
८ असार, काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्समार्फत थप १ करोड ६० लाख डोज खोप विनियोजन गरेको छ ।
विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्त्यसम्म ८ करोड खोप प्रदान गर्ने घोषणा गरेको अमेरिकाले यसअघि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो ।
सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ । जसअनुसार एसियाका १८ मुलुकलाई कोभ्याक्समार्फत १ करोड ६० लाख खोप वितरण गरिनेछ ।
यसअघि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख डोज खोप विनियोजन गरेको थियो । पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र सम्बन्धित मुलुकमा पुग्ने अमेरिकाले जनाएको छ ।
अमेरिकाले खोप उपलब्ध गराउने घोषणा गरेका एसियाली मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् । पहिलो चरणमा एसियाली मुलुकलाई एकदमै थोरै खोप वितरण गरेको अमेरिकाले यसपटक भने सबैभन्दा बढी खोप विनियोजन गरेको छ ।
अमेरिकाले विभिन्न मुलुकलाई दिने भनेको ८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गर्नेछ भने बाँकी २५ प्रतिशत विभिन्न मुलुकलाई सिधै वितरण गर्नेछ ।
प्रतिक्रिया 4