Comments Add Comment

पर्साका सरकारी कार्यालयले पालिकाअनुसार सेवा दिने

७ असार, वीरगञ्ज । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय पर्सालगायत विभिन्न सरकारी कार्यालयले भिड नहुने गरी सेवा प्रवाह गर्न थालेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले स्थानीय तह अनुसार आलोपालो मिलाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै पालिका अनुसार सेवा प्रवाह गर्न शुरु गरेको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आइतबार नै सूचना जारी गर्दै असार ७ गतेदेखि नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी र विभिन्न सिफारिसहरु पालिका अनुसार हुने जानकारी दिएका थिए ।

आइतबार र सोमबार कालिकामाई, छिपहरमाई, जगरनाथपुर, जिराभवानी, ठोरी, धोबिनी, पकाहा मैनपुर, पटेर्वा सुगौली र सखुवाप्रसौनी गरी ९ वटा गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने प्रशासनले जनाएको छ ।

मंगलबार र बुधबार विन्दबासिनी गाउँपालिका, पर्सागढी, पोखरिया र बहुदरमाई नगरपालिका गरी ४ पालिका र बिहीबार र शुक्रबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पर्साले सोमबार सूचना जारी गर्दै नयाँ फर्म दर्ता, नवीकरण लगायत उद्योग प्रशासनसम्बन्धी सेवा पालिका अनुसार आलोपालो प्रदान गर्ने जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत रिमा साहले सूचना जारी गर्दै आइतबार र सोमबार १० वटा गाउँपालिका, मंगलबार र बुधबार तीन वटा नगरपालिका तथा बिहीबार र शुक्रबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीलाई सेवा दिने जनाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय पर्साले सूचना जारी गर्दै १० गतेपछि मात्रै पालिका अनुसार सेवा प्रवाह गर्न सकिने जनाएको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालयले जस्तै आइतबार र सोमबार ९ वटा गाउँपालिका, मंगलबार र बुधबार विन्दबासिनीसहित ३ वटा नगरपालिका र बिहीबार र शुक्रबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र वीरगञ्ज पर्सा कार्यालयले लाईसेन्सको नवीकरण, प्रतिलिपी जारी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म गरिने जनाएको छ ।

कार्यालयका अधिकृत राम अयोध्या रामले सूचना जारी गर्दै स्मार्ट कार्ड दिउँसो १ बजेदेखि ४ बजेसम्म वितरण गर्ने र नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment