Comments Add Comment

एक महिनादेखि बन्द ‘कमेडी च्याम्पियन’ र ‘दोहोरी च्याम्पियन’ कहिलेदेखि शुरु हुन्छन् ?

कोरोनाको दोस्रो लहर शुरु भएसंगै निषेधाज्ञा लागू गरिएको डेढ महिना पुगेको छ । निषेधाज्ञाका कारण नेपालमा प्रशारणमा रहेका लोकप्रिय रियालिटी शोहरु समेत यतिबेला मारमा परेका छन् । निषेधाज्ञाका कारण चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द भएको एक महिना भएको छ । निषेधाज्ञाका कारण नयाँ भाग छायाँकन हुन नसक्दा ‘कमेडी च्याम्पियन’को प्रशारण एक महिनादेखि बन्द भएको हो ।

कहिलेदेखि नयाँ भाग प्रशारण हुने अझैं अन्योल रहेको बताउँछन् यसका निर्णायकमध्येका एक प्रदिप भट्टराई । यद्यपी, अब शो चाँडै शुरु गर्नेबारे कुरा भईरहेको प्रदिपले बताए ।

‘हामीले ५०–६० जनाको समूहमा काम गर्नुपर्ने हुन्छ । हिजो पनि निर्देशक विशाल जी (विशाल भण्डारी)सँग कुरा भएको थियो । उहाँले टीम तयार छ भन्नुभएको छ’ प्रदीपले भने, ‘सरकारले केही खुकुलो बनाईदिने बित्तिकै शो प्रशारणमा आउँछ ।’ माहोल सहज भएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै शो छायांकन गरेर प्रशारणमा ल्याइने प्रदीपले बताए । ‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार साँझ ९ः१० बजेबाट प्रशारण हुँदै आएको थियो । यसको १६ भाग प्रशारण भइसकेको छ ।

त्यस्तै, ‘दोहोरी टेलिभिजन रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’ पनि निषेधाज्ञाका कारण बन्द भएको झण्डै एक महिना पुग्न थालेको छ । नयाँ भाग छायाँकन गर्न नपाउँदा अहिले शोमा पुराना भागका क्लीपहरु प्रशारण गर्नुपरेको छ । शो नेपाल टेलिभिजनमा हरेक शनिबार बेलुका ८ः५० बजे प्रशारण हुँदै आएको थियो ।

तत्कालै नयाँ भाग छायाँकन गर्न सम्भव नभएकाले कहिलेदेखि प्रशारण शुरु हुने अझै अन्योल रहेको निर्यायकमध्येका एक रमेश बी.जीले जानकारी दिए । उनले परिस्थिति सहज नहुँदासम्म छायाँकन हुने शंभावना पनि कम रहेको बताए । ‘कतिपय प्रतियोगीहरु गाउँमा हुनुहुन्छ । सहज परिस्थिति नभई त कसरी छायाँकन होला र !’ बिजीले भन्छन्, –‘परिस्थिति सहज हुनेबित्तिकै प्रतियोगीहरुलाई मात्रै राखेर भएपनि संचालन हुनसक्छ ।’

लोकप्रिय गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’निषेधाज्ञाको समयमा एक साता प्रशारण बन्द भयो । एक साता प्रशारण रोकेको आयोजकले त्यसपछि भने शुक्रबार र शनिबार प्रशारण हुँदै आएको शोलाई शुक्रबारमात्र प्रशारणमा ल्यायो । निषेधाज्ञापछि छायाँकन गर्न गाह्रो भएकाले शो सातामा एकदिन प्रशारण गरिएको थियो । ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ अहिले नकआउट राउण्डमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment