Comments Add Comment

आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप घट्यो

फाइल तस्वीर ।

४ असार, काठमाडौं । कोभिड-१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् ।

संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमण ओरोला लाग्दा पनि यसअघि अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप भने यथावत नै रहेको थियो ।

जेठ २२ देखि २८ गतेसम्मको सात दिनको अवधि मूल्यांकन गर्दा आईसीयूमा सबैभन्दा बढी १४५१ जना संक्रमित उपचाररत देखिन्छ भने भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् । सो साताको अन्तिम दिन जेठ २८ गते आईसीयूमा ११८९ र ३६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

जेठ २९ गते आईसीयूमा १२०६ जना संक्रमित उपचाररत रहेकोमा असार ४ गते यो संख्या घटेर ८७२ मा आइपुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जेठ २९ गते भेन्टिलेटरमा ३७३ संक्रमित उपचाररत छँदा जेठ ४ गते २४६ जना मात्रै उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण केही प्रतिशत घटेको देखिन्छ । जेठ २२ गते झण्डै ३० प्रतिशत कोरोना संक्रमण रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको देखिन्छ । जेठ २९ गते २३ प्रतिशत संक्रमण दर रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ ।

त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा सन्तकुमार दासले आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप कम भएको बताए । ‘आज आईसीयूसहितको दुई वटा भेन्टिलेटर खाली छन्,’ डा दासले भने, ‘संक्रमण उत्कर्षमा पुगेर अहिले एउटा विन्दुको वरिपरि स्थिर जस्तै देखिएको छ ।’

राष्ट्रिय ट्रमा सेन्टरमा संक्रमितको चाप घटेसँगै कोभिड वार्डमा रहेका बाँकी संक्रमितलाई वीरको सर्जिकल वार्डमा सारिएको डा सन्तोष पौडेलले बताए । डा ‘संक्रमितको चाप घटेसँगै ट्रमा रहेका केही संक्रमितलाई शुक्रबारबाट वीरमा सारेका छौं,’ उनले भने, ‘१० बेडको आईसीयूमा पनि अहिले पाँच जनामात्रै संक्रमित उपचाररत छन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि तुलनात्मक रुपमा आईसीयू र भेन्टिलेटरमा उपचार गराउन आउने संक्रमितको चाप घटेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।

पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम भने अझै कायम नै रहेको जनस्वास्थ्य विद्हरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment