Comments Add Comment

रामोस अब कता जानेछन् ?

३ असार, काठमाडौं । डिफेण्डर सर्जियो रामोस स्पेनिस जायन्ट रियल मड्रिडमा आफ्नो करियरलाई बिट मार्दैछन् । बिहीबार उनले भाल्डेबेबासमा पत्रकार सम्मेलनमार्फत यसको घोषणा गर्दैछन् । रियलले बुधबारै विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको छ ।

स्टाडियो सान्टियागो बर्नाबेउमा रामोसले १६ वर्ष बिताए । तर अब अर्को ठूलो प्रश्न उब्जिएको छ कि रामोस अब कता जानेछन् ?

चोटले सताएपछि गत सिजन रामोसले पूरा खेल्न पाएनन् । त्यसको असर अहिले पनि देखिएको छ । स्पेनको कप्तान रहेका उनी यसपटक युरोकप खेल्ने टिममा अटाएनन् ।

उनको क्षमता शारीरिक बनावटले गर्दा ३५ वर्षीय रामोसले अझै पनि दुई वर्ष खेल्न सक्ने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

मार्काले उनको सम्भावित गन्तव्यमा इटली र इङ्ल्याण्डलाई राखेको छ । इटलीको ट्याक्सेसन सिस्टम आकर्षक छ । यस्तै प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीले पनि उनमा यसअघि नै इच्छा देखाएका थिए ।

अहिलेका लागि पेरिस सेन्ट जर्मेन र चिनियाँ क्लब भने रामोसमा इच्छुक नरहेको मार्काले उल्लेख गरेको छ । दुई वर्षअघि रामोस चीन जान खोजेका थिए ।

अर्को विकल्प रामोस सेभियामै फर्कन पनि सक्छन्, जहाँ उनकी श्रीमतीले काम गर्छिन् । अहिले दर्शकको विपरीत भए पनि यो सम्भावना रहेको मार्काले जनाएको छ । रामोस सन् २००५ मा सेभियाबाटै रियल गएका थिए ।

रामोसको भविष्य अहिले अनिश्चित बनेको छ । यद्यपि उनले अझै आफूले उच्च लेभलमा फुटबल खेल्न सक्ने बताइरहेका छन् र उनको लक्ष्य अर्को वर्ष कतारको विश्वकप खेल्ने पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment