+
+
स्थलगत/मेलम्ची :

सम्पत्ति भनेकै घर थियो, त्यो ‘खण्डहर’ भयो

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असार ५ गते २०:२०

५ असार, काठमाडौं । मेलम्ची बजारकी जमुना गौतमको परिवार शुक्रबार बिहान मेलम्ची नदीमा आएको बाढीले आधा पुरिएको घरको फुटेको झ्याल फोड्दै थिए । काठको भर्‍याङ हालेर दोस्रो तल्लाबाट परिवारका केही सदस्य घरभित्र पस्न थाले । उनीहरूको हातमा कोदालो, बन्चरो र साबेल थियो ।

तीन तलाको घरको तेस्रो तलासम्म बाढीसँगै आएको लेदोले पुरिएकाले उनीहरूले भिजेको खाट र टेबलबाहेक अरू कामलाग्ने सामान निकाल्न सकेनन् । बाढीले घर बस्नै नमिल्ने गरी पूर्ण क्षति भएको छ ।

घरको दोस्रो तला बालुवा र माटोले छोपेको छ भने काठ र ढुंगाको प्रहारले झ्याल–ढोका फुटेका छन् ।

तीन दिनअघिसम्म यो सानो घरको माहोल अर्कै थियो । भुइँतलाका सटर भाडामा दिइएको थियो । दुई तलामा जमुनाको पाँच सदस्यीय परिवार बस्दथ्यो ।

जमुनाको घरसँग अन्य तीन घर लहरै जोडिएका छन् । सबै घरको अवस्था उस्तै छ । दायाँपट्टि अरुण श्रेष्ठ र अर्को छेउका रामेन्द्र श्रेष्ठ तथा रामशरण पुलामीको तीन तलाको घर पूर्ण रुपमा खण्डहर बनेका छन् । ‘हतारमा भाग्दा कागजपत्र र लुगाबाहेक सबै सामान बाढीले बिगारिदिएको छ’ जमुनाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘यस्तो बाढी आउँछ भन्ने कल्पनासम्म गरेका थिएनौं ।’

जमुना र उनको घर वरपरका छिमेकीको भान्साका सामान, खाट, दराज, लुगाफाटो र खाद्यान्न पूर्ण क्षति भएको छ । सबै बजारको माथिपट्टि रहेको इन्द्रावती विद्यालयमा बसिरहेका छन् । त्यहाँ पनि सुत्ने बस्ने व्यवस्था राम्रो नभएकाले कोही भने मेलम्ची बजारका अन्य आफन्तको घरमा बसिरहेका छन् ।

जमुनाको पुरानो घर पाँचखाल हो । उनको परिवारले त्यहाँको जायजेथा बेचेर १२ वर्षअगाडि मेलम्ची बजारमा पक्की घर बनाए । त्यही घर बाढीले काम नलाग्ने अवस्थामा पुर्‍याएपछि उनीहरूले आफूलाई सम्हाल्न सकेका छैनन् । ‘हाम्रो जस्तो परिवारका लागि सर्वस्व भनेकै यही घर हो’ माटो खनिरहेकी जमुनाले भनिन्, ‘भाडा तिरेर अर्को ठाउँमा बस्न सक्ने अवस्था छैन ।’

मेलम्चीमा आएको बाढीबाट प्रभावित बनेकी जमुना गौतम

जमुनाकै छिमेकी विन्दा थापा (रामशरण पुलामीको घरका सदस्य) आफन्तसँग विलौना गर्दै थिइन् ।

उनीहरूको पनि सम्पत्तिको नाममा मेलम्ची बजारमा भएको पक्की घर मात्र छ । बाढीले घरलाई बालुवाको थुप्रो बनाइदिएको छ । घरको दुई तला पस्नै नसकिने गरी बालुवा भरिएको छ । पहिलो तलाका पसलहरू सखाप भएका छन् भने कतिपय घरको छतमा राखेको पानीको ट्यांकी समेत बाढीले बगाएको छ ।

थापाका घरमा अपाङ्गता भएका वृद्ध ससुरा थिए । मंगलबार साँझ ७ बजे पानी आँगनसम्म आइपुगेपछि अपाङ्ग बुबालाई बोकेर बाहिर निकाल्न थाले । तर आफ्नो घर छाडेर कहीं जानुहुन्न भन्दै वृद्ध ससुरा बुवा अर्को ठाउँमा जान मानेनन् । ‘म आफ्नो घरजग्गा छाडेर कहीं जान्नँ बरु बाढीले बगाओस् भन्दै बुबा जान मान्नुभएन’ उनी भन्छिन्, ‘यसपछि छोरा आएर बुवालाई बोकेर पाखाको स्कूलमा लाँदै गर्दा घरमा पानी पसिसकेको थियो ।’

जमुना, विन्दा र अरुणका घरका सदस्यहरू भाग्दा साँझको करिब आठ बजेको थियो । ज्यान जोगाउन घरमा ताल्चासमेत नलगाई उनीहरू पाखातिर भागे । बुधबार र बिहीबार पानी नओभाएकाले घरसम्म आउन पाएनन् । बिहीबार साँझतिर प्रहरीसहित घर हेर्न आइपुग्दा छाँगाबाट खसेजस्तै भए ।

‘घर र बगरमा केही फरक थिएन । हेर्न नसकेर रुन थालेछु’ वृन्दाले अघिल्लो दिनको कुरा सुनाउँदै भनिन्, ‘तला थप्दाको बैंकको ऋण अझै बाँकी छ, घर बस्न नहुने भइसक्यो ।’ व्यापार–व्यवसाय नभएका र सम्पत्तिको नाममा एउटा मात्रै घर हुने उनीहरू बाढीले शरणार्थी बन्न पुगेका छन् । औसत बजारभाउ अनुसार उनीहरूको घर र जग्गासमेतको मूल्य ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म पर्छ । मुख्य बजार भएकाले थप जग्गा नभएको उनीहरू बताउँछन् ।

बजारका नागरिकको सम्पूर्ण सम्पत्ति भनेकै घर मात्रै हुने गरेको बताउँछिन् मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल । उनका अनुसार अन्य ठाउँको सम्पत्ति बेचेर मेलम्ची बजारमा घर बनाएकाहरूको आर्थिक अवस्था शून्यमा झर्न पुगेको छ । ‘अब फेरि घर मर्मत गर्न लाखौं रुपैयाँ खर्च हुन्छ । यसले गर्दा बाढी पीडितलाई दोहोरो आर्थिक नोक्सान पर्छ,’ उनले अनलाइनखबरसँग भनिन् ।

शुक्रबारको बाढीले थप समस्या

शुक्रबार घाम लागेकाले मानिसहरु आ–आफ्नो घरका बचेका सामान निकाल्ने, माटो फाल्ने काममा व्यस्त थिए ।

बाढी घटेको हुनाले उनीहरू घर वरपर थिए । तर शुक्रबारको पानीले फेरि उनीहरूलाई पाखातिर धकेलेको छ । ‘शुक्रबार साँझदेखि झन् ठूलो पानी परेकाले बचेको सामान पनि निकाल्न सकिएन’, स्थानीय अरुण श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार अहिले घरसम्म पुग्ने बाटोमा मान्छे डुबाउने बाढी पसेको छ । यसले गर्दा मंगलबार क्षति भएका घर थप जोखिममा परेका छन् । बाढीले ल्याएका फोहोर थुप्रेकाले घरको सामान निकाल्न गाह्रो भएको उनी बताउँछन् ।

सिन्धुपाल्चोक नै घर भएका पत्रकार आदित्य दाहाल पनि शुक्रबार र शनिबार बिहान भीषण वर्षा भएकाले क्षति भएका घरमा समेत थप जोखिम बढेको बताउँछन् । उनी भन्छन्, ‘बाढी थामियो भनेर घरका सामान निकाल्न आएकाहरू फर्किनु परेको छ । उनीहरूको घरमा फेरि बाढी पस्न थालिसकेको छ ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?