Comments Add Comment

श्रीदेवीको प्रेममा पागल थिए मिथुन चक्रवर्ती, एक रहस्यमयी प्रेमकथा

भारतीय सिनेमाकी पहिलो ‘महिला सुपरस्टार’ थिइन्, श्रीदेवी । समकालीन अभिनेताहरु भन्दा उनी कति पनि कम थिइनन् । चाहे ‘डिमान्ड’को कोणबाट होस् वा पारिश्रमिककै हिसाबले । श्रीदेवीको घरमा निर्माताहरुको लाइन लाग्थ्यो । ९० को दशकमा उनले त्यसबेलाका सबैजसो स्टारहरुसँग काम गरिन् । पाँच पटक त उनले फिल्मफेयर अवार्ड नै हात पारिन् ।

सन् २०१३ मा श्रीदेवीलाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मान गरेको थियो ।

रहस्यमयी मृत्यु

फिल्म ‘जूली’बाट बाल कलाकारको रुपमा प्रवेश गरेकी श्रीदेवीले बलिउडमा आफ्नो सुनौलो पदचाप छाड्न सफल भइन् । सन् २०१८ फेब्रुअरी २४ मा उनको अप्रत्यासित निधन भयो, दुबईमा । विवाह समारोहमा सहभागी हुन गएकी श्रीदेवी होटलको बाथटपमा मृत भेटिइन् ।

उनको मृत्युको रहस्य अझै सुल्झिएको छैन । श्रीदेवीको मृत्यु जति रहस्यमयी छ, उनको प्रेमकथा पनि उत्तिकै । आफ्नो जमानामा उनको प्रेम-कहानीले बलिउड तताइरह्यो । खासगरी मिथुन चक्रवर्तीसँगको सम्बन्ध धेरैको निम्ति चासो र चर्चाको विषय बन्यो ।

मिथुनसँगको गुप्त प्रेम

बलिउड ‘डिस्को डान्सर’ मा मिथुन चक्रवर्ती अभिनेताबाट नेता बनिसकेका छन् । बैंसालु उमेरमा उनै मिथुन श्रीदेवीको प्रेममा परेका थिए । हुनत आफ्नो माया पिरतीबारे यी दुवै स्टारले कहिल्यै मुख खोलेनन् । तर, दुनियाँबाट उनीहरुको अफेयर लुक्न पनि सकेन ।

जतिबेला उनीहरु एउटै फिल्ममा काम गरिरहेका थिए, त्यसबेला नै दुवैबीच प्रेम बस्यो । फिल्म सार्वजनिक भएसँगै उनीहरुको गुप्त प्रेम पनि छताछुल्ल भयो । जबकि मिथुन चक्रवर्ती पहिले नै विवाहित थिए । श्रीदेवी  र मिथुनको प्रेम एक कान, दुई कान, मैदान भएपछि मिथुन पत्नी योगिताले यसको विरोध गरिन् ।

अन्ततः अलग भए

के पनि हल्ला चल्यो भने, मिथुन चक्रवर्ती र श्रीदेवीले गुपचुप रुपमै विवाह गरे । साथै दुवै तीन वर्षसम्म एकसाथ बसे । यो खबर जब मिथुन पत्नी योगिताले थाहा पाइन्, तब मिथुनलाई श्रीदेवी छाड्न दबाब दिइन् ।

पहिलो पत्नीको दबाबकै कारण मिथुनले श्रीदेवीलाई त्याग्न बाध्य भए र आफ्नो पुरानै परिवारमा फर्किए ।

मिथुन चक्रवर्ती र श्रीदेवी तीन वर्षसम्म एकसाथ रहेर छुट्टिएका थिए, सन् १९८८ मा । यसरी अलग भएका उनीहरु फेरि कहिल्यै जोडिएनन् ।

बोनी कपूरसँग घरजम

मिथुन चक्रवर्तीसँग अलग भएपछि श्रीदेवीले विवाह गरिन्, बोनी कपूरसँग । सन् १९९६ मा उनीहरुको विवाह भयो । हुन त बोनी कपूर पनि विवाहित नै थिए । यद्यपि उनकी पत्नीको क्यान्सरको कारण निधन भएपछि बोनीले श्रीदेवीसँग दोस्रो विवाह गरे । अहिले श्रीदेवी पुत्री जान्ह्वी कपूर बलिउडमा प्रवेश गरिसकेकी छिन् ।

मिथुनः अभिनेताबाट नेता

यता मिथुन चक्रवर्ती भने बलिउडबाट क्रमश: टाढिएका छन् । उनी बलिउडका कार्यक्रमहरुमा उति देखिदैनन् । जबकि उनले पहिलो फिल्मबाटै नेशनल अवार्ड हात पारेका थिए । सन् १९७६ मा प्रदर्शनमा आएको फिल्म ‘मृगया’बाट मिथुनले ‘उत्कृष्ट अभिनेता’को रुपमा अवार्ड पाएका थिए । यससँगै उनले तीन पटक नेशनल अवार्ड जिते भने दुई पटक फिल्म फेयर अवार्ड हात पारे । हिन्दी सिनेमाका सबैभन्दा सफल अभिनेतामध्ये उनी एक हुन् । ‘सुरक्षा’ नामक फिल्मबाट सुपरस्टार बनेका मिथुन हिन्दी सिनेमामा सबैभन्दा बढी लिड रोल गर्ने अभिनेतामा गनिन्छन् ।

मिथुन अहिले पूर्णकालीन राजनीतिमा छन् । उनी भारतीय जनता पार्टीमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment