Comments Add Comment

उपत्यकामा निरन्तर घट्दैछन् संक्रमित

स्वास्थ्य मन्त्रालय भन्छ- दोस्रो लहर टरेको छैन

७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तीन साताअघिको तुलनामा यो साता संक्रमितको संख्या झण्डै दुई तिहाइले घटेको हो ।

जेठ १८ देखि २४ गतेसम्म काठमाडौं उपत्यकामा ९ हजार ६३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जेठ २५ देखि ३१ गतेसम्म ५ हजार ९०३ मा संक्रमण पुष्टि भयो भने असार १ देखि ७ गतेसम्म थप भएको संक्रमितको संख्या ३ हजार ४५२ मात्र छ ।

हरेक साता थपिने संक्रमितको संख्या करिब एक तिहाइले घटिरहेको तथ्यांकले देखाएको छ ।

काठमाडौंमा जेठ १८–२४ मा ६ हजार ८००, जेठ २५–३१ मा ४ हजार २४६ र असार १–७ मा २ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने साप्ताहिक रुपमा संक्रमित संख्या झण्डै आधाले घटिरहेको छ । भक्तपुरमा जेठ १८–२४ मा १ हजार ६७, जेठ २५–३१ मा ५६२ र असार १–७ मा २९१ जना संक्रमित भेटिए ।

जेठ १८–२४ गते १ हजार ७७१ संक्रमित भेटिएको ललितपुरमा असार १–७ मा ६०९ जना संक्रमित थपिए ।

दोस्रो लहर टरेको छैन : डा. पौडेल

काठमाडौं उपत्यकामा संक्रमण घट्दै जानु सकारात्मक संकेत भए पनि जोखिम टरिनसकेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । ‘तथ्यांकले संक्रमण घट्दो क्रममा देखाएको छ । तर जोखिम हटिसकेको छैन,’ डा. पौडेलले भने, ‘भोलिबाट निषेधाज्ञा खुकुलो हुँदैछ । त्यसैले जोखिमलाई कम आँक्नु हुँदैन । जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरौं ।’

संक्रमण घट्दो क्रममा रहे पनि कोरोनाको दोस्रो लहर टरिसकेको भन्दा अहिले हतार हुने उनी बताउँछन् । मंगलबारदेखि निषेधाज्ञा खुकुलो हुने भएकाले भीडभाड बढ्न गई संक्रमणको जोखिम बढ्ने खतरा रहेको भन्दै डा. पौडेलले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment