Comments Add Comment

बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्य

८ असार, काठमाडौं । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्यमा झरेको छ । असार ४ गतेयता बाँकेमा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या पनि न्यून रहेको उनले बताए । ओलीका अनुसार ४ असारमा एक, ५ असारमा १०, ६ असारमा १, ७ असारमा १४ र ८ असारमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित ७५ जना मात्रै

बाँकेमा सक्रिय संक्रमितको संख्या पनि घटेको छ । मंगलबारसम्म बाँकेमा ७५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार भेरी अस्पतालमा ३७ जना संक्रमित उपचाररत छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको उनले बताए । यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा ५ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ । वेस्टर्न अस्पतालमा एकजना मात्रै संक्रमित उपचाररत छन् भने युनाइटेड अस्पतालमा एकजना पनि संक्रमित छैनन् ।

अस्पतालका ८८ प्रतिशत बेड खाली

कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमित संख्या घटेसँगै अस्पतालका कोभिड बेड पनि खाली हुन थालेका छन् ।

बाँकेको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, वेस्टर्न अस्पताल र युनाइटेड अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आइरहेको थियो ।

यी चारवटै अस्पतालमा कोभिड–१९ बिरामीका लागि ३६१ बेड छुट्याइएको थियो । जसमध्ये मंगलबार दिउँसो ३ः२० बजेसम्म ३१७ बेड खाली रहेको फोकल पर्सन ओलीले बताए ।

कोरोना संक्रमण उत्कर्षमा पुग्दा भेरी अस्पतालले अस्पतालको प्राङ्गणमा टेन्टमा राखेर संक्रमितको उपचार गराउनुपर्ने अवस्था आएको थियो ।

बाँकेमा संक्रमण नियन्त्रणमा आएको हो ?

बाँकेमा कोरोना संक्रमण उत्कर्षमा पुग्दा दैनिक संक्रमण दर ९० प्रतिशतसम्म थियो । तर अहिले संक्रमण दर ८ प्रतिशतको हाराहारीमा आएको छ । पछिल्लो २४ घण्टामा मंगलबार कोरोना संक्रमण दर ८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमण दैनिक घट्दै गएका कारण बाँकेमा कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेको बाँकेका स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

केही दिनयता मृत्युदर शून्य रहे पनि कोरोना संक्रमण दर भने शून्यमा आइनसकेको फोकल पर्सन ओली बताउँछन् । ‘कम संख्यामा दैनिक संक्रमण भेटिरहेका छन्,’ ओलीले भने, ‘संक्रमण शून्यमा नआएसम्म जोखिम टरेको भनेर भन्न मिल्दैन । तर संक्रमण नियन्त्रण उन्मुख भएको मान्न सकिन्छ ।’

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा‍. राजन पाण्डेले दैनिक भेटिन संक्रमित संख्या एक अंकमा आउनु सकारात्मक संकेत भएको बताउँछन् । ‘संक्रमण दैनिक घट्दोमा छ । शून्यमा झरिसकेको अवस्था भने छैन,’ डा. पाण्डे भन्छन्, ‘महामारी उत्कर्षमा पुगेको बेला जस्तो कहालीलाग्दो अवस्था अहिले छैन । अस्पतालका ८८ प्रतिशत कोभिड बेडहरु खाली भइसकेका छन् । यसले संक्रमण नियन्त्रण उन्मुख भएको देखाउँछ ।’

कोरोना संक्रमण दैनिक घट्दो रहे पनि संक्रमणको जोखिम भने टरिनसकेको उनको भनाइ छ ।

‘बाँके छिमेकी मुलुक भारतसँग सटेको जिल्ला हो । भारतमा कोरोनाको तेस्रो लहर आउने चेतावनी त्यहाँका अधिकारीहरुले दिइरहेका छन्,’ डा. पाण्डेले भने, ‘यस्तो अवस्थामा सीमा नाकामा सावधानी अपनाउनु जरुरी छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment