+
+
Shares

तपाईंको शरीरलाई जवान राख्ने सानो इन्जिन ‘माइटोकान्ड्रिया’: कसरी जोगाउने यसको स्वास्थ्य? 

हाम्रो कोषिकाका यी साना भागहरूका लागि जे कुरा फाइदाजनक हुन्छ, त्यसले पूरा शरीरलाई नै फाइदा पुर्‍याउँछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १५:५८

१० असार, काठमाडौं । मोटोकान्ड्रिया नै बुढ्यौलीको मुख्य कारण हो कि होइन भन्ने कुरा अझै अनुसन्धानकै विषय भए पनि मानिसको व्यवहारले यिनीहरूको स्वास्थ्यमा असर पार्छ भन्ने कुरा प्रमाणित भइसकेको विज्ञहरू बताउँछन्। हाम्रो कोषिकाका यी साना भागहरूका लागि जे कुरा फाइदाजनक हुन्छ, त्यसले पूरा शरीरलाई नै फाइदा पुर्‍याउँछ।

नियमित व्यायामले माइटोकान्ड्रियाको कार्यक्षमतामा सुधार ल्याउने कुरा लगातार प्रमाणित भएको छ। एउटा निकै महत्त्वपूर्ण अध्ययनमा अनुसन्धानकर्ताहरूले मानिसको तिघ्राको मांसपेशीको बायोप्सी गरेका थिए। आठ हप्ताको प्रशिक्षण कार्यक्रमपछि उनीहरूले मांसपेशीका कोषिकाहरूमा पहिलेभन्दा धेरै र स्वस्थ माइटोकान्ड्रिया फेला पारे। यसका लागि इन्ड्युरेन्स र रेसिस्टेन्स दुवै प्रकारका व्यायाम प्रभावकारी देखिए पनि यी दुवैलाई मिसाएर गर्दा सबैभन्दा ठूलो फाइदा मिलेको थियो।

स्ट्यानफोर्ड युनिभर्सिटीकी केमिकल एन्ड सिस्टम्स बायोलोजीकी प्राध्यापक एवं “द लाइफ मेसिन्स: हाउ टेकिङ केयर अफ योर माइटोकान्ड्रिया क्यान ट्रान्सफर्म योर हेल्थ” पुस्तककी लेखिका डारिया मोचली-रोजेनले यस विषयमा प्रकाश पारेकी छन्।

उनले भनिन्, ‘व्यायामले माइटोकान्ड्रियामा थोरै टुटफुट गराउँछ। व्यायाम गरेर तपाईंले वास्तवमा आफ्नो पूरा शरीरलाई अब माइटोकान्ड्रियालाई पुनर्जीवित गर्ने र यसका नयाँ भागहरू बनाएर यिनीहरूलाई अझ बढी सग्लो बनाउने समय भयो भनेर सन्देश दिइरहनुभएको हुन्छ।”

हामीले खाने खाना नै एटीपीमा परिणत हुने भएकाले हाम्रो आहारले पनि यसमा भूमिका खेल्छ। माइटोकान्ड्रियाले ग्लुकोज (कार्बोहाइड्रेटबाट आउने) र फ्याटी एसिड (बोसोबाट आउने) लाई पचाउने काम पालैपालो गरिरहन्छ। त्यसैले पर्याप्त फाइबरयुक्त कार्बोहाइड्रेट र उच्च गुणस्तरका स्रोतहरूबाट पाइने बोसोयुक्त खानालाई प्राथमिकता दिनुपर्छ। यस्ता खानाहरूमा गेडागुडी, सिंगो अनाज, एभोकाडो र माछा जस्ता खाद्यपदार्थहरू पर्दछन्।

केही विशेष सुक्ष्म पोषक तत्वहरू , खासगरी भिटामिन बी र एन्टिअक्सिडेन्टहरू पनि माइटोकान्ड्रियाको स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छन्। डा. मोचली-रोजेनले भनिन्, ‘यसको अर्थ तपाईंले सप्लिमेन्टहरू नै खानुपर्छ भन्ने होइन, बरु तपाईंको आहार सन्तुलित हुनुपर्छ भन्ने हो।”

माइटोकान्ड्रियाको सफाइ प्रक्रियाका लागि निद्रा पनि अपरिहार्य छ र यसका लागि राति सातदेखि आठ घण्टा सुत्नु राम्रो मानिन्छ। तपाईं सुतिरहेको बेला नै माइटोकान्ड्रियाले दिनभरिमा क्षतिग्रस्त भएका आफ्ना भागहरूलाई हटाउने काम गर्छ।

अहिले बजारमा चर्चामा रहेका र बिक्री भइरहेका अन्य आधुनिक उपायहरू भने त्यति भरपर्दा छैनन्।

उदाहरणका लागि, मुसाहरूमा गरिएको अनुसन्धानले एनएडी प्लसको मात्रा बढाउने सप्लिमेन्टहरूले माइटोकान्ड्रियाको स्वास्थ्यमा सुधार ल्याउन सक्ने देखाएको छ। यो अणु कोषिकाको मेटाबोलिज्मका लागि महत्त्वपूर्ण मानिन्छ। तर मानिसहरूमा गरिएका अधिकांश परीक्षणहरूले यसबाट कुनै स्पष्ट क्लिनिकल फाइदा भएको देखाएका छैनन्।

त्यस्तै, भिटामिन सी र ई जस्ता एन्टिअक्सिडेन्ट सप्लिमेन्टहरू फाइदाजनक हुन्छन् कि हुँदैनन् भनेर मानिसमा गरिएका केही अध्ययनहरूले त झन् सहभागीहरूमा अझ खराब नतिजा देखाएका थिए।

चिसो र तातोको सम्पर्कमा रहने विधि (मुख्य गरी आइस बाथ र साउना) तथा रेड लाइट थेरापीलाई पनि कतिपय अवस्थामा माइटोकान्ड्रियाका लागि राम्रो भनेर प्रचार गर्ने गरिन्छ।

तर, यी दाबीहरूलाई समर्थन गर्ने अनुसन्धानहरू मुख्य रूपमा जनावरहरू र पेट्री डिशमा राखिएका कोषिकाहरूमा मात्र गरिएका छन्। त्यसैले यस्ता विधिहरूले मानिसको स्वास्थ्यमा वास्तवमै अर्थपूर्ण सुधार ल्याउँछन् कि ल्याउँदैनन् भन्ने कुरा धेरै हदसम्म अज्ञात नै छ। ( न्यू योर्क टाइम्सबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?