१० असार, काठमाडौं । नयाँ–नयाँ प्रविधि र स्टार्टअपको जन्म भइरहने स्थान हो, अमेरिकाको सिलिकन भ्याली । त्यहीँ नजिकै रहेको सान फ्रान्सिस्कोमा दुई जना नेपाली तन्नेरीले हुर्काइरहेका छन्– लामिना ल्याब्स । र, यसको प्रोडक्ट हो– सिमी ।
नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले बनाएको यो च्याटबटलाई विश्वकै प्रतिष्ठित स्टार्टअप प्रबर्द्धक ‘वाई कम्बिनेटर’ले लगानी गर्यो । यस बाहेक अन्य लगानीकर्तालाई पनि यसले आकर्षित गरिरहेको छ ।
नेपालकै दुर्गम हुम्ला सिमीकोटबाट विश्वप्रसिद्ध म्यासाचुसेट्स इन्सिटच्यूट अफ टेक्नोलोजी (एमआईटी) सम्म पुगेका यी युवाको स्टार्टअपले विश्वकै प्रविधि वृत्तमा तरंग पैदा गरेको छ । कारण– उनीहरूले निर्माण गरेको एआई एक्सप्लेनर भिडियो बनाउने सफ्टवेयर ‘सिमी’ले मानिसहरूको सिक्ने, सिकाउने शैलीलाई नै बदल्ने सम्भावना देखिन्छ ।
हुन पनि लामो समयदेखि हाम्रो शिक्षा र सञ्चारको मुख्य माध्यम लिखित नै रहँदै आए । कुनै पनि जटिल विषय बुझ्नका लागि किताबका ठेली बाध्यकारी थियो । यो तरिका सबैका लागि सहज थिएन । अझ स्वअध्ययन गर्नेहरूका लागि कठिन तरिका थियो । त्यसपछि क्रमश: प्रविधिको विकाससँगै भिडियोका माध्यमहरू आए । युट्युबमा भिडियो बनाएर हाल्ने र त्योबाट अध्ययन गर्ने सिलसिला सुरु भयो ।
सोही क्रममा गणितका जिज्ञासुका लागि लोकप्रिय बन्यो– थ्री ब्लु वान ब्राउन ।
एनिमेसनमार्फत विषयवस्तु बुझाउने यही युट्यूब च्यानलले प्रभावित बनायो, हुम्लामा जन्मिएका सुदीप रोकायालाई । उनी आफैँ पनि विद्यार्थी हुँदा गणित र विज्ञानका जटिल सिद्धान्तहरू बुझ्नका लागि पुस्तकभन्दा बढी युट्युबका एनिमेसन भिडियोहरू हेर्ने गर्थे । सो च्यानलले गणितका कठिन सुत्रहरूलाई भिजुअल रूपमा देखाउन ‘मनिम’ बनाएको थियो । यो एउटा ‘ओपन सोर्स’ पाइथन कोडिङ लाइब्रेरी हो, जुन संसारभरिका कोडर्सका लागि उपलब्ध छ । यसले गणितका एनिमेसन भिडियोहरू बनाउन सहयोग पुर्याउँछ ।
सोही युट्युब च्यानलबाट प्रभावित सुदीपले त्यस्ता भिडियो बनाउने प्रक्रियालाई एआईको मद्दतले ‘अटोमेट’ गर्न सकिने विषयमा सोचे । यदि यो एनिमेसन बनाउने प्रक्रियालाई एआईको मद्दतले पूर्ण रूपमा स्वचालित गर्न सकियो भने कस्तो होला ? तर साचे जस्तो सहज थिएन । ओपन सोर्स नै रहेको मनिम पाइथन लाइब्रेरी प्राविधिक हिसाबले निकै अगाडि बढिसकेको थियो ।
त्यसैले यसलाई एआईसँग ट्रेन गराएर मात्र एनिमेसन भिडियो निकाल्न निकै गाह्रो र खर्चिलो हुन्थ्यो । अन्य केही स्टार्टअपहरूले पनि यसमा काम गरिरहेकाले सुदीपले त्यो आइडिया तत्कालका लागि थाती राखे ।
तर, समयले सुदीपलाई यस्तो ठाउँमा पुर्यायो, जहाँ उनलाई परम्परागत शैलीमा अध्ययन गर्न र विषयवस्तु बुझ्न थप कठिन पर्यो । तत्कालीन समयमा एमआईटीमा अध्ययनरत सुदीपले जीव विज्ञान अर्थात् बायोलोजीको कक्षा लिनुपर्ने भयो । तर त्यो विषय बुझ्न उनलाई अरूभन्दा कठिन लाग्थ्यो । टेक्स्ट पढेर बुझ्न झन्झटिलो भएपछि आफैँले इन्टरनेटमा त्यस्ता एआई टुलहरू खोजे, जसले टेक्स्टलाई सिधै भिडियोमा बदल्न सकोस् ।
बजारमा उपलब्ध टुलहरू कि त निकै ढिला चल्थे, कि त महँगा र कमसल गुणस्तरका थिए । आफैँले झेलेको यो समस्यालाई सुदीपले अवसर देखे । त्यसपछि एआई कोडिङ एजेन्टहरू प्रयोग गरेर ‘भाइब–कोडिङ’ का माध्यमबाट सफ्टवेयर डेभलपमेन्टको रिसर्च सुरु गरे । अब भने भिडियो उत्पादनको प्रक्रियालाई धेरै गुणाले बढाउन सकिने आत्मविश्वास उनमा भरिएर आयो ।
यसरी आफ्नै बुतामा रिसर्च गरिरहेका सुदीपको कल्पनामा आयो– जहाँ एउटा च्याटजीपीटी जस्ता च्याटबटले अक्षरहरू मात्र जेनेरेट गरिरहेको छ, त्यहाँ अब भिडियो हुनुपर्छ ।
यही आइडियालाई लिएर उनले आफ्ना एमाआईटीबाटै ग्र्याजुएट अग्रज कार्त्तिकेश मिश्रसँग सल्लाह गरे । रौतहटमा जन्मिएका कार्त्तिकेशले एमआईटीबाटै इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्समा मास्टर्स गरेर सान फ्रान्सिस्कोका स्थापित स्टार्टअपहरूमा काम गरिरहेका थिए । सुदीपले सुनाएको आइडिया उनले नबुझ्ने कुरै थिएन । बरु यसको सम्भावना बलियो देखेपछि आफ्ना पुराना कामहरू छोडेर दुवै जना एउटै लक्ष्यमा केन्द्रित भए ।
यसरी सुरु भएको लामिना ल्याब्सले अहिले ‘सिमी च्याटबट’ बनाएको छ । हुम्लाको सिमीकोटमा जन्मिएको कारण पनि पनि सुदीपले यसको नाम सिमी राखे, जुन झट्ट सुन्दा विदेशीका लागि पनि असहज महसुस हुने किसिमको थिएन । ‘सिमीकोट नै राख्दा अलि लामो भयो । बरु सिमी राख्दा आफ्नो देशको सिम्बोल पनि हुने, विदेशीलाई पनि उच्चारणमा सहज हुने भएपछि यहीँ राख्यौँ,’ सुदीपले अनलाइनखबरसँग भने ।
दुई नेपाली युवाले बनाएको सिमी आखिरमा के हो ? अनि यो च्याटजीपीटी, जेमिनाइ जस्ता च्याटबटभन्दा भिन्न कसरी छ ?
सरल भाषामा भन्दा, सिमीले प्रयोगकर्ताले दिएको कुनै पनि सामान्य टेक्स्ट प्रम्प्ट, डकुमेन्ट वा वेबसाइटको लिंकलाई केही सेकेन्डभित्रै ‘ह्वाइटबोर्ड एनिमेसन’ (हातले बोर्डमा कोरेर बुझाउने शैलीको) भिडियोमा रूपान्तरण गरिदिन्छ । यसमा प्रयोगकर्ताले कुनै विषयको बारेमा लेखेर पठाउना साथ यसको एआई मोडेलले आफैँ स्क्रिप्ट लेख्छ । सुहाउँदो आवाज (भ्वाइस–ओभर) तयार पार्छ र स्क्रिनमा स्केच कोरेझैँ गरी बुझाउने एनिमेसन भिडियो बनाउँछ ।
सिमीमा प्रयोगकर्ताका लागि धेरै विकल्पहरू उपलब्ध छन् । भिडियो १, २, ३ वा ५ मिनेटसम्मको कति अवधिको चाहिने हो, त्यो रोज्न मिल्छ । साथै, युट्युब वा टिकटक, इन्स्टाग्राम रिल्सका लागि आवश्यक फर्म्याट एक क्लिकमै छान्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले नेपालीसहित संसारका ८० भन्दा बढी भाषाहरू सपोर्ट गर्छ, जसमा महिला र पुरुष दुवैको एआई आवाज छनोट गर्ने सुविधा छ ।
सामान्यतया यस्तै एनिमेसन भिडियो बनाउन एउटा मानव–एनिमेटरलाई लामो समय लाग्दा यसले भने केही क्षणमै तयार गरिदिन्छ ।
०००
पछिल्लो समय प्रविधि बजारमा अन्य ठूला कम्पनीका एआई प्रविधिहरूमा मात्रै भर परेर बनाइने साधारण ‘एआई र्यापर्स’को बाढी नै आएको छ, जसलाई अरू प्रतिस्पर्धीले सजिलै कपी गर्न सक्छन् । तर लामिना ल्याब्सले सिमीको प्राविधिक जगलाई आफ्नै कोर कोडिङमा ‘डिप–टेक’ मोडेलमा तयार पारेको छ । उनीहरूले स–साना तर अत्यन्तै अप्टिमाइज्ड मोडेलहरू बनाएका छन्, जसलाई सस्तो र सामान्य सर्भरहरूमा पनि द्रुत गतिमा चलाउन सकिन्छ । यही प्राविधिक विशिष्टताका कारण यो टुल बजारका अन्य प्रतिस्पर्धीहरूभन्दा तीव्र, किफायती र उच्च गुणस्तरको बन्न सफल भएको सहसंस्थापक कार्त्तिकेशले दाबी गरे ।
यसका दुवै संस्थापक नेपालबाट भएकाले उनीहरूको उद्देश्य नेपालीहरूले समेत यसलाई सहजै र सस्तोमा प्रयोग गर्न सकुन् भन्ने देखिन्छ । सुदीपका अनुसार भविष्यमा यसलाई नेपालका दुर्गम क्षेत्रहरूका विद्यालयहरूमा पुर्याएर शिक्षक/विद्यार्थीहरूलाई श्रव्य–दृश्य माध्यमबाट सिकाउन मद्दत गर्ने दीर्घकालीन योजना छ ।
सुरुमा उनीहरूले यसको प्रयोग मुख्य रूपमा शिक्षा क्षेत्रमा हुने र शिक्षकहरूले यसलाई बढी प्रयोग गर्ने सोचेका थिए । तर शिक्षा क्षेत्रको ‘सेल्स साइकल’ निकै सुस्त र झन्झटिलो हुने अनुभव गरेपछि आफ्नो व्यापारिक रणनीति तुरुन्तै बदले । साना तथा मझौला व्यवसायीहरूलाई लक्षित गरे ।
यसरी रणनीति परिवर्तन गरेपछि बजारबाट आएको प्रतिक्रिया अचम्म लाग्दो थियो । लिंक्डइनमा राखिएको पोस्टले पनि थप चर्चा दियो । प्रडक्ट सार्वजनिक भएको मात्र १२ दिनभित्रै सिमीका चार हजारभन्दा बढी प्रयोगकर्ता बने, जुन आजको दिनमा ६ हजार हाराहारी पुगेको सुदीपले अनलाइनखबरसँग बताए ।
‘हामीले सोचेभन्दा निकै छिटो समयमा धेरै जनाको विश्वास कमाएका छौँ । यसलाई कायम राख्दै आफूहरूलाई अघि बढाउनु नै हाम्रो दायित्व हो,’ उनले अनलाइनखबरसँग भने ।

बजारमा प्रोडक्ट ल्याएपछि अमेरिकाका विभिन्न राज्य जस्तै– केन्टकी र फ्लोरिडाका साना घरेलु व्यवसायीहरूले आफ्ना ग्राहकलाई सामानको प्रयोग गर्ने तरिका बुझाउन यसबाटै भिडियोहरू बनाउन थाले । कुकुर हेरचाह केन्द्रहरूले पनि कुकुरहरूलाई लगाइने भ्याक्सिनको महत्वबारे ग्राहकलाई बुझाउन सिमीको प्रयोग गरेर भिडियोहरू बनाए । यसरी बजारमा यसको प्रयोग क्रमश: बढ्दै जाँदा उनीहरूमा थप आत्मविश्वास भरियो ।
सिमीको यो लोभलाग्दो प्रविधि देखेर स्टार्टअपहरूको प्रवर्द्धन गर्ने विश्वकै प्रतिष्ठित संस्था ‘वाई कम्बिनेटर’ ले उनीहरूलाई आफ्नो स्प्रिङ २०२६ को ब्याचमा छनोट गर्यो । लामिना ल्याब्स पूर्ण रूपमा नेपाली संस्थापकहरू मात्र रहेको इतिहासकै पहिलो स्टार्टअप बन्न सफल भयो । वाई कम्बिनेटरमा प्रवेश पाउनुको मतलब पैसा वा फन्ड जुटाउनु मात्र थिएन, त्यहाँको बलियो नेटवर्क र विश्वप्रसिद्ध मेन्टर्सहरूको साथ पाउनु पनि उनीहरूको लागि ठूलो कुरा थियो ।
उनीहरूले वाई कम्बिनेटरका जनरल पार्टनर पिट कुमेन र म्याक्स कोलिस जस्ता अनुभवी सल्लाहकारहरूको प्रत्यक्ष निगरानीमा काम गर्ने अवसर पाए । पिट कुमेन आफैँमा एउटा सफल उद्यमी हुन्, जसले को–फाउन्ड गरेको ‘अप्टिमाइज्ली’ १०० मिलियन डलरभन्दा बढी एआरआर (एन्युअल रिकरिङ रेभिन्यु) मा पुगेर ‘एक्विजिसन’ भएको थियो ।
यसरी वाई कम्बिनेटरबाटै सुरुवाती ५०० हजार डलर बीउ पूँजी पाएका उनीहरूले वाईसीको नियमित ‘पड मिटिङ’ र सार्वजनिक लक्ष्य निर्धारण गर्ने पद्धतिमार्फत आफ्नो कामको गतिलाई थप बढाए ।
अन्तत: उनीहरू जुन २०२६ मा आयोजना हुने वाईसीको ‘डेमो डे’ मा संसारका प्रख्यात लगानीकर्ताहरूमाझ आफ्नो प्रडक्ट पिच गर्ने तयारी गरिरहेका थिए, जहाँ प्रत्येक लामिना ल्याब्स जस्ता कम्पनीले आवश्यक लगानी जुटाउन कम्तीमा पनि १०० भन्दा बढी लगानीकर्ताहरूसँग हप्तौँसम्म मिटिङ गर्नुपर्ने हुन्छ ।
‘तर, हामीले त पहिलो लगानीकर्ताबाट नै सिधै तीन मिलियन डलर फन्ड पायौँ । त्यसपछि हामी सिधै फेरि अब आफ्नो प्रोडक्ट बनाउन लागिपर्यौं,’ उत्साही हुँदै सुदीपले भने, ‘सम्भवत: यहाँ यसरी पहिलो लगानीकर्ताबाटै सोचे जस्तो फन्ड पाउने एकदमै थोरै हुन्छन्, त्यसमा हामी एउटा भयौँ । नत्र त अरू लगानीकर्तासँग पनि पिच गर्दै जानुपर्थ्यो । निकै समय लाग्थ्यो । वी आर लक्की !’
०००
सुदीप र कार्तिकेशले यसलाई आफ्नो भाग्य भने पनि यसको पछाडि उनीहरूको मिहिनेत प्रष्ट देखिन्छ । यही प्रोजेक्टमा काम गर्न सुदीपले अधिकांशको सपना रहेको एमआईटीको स्नातकबाटै ड्रपआउट भए । यद्यपि, यसको सुरुवाती चरणमा आफूसँग पर्याप्त पैसा नहुँदा उनले एआईटीकै स्टार्टअप सेन्टरबाट काम गरे । ब्ल्यांकेट नै लगेर त्यहीँ सुते, त्यहीँ काम गरे ।
यसरी विश्व बजारमा खडा हुँदै गरेको स्टार्टअप कम्पनी जन्माउने सुदीपको बाल्यकाल हुम्लाको दुर्गम पहाडमा बित्यो । स्कुले शिक्षाका लागि पोखराको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए । त्यसबेला उनीहरूसँग इन्टरनेट त थिएन नै, बाहिरी संसारको जानकारी पनि सीमित थियो । सुदीपका अनुसार, ११ कक्षामा पुग्नुअघिसम्म उनको सपना थियो– पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ पढ्ने ।
तर, कोरोनाकालले इन्टरनेटको ढोका खोलिदियो । युट्युब च्यानलहरूबाट पढ्न थाले । अनि थाहा पाए– संसारमा अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाड भन्ने प्रतिस्पर्धा हुन्छ, जुन हाइस्कुलस्तरकै संसारको सबभन्दा कठिन परीक्षा मानिन्छ ।
एस्ट्रोफिजिक्सप्रति उनको झुकाव थियो । त्यही विषयमा तयारी थाले । डेढ वर्षभित्रै नेपालको अग्रणी स्थान हासिल गरे । अनि अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्डसम्म पुगे । ‘त्यतिबेलासम्म पनि मलाई पीएचडीबारे पनि राम्रोसँग थाहा थिएन,’ उनले धरातल सम्झिए ।
तर, पनि विश्वप्रसिद्ध विश्वविद्यालयमा जाने प्रयास थाले । र, अन्तत: अमेरिकाको बोस्टन पुग्दा सुदीपले पहिलोपल्ट आफूले कल्पनामा बुनेको संसार देखे । तर विश्वस्तरीय विश्वविद्यालयमा पढ्न हुम्लाबाट पुगेका उनले आफूलाई पछाडि परेको महसुस गरे । ‘अरूसँग जुन रिसोर्स थियो, त्यो हामीसँग थिएन । तर पनि आफ्नै बुँताले खोजीखोजी पढ्न थालेँ,’ उनले भने ।
सोही विश्वविद्यालयमा उनले यसबाहेक अन्य विभिन्न प्रोडक्टहरूमा पनि प्रयास गरिरहे । अधिकांश उद्यमीको अनुभवमा सुनिने ‘हिट एन्ड ट्रायल’को श्रृखंला उनको जीवनमा पनि चलिरह्यो । र, अन्तत: लामिना ल्याब्सले उद्यमशिलताको फराकिलो ढोका उनको लागि खुलायो ।

त्यही बेला रौतहटका कार्तिकेश मिश्रसँग सम्पर्क भयो । सुदीपले कार्तिकेशलाई को–फाउन्डर बन्न प्रस्ताव राखे । कार्तिकेशले पनि आफ्नो जागिर छोडे । अनि दिन–रात दुई जना मिलेर उक्त प्रोडक्टमा थप काम गर्न थाले । ‘हामी दुवै नेपाली, दुवै गाउँबाट आएका र दुवैलाई थाहा छ नेपाल र विकासशील देशहरूमा शिक्षाको अवस्था कस्तो छ,’ कार्तिकेश भन्छन्, ‘सोही कारण यो प्रोडक्टमा विश्वास भयो । र, उस्तै धरातल भएकाले हाम्रो बोन्डिङ पनि राम्रो चलिरहेको छ ।’
यसरी उनीहरूले बनाएको सिमीले महिनाको १९ डलरमा १०० मिनेटको भिडियो बनाइदिन्छ, जुन तुलानात्मक रूपमा निकै सस्तो रहेको उनीहरूको भनाइ छ । ‘हामीले नेपाल जस्ता विकालशील देशका विद्यार्थीलाई पनि सहज पहुँच होस् भनेर एकदमै सस्तो शुल्क राखेका छौँ । त्यसमाथि यसको गति अरू यस्ता टुल्सभन्दा एकदमै छिटो छ,’ सुदीपले भने, ‘यसलाई अब विश्वस्तरमा प्रतिस्पर्धी कम्पनीको रूपमा स्थापित गर्छौँ भन्ने आत्मविश्वास छ ।’
प्रतिक्रिया 4