Comments Add Comment

म आएँ सब ठीक हुन्छ भन्दिन, नराम्रो हुन दिन्न : गृहमन्त्री अधिकारी

१ असार, काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनलाई गुनासोरहित बनाउन कोशिस गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा सुरक्षा मामिलाका पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री अधिकारीले ‘आफू आउँदैमा सबै ठीक हुन्छ’ भन्ने पनि नबताउने सुनाए । उनले भने, ‘मैले मन्त्रालयमा आएर अहिलेसम्म एक कप चिया पनि खानुपरेको छैन, जतिञ्जेल काम गर्छु, राम्रोसँग गर्छु ।’

उनले निर्वाचनलाई भयरहित र पारदर्शी ढंगले सम्पन्न गराउने पनि बताए । ‘अदालतले संसद पुनर्स्थापना गरे पनि त्यसपछि हुने चुनावै हो’ मन्त्री अधिकारीले भने, ‘यो विषयलाई पनि अदालतले मनन गर्ला, त्यसैले निर्वाचन हुन्छ, यसको तयारीमा जुट्नुपर्छ ।’

चुनावमा कसैको जित/हारभन्दा पनि आफूले निष्पक्षतामा जोड दिने उनले बताए । त्यही सन्दर्भमा उनले कृष्ण सिटौला, कृष्णप्रसाद भट्टराईलगायत नेता आफैं सरकारमा हुँदा चुनावमा पराजित भएको पनि स्मरण गराए ।

भारतीय पक्षले सडक निर्माण गरिरहेका कारण दार्चुलामा नेपाली बाटो भत्किएको विषयमा पनि कुटनीति पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए । अधिकारीले भने, ‘त्यहाँको वस्तुस्थितिसहितको प्रतिवेदन पनि राखेर परराष्ट्रलाई पत्राचार गरेका छौं, थप प्रक्रिया त्यहाँबाट अघि बढ्छ ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment