4