
१३ असोज, काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षकले तीन महिना भयो तलब पाएका छैनन् । दशैंको समयमा तलब आउने आशामा शिक्षकहरू थिए तर आएन ।
‘साउनदेखि तलब आएको छैन । कहिले गाउँपालिकाको सभा बस्दैन । कहिले प्रशासकीय अधिकृत नभएर हो,’ जनचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार चौधरीले भने । दशैंको समयमा पनि तलब नआएपछि घर परिवार चलाउन पनि कठिन भएको शिक्षकहरूको गुनासो छ ।
‘दशैंमा तलब नआएपछि खल्लो भयो । शिक्षकका छोराछोरी पनि पनि पढाउनु पर्यो । दशैंमा तिरौला भनेर बसेको तलब नआएपछि कसरी तिर्नु ?,’ उनले गुनासोसहित प्रश्न गरे । संघ सरकारबाट शिक्षकको तलब एकमुष्ट गाउँपालिकामा गएको छ । तर गाउँपालिकाले शिक्षकको तलब निकासा नगरेको हो । ‘गाउँपालिकाले चासो दिएन । अध्यक्ष पनि गैरजिम्मेवार हुनुभयो,’ प्रधानाध्यापक चौधरीले भने ।
अग्नीसाईर कृष्णासवरनमा मात्र १६ वटा विद्यालयका शिक्षक–कर्मचारीले तलब पाएका छैनन् । तलब नपाएपछि केही दिनअघि शिक्षकहरूले गाउँपालिकामा तालाबन्दी पनि गरेका थिए ।
तर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दशैं बिदा सकिएको ७ दिनभित्र तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि शिक्षकहरूले ताला खोलेका थिए । असोज १२ गते आइतबार तलब आउने आशा शिक्षकहरूले थियो । तर अध्यक्ष चौधरीले ११ असोजका लागि बोलाएको बैठक पनि स्थगित गरे ।
र, तलब खुवाउन नसकेकोमा उनले क्षमायाचना मागे । ‘शिक्षक, कर्मचारीको तलब भत्ता चाडबाडको बेला उपलब्ध गराउन नसकेकोमा क्षमायाचना गर्न चाहन्छु । साथै दशैं बिदा सकिएको ७ (दिन) भित्र तलब भत्ता उपलब्ध गराउने प्रतिबद्धता गर्न चाहन्छु,’ अध्यक्ष चौधरीले जारी गरेको सूचनामा भनिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी भने ११ गतेको गाउँपालिकाको बैठक बसेर तलब खुवाउने भनिएको तर अध्यक्षले नै बैठक स्थगित गरेको बताउँछिन् । ‘कार्यपालिकाले निर्णय गरेर जसरी पनि तलब खुवाउने भनेर बैठक बोलाएको थियो तर स्थगित गरियो । असार १० मा पालिकाको सभा भएन । त्यसपछि हाकिम भएन । मैले समन्वय गरेको हो तर तलब खुवाउन सकिएन,’ उपाध्यक्ष चौधरीले भनिन् ।
तलब नपाउनेमा मधेश प्रदेशका धेरै
शिक्षा मन्त्रालयका अनुसार तलब नपाउनेमा धेरै मधेश प्रदेशका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार ५ सय भन्दा बढी शिक्षकको गुनासो तलब नपाएकोमा छ । गुनासोको संख्या सबैभन्दा धेरै मधेश प्रदेशबाट आएको छ ।

‘मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ । वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो,’ मन्त्री पुनले भने ।
तलब नखुवाउने कुन–कुन पालिका हो यसको यकिन विवरण मन्त्रालयले खोजिरहेको छ । धेरैजसो पालिकाहरूको सभा नबसेकाले शिक्षकले तलब नपाएको गुनासो मन्त्रालयमा आएको छ ।
‘कतिपय पालिकाले तलब खुवाएको छैन । मलाई पनि गुनासो आएको छ । कति पालिकाको सभा नबसेकाले भन्ने छ । कति वटा पालिकाको यस्तो समस्या हो, पहिचान गरिरहेका छौँ,’ शिक्षा सचिव चूडामणि पौडेलले भने । सचिव पौडेलका अनुसार मन्त्रालयले पलिकालाई शिक्षकको तलब एकमुष्ट पठाउने गरेको छ । ‘महिना महिनामै तलब दिनु भनेर पालिकालाई एकमुष्ट पठाएका छौँ । तर कुनै पालिकाले महिना महिनामै दिने गरेको छ । कुनैले नदिने गरेको पाइएको छ,’ सचिव पौडेलले भने ।
शिक्षक महासंघलाई पनि शिक्षकहरूले तलब नपाएको र पहल गरिदिन हारगुहार गरिरहेका छन् ।
‘निजामती कर्मचारीलाई दिएको तर शिक्षकलाई तलब नदिएको गुनासो आइरहेको छ । पालिकाहरूको समस्या हो,’ शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘कर्मचारीलाई तलब खुवाउन बजेट हुने तर शिक्षकलाई पुगेन भनेर नदिएको गुनासो पनि आएको छ ।’ कति शिक्षकले तलब नपाएको हो यसको पनि यकिन तथ्यांक भने छैन ।
अनुसन्धान गर्दै मन्त्रालय
शिक्षकले तलब नपाएकोबारे शिक्षा मन्त्रालयले अनुसन्धान थालेको छ ।
मन्त्री पुनले शिक्षकले तलब नापाएकोबारे अनुसन्धान सुरु गरेका बताएका छन् । ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ । यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु,’ मन्त्री पुनले भने ।
मन्त्री पुनले दुई दिनअघि पनि शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका थिए । तर कतिपय पालिकाले निकासा नगरेपछि शिक्षा मन्त्रालयले अनुसन्धान थालेको हो ।
प्रतिक्रिया 4