काठमाडौं । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ । नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागू पदार्थको दुव्र्यसनी, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतीलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ । सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने उक्त नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार नाटक असार ११ र १२ गते नगरका दुई विद्यालयमा प्रदर्शन गरिनेछ । असार ११ गते नमो बुद्ध नगरपालिका वडा नं ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे र असार १२ गते नमो बुद्ध नगरपालिका वडा नं ९, दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे उक्त सडक नाटक प्रदर्शन हुनेछन् ।
शाखा प्रमुख सुनुवारले नाटक प्रदर्शनमा उपस्थित भई सचेतना अभियानलाई सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीलाई हार्दिक अनुरोध समेत गरेका छन् ।
आदि इत्यादिको प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन् । नाटकमा प्रभाकरदेव शर्मा, चर्चित कलाकार खुपीका बाउका रूपमा परिचित कमलमणि नेपाल, गौरीका रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अन्जु खड्काको अभिनय छ ।
प्रतिक्रिया 4