 
																			३ असार, काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् ।
अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि विश्वका धेरै मुलुकबाट खोप लगाउनकै लागि जाने क्रम बढेको छ ।
नेपालमा पनि खोपको उपलब्धता अनिश्चित भएका कारण सामर्थ्य भएका नेपालीहरु अमेरिका जाने क्रम बढ्न थालेको ट्राभल व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुका अनुसार लकडाउनकै अवधिमा पनि चार्टर्ड फ्लाइटबाट गएका थिए । दुई सातायता कतार र टर्किस एयरवेजमार्फत पनि अमेरिका गइरहेका छन् ।
‘पाँच वर्षे मल्टिपल इन्ट्री भिसा लिएर बसेका व्यवसायी, अमेरिकामा छोराछोरी भएका बाबुआमाहरु खोप लगाउनकै लागि अमेरिका गइरहेका छन्,’ चार्टड उडानको काम गरिरहेका एक पर्यटन व्यवसायी भन्छन्, ‘हामीले टिकट बनाइदिने धेरै यात्रुको उद्देश्य खोप लगाउनु नै भएको पाएका छौं ।’
महामारीका बेला यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ । तर खोप लगाउन पाइने भएकाले मानिसहरु जोखिम मोलेरै अमेरिका जाने गरेको ती व्यवसायी बताउँछन् ।
व्यवसायीहरुका अनुसार दोस्रो चरणको लकडाउन सुरु हुनै लाग्दा छोराछोरी अमेरिका भएका अभिभावकहरु खोप लगाउने उद्देश्यले अमेरिका जाने क्रम सुरु भएको थियो । यसरी जानेमा नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरु पनि छन् । अमेरिकामा एक डोज मात्रै लगाए पुग्ने खोपहरु सहजै उपलब्ध हुने भएकाले परिवारका सदस्य पनि भेट्न पाइने र खोप पनि लगाउन पाइने लोभमा उनीहरुको यात्रा हुन थालेको पाइएको छ ।
नेपालमा दोस्रो लहरको संक्रमण उच्चविन्दुमा पुग्दा अस्पताल र अक्सिजनसमेत नपाउने अवस्था भएपछि जेष्ठ नागरिकहरु खोपप्रति आकर्षित भएका पाइएको छ ।
लकडाउन सुरु भएसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा सेक्सन बन्द गरेको थियो । यसले नयाँ भिसा जारी हुन सकेको छैन । तर अमेरिकाको आवासीय भिसा लिएका मानिसहरु कतार एयरवेजले सञ्चालन गरेका चार्टड उडानमार्फत गएका थिए ।
जुन महिनाको सुरुदेखि सरकारले कतार एयरवेज र टर्किस एयरलाइन्सलाई नियमित उडान भर्न अनुमति दिएपछि पर्यटक भिसा लिएकाहरु पनि खोप लगाउन अमेरिका जान थालेका हुन् ।
हालै न्यूयोर्क पुगेका एक नेपालीले अनलाइनखबरसँग भने, ‘यहाँ आउन खोप लगाएको हुनुपर्ने सर्त छैन र एयरपोर्टमै खोप लगाउन पनि पाइने रहेछ ।’
वैशाख १६ गते लकडाउन सुरु भएयता कतार एयरवेजले काठमाडौंबाट १२ वटा चाटर्ड फ्लाइट गरेको छ भने २ वटा मात्र सेड्युल फ्लाइट गरेको छ । यस्तै टर्किस एयरवेजले ६ वटा चाटर्ड र ४ वटा सेड्युल फ्लाइट गरेको छ ।
अमेरिकामा बढ्न थाले भ्याक्सिन टुरिष्ट !
भ्याक्सिन लगाउने उद्देश्यले अमेरिका जानेमा नेपाली मात्र छैनन् । पछिल्ला दिनमा ल्याटिन अमेरिकी देशहरुबाट अमेरिकामा पुग्ने पर्यटकको संख्या पनि बढिरहेको छ, जसको मुख्य उद्देश्य अमेरिकामा पुगेर भ्याक्सिन लगाउनु हो ।
ल्याटिन अमेरिका एण्ड क्यारेबियन एयर ट्रान्सपोर्ट एसोसिएसनका प्रमुख कार्यकारी जो बोटेहोले सीएनएनसँग कुरा गर्दै ल्याटिन अमेरिका र क्यारेबियन मुलुकबाट आउने पर्यटकको संख्यामा वृद्धि हुनुमा भ्याक्सिन टुरिष्ट नै मुख्य कारण रहेको बताउँछन् ।
ती देशहरुमा संक्रमणको दर निकै बढेको र भ्याक्सिनको पहुँचसमेत कम रहेको हुँदा भ्याक्सिन टुरिष्टको संख्या बढेको अमेरिकी अधिकारीहरुको बुझाइ छ ।
अमेरिकी भ्याक्सिन सेन्टरहरुमा बसोबासको कागजात नमाग्ने गरेका कारण पर्यटकलाई खोप लगाउन निकै सजिलो हुने खोप लगाएका पर्यटकहरु बताउँछन् । न्यूयोर्क शहरले त पर्यटकलाई लक्षित गर्दै मोबाइल भ्याक्सिन सेन्टर नै सञ्चालन गर्न थालेको छ ।
खोप लगाउने उद्देश्यले अमेरिका पुगेका पर्यटकहरु आफ्नो पहिचान खुलाउन चाहँदैनन् । आफ्नो देशमा सहज खोप उपलब्ध नभएपछि ज्यान जोगाउन अमेरिका आइपुगेका उनीहरु खोपको असामान वितरणप्रति चिन्तित छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4