Comments Add Comment

९७ अर्बको विदेशी लगानी भित्र्याउन लगानी बोर्डको स्वीकृति

८ असार, काठमाडौं । लगानी बोर्डले दुई वटा जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । मंगबालर प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठक यस्तो निर्णय गरेको हो ।

स्वीकृत लगानीको सानो हिस्सा स्वदेशी र ठूलो हिस्सा भने विदेशी रहेको बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले बताए ।  २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत परियोजनाका लागि बोर्डले ५४ करोड अमेरिकी डलर लागत स्वीकृत गरेको छ । जसमा स्वदेशी कम्पनी तमोर सानिमा हाइड्रोपावरको २० र सिंगापुरको कम्पनीको ८० प्रतिशत लगानी रहने छ ।

यस्तै ३३ अर्ब ४१ करोड ४० लाख लागत अनुमानित रहेको तल्लो मनाङ्ग मर्स्याङ्दी (१३९.२ मेगावाट) को लागि पनि बोर्डले लगानी स्वीकृति दिएको छ । यो परियोजनमा वुटवल पावर कम्पनीले जोइन्ट भेन्चरमा लगानी भित्र्याएको हो ।

यसैगरी झापाको दमकमा निर्माण हुने सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाइएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । परियोजानको विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न बैठकले लगानी बोर्डको कार्यालयलाई निर्देशन पनि दिएको छ ।

यस्तै संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा पनि बैठकले स्वीकृत गरेको छ ।

तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्न देखिएको अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको बैठकले बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गतमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने प्रकृया अगाडि बढाउन पनि बैठकले बोर्ड निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment