Comments Add Comment

पीपीई लिन आविष्कार केन्द्रमा प्रहरीको लस्कर

३१ जेठ, काठमाडौं । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लिन प्रहरी जवान तथा हवल्दारहरुको लस्कर लागेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आइतबार पीपीई लिन गएका प्रहरी कर्मचारीको भिड देखिने तस्वीर सार्वजनिक भएपछि त्यहीँबाट संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

निषेधाज्ञाको कार्यान्वयनमा खटिएका प्रहरी कर्मचारी नै सामाजिक दूरीविना भिड लागेर लाइनमा बस्नुलाई आविष्कार केन्द्रसँगै प्रहरी उच्च अधिकृतहरुको पनि व्यवस्थापकीय पक्षमा कमजोरी रहेको गुनासो हुन थालेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका एक अधिकारीका अनुसार परिचय पत्रका आधारमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निःशुल्क पीपीई दिने गरिएको छ । त्यही थाहा पाएका प्रहरी प्रधान कार्यालय र १ नं. प्रहरी गण नक्सालका ८८ जना प्रहरी कर्मचारी आइतबार केन्द्र पुगेका थिए ।

‘पत्रसहित आए एकमुष्ठ दिने पनि गरेका छौं, तर उहाँहरु व्यक्ति/व्यक्ति आउँदा भिड देखियो’  प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले पनि प्रहरी सामाजिक दूरीविना लस्करै लाइनमा बस्नु गलत भएको बताए ।

‘हामीले पनि फोटो हेरेरै थाहा पाएका हौं’ कुँवरले भने, ‘पीपीई लिन बोलाएकाले गएको भन्ने बुझिएको छ ।’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार प्रहरी वृत्त, प्रभाग तथा अन्य स्थानमा खटिएका निश्चित कर्मचारीलाई पीपीईको व्यवस्था गरिएको छ ।

तर प्रहरी मुख्यालय र गणमा खटिएका कर्मचारीलाई पीपीई नहुँदा उनीहरु आफैं केन्द्र गएका हुन् । प्रहरीलाई पीपीईको संख्या पर्याप्त नभएकाले फ्रन्टलाइनमा खटिने र नागरिकसँग धेरै ‘एक्सपोज’ हुनेलाई प्राथमिकता दिएर दिने व्यवस्था गरिएको थियो ।

प्रहरी स्रोत भन्छ, ‘सबैलाई चाहिँदैन भनेर पनि नदिएका हौं, आफू खुशी लिन जानु चाहिँ ठीक भएन । यस विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment