Comments Add Comment

प्रदेश १ को बजेटमा सांसदको गुनासो, मन्त्रीको टालटुले जवाफ

८ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रस्तुत बजेटमाथि सोमबार र मंगलबार प्रदेशसभामा उठेका प्रश्नको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएपछि छलफल सकिएको हो ।

सोमबार र मंगलबारको छलफलमा सहभागी सांसदले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने र पुरानै कार्यक्रमलाई राखेर वितरणमुखी बजेट ल्याएको बताएका थिए ।

मंगलबार दिउँसो बसेको दोस्रो बैठकमा सांसदहरुले उठाएको प्रश्नको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिए । तर जवाफ दिंदा मन्त्रीको हाउभाउ विगतको जस्तो थिएन । सम्बोधनका क्रममा पटक–पटक एउटै विषय दोहो¥याएका उनी धेरै ठाउँमा अलमलिए ।

मन्त्री बोलिरहँदा अधिकांश सांसदको ध्यान उनीप्रति थिएन । बैठक कक्षभित्र केही सांसद कानेखुसी गरिरहेका थिए । केही सांसद भने मोबाइल चलाइरहेका देखिन्थे ।

पूर्वतयारी नगरेका कारण जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङ अलमलिएका नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की बताउँछन् । बजेटबारे सदनमा उठेका प्रश्नहरुका बारेमा मन्त्रीले पूर्वतयारी नगरी रेडिमेट जवाफ दिएको उनको तर्क छ ।

सांसदको गुनासो

मंगलबारको बैठकमा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले कोरोना नियन्त्रणका लागि बजेट विनियोजन नभएको बताउँदै अधिकांश विकासका योजनाहरु मन्त्रीको क्षेत्रमा केन्द्रित भएको बताइन् । सरकारले टुक्रे योजना समेटेर बजेट प्रस्तुत गरेको उनले आरोप लगाइन् ।

नेपाली कांग्रेसका सांसद ओमप्रकाश सरावगीले घटेको बजेटले प्रदेशको समस्या समाधान नहुने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले हचुवाका भरमा ल्याएको बजेटले आर्थिक वृद्धिदर नभेट्ने बताए ।

सांसद बलबहादुर साम्सुहाङले सरकारले चालु वर्षकै बजेट प्रभावकारी रुपमा परिचालन गर्न नसकेको  बताए । सांसद मोहनकुमार खड्काले अनुदानमा केन्द्रित बजेटमा चालु खर्च बढी र विकास बजेट कम भएको बताए । धर्मका लागि करोडौं बजेट प्रस्तुत गरेको भन्दै उनले भने बजेट धार्मिक अभियन्ताले बनाएको जस्तो देखिएको बताए ।

सांसद लोकप्रसाद संग्रौलाले स्वास्थ्य क्षेत्रको बजेट अपुग भएको बताए । शिक्षा क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको उनले बताए । सांसद शिवनारायण गनगाईले सरकारले व्यावहारिक बजेट नल्याएको बताए । उनले आगामी वर्षका लागि प्रस्तुत बजेट पनि कार्यान्वयनमा शंका रहेको बताए ।

मन्त्रीको जवाफ : बजेट कार्यान्वयन हुन्छ

मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा मन्त्री टंक आङ्बुहाङले व्यावहारिक बजेट आएकाले कार्यान्यन हुने बताए ।

६ प्रतिशतको आर्थिक वृद्धिदर भने अनुमान मात्रै रहेको उनले बताए । सबै प्रक्षेपण पूरा नहुने भन्दै उनले भदौ असोजपछि अवस्था सामान्य भए आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । केन्द्र सरकारले साढे ६ प्रतिशत लक्ष्य राखेकाले प्रदेशले ६ प्रतिशत राखेको उनको भनाइ थियो ।

प्रदेशको राजस्वको दायर बढाउन विज्ञ समूह बनाउने भन्दै उनले बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment