Comments Add Comment

कर्णालीमा कोरोना : संक्रमण दर घटे पनि जोखिम कायमै

दोस्रो लहरमा मात्रै २७० जनाको मृत्यु

९ असार, सुर्खेत । कर्णालीमा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गएको छ । अस्पतालहरुमा बेड र अक्सिजन सहजैरुपमा पाइन थालेको छ भने हरेक दिन संक्रमित तथा मृतकको संख्या थपिने क्रम पनि घट्दो छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख र जेठको पहिलो सातासम्म प्रदेशमा संक्रमण उच्च थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो समयमा प्रदेशमा संक्रमणदर ९८ प्रतिशतसम्म पुगेको थियो ।

उतिबेला दैनिक ६०० देखि ८०० नयाँ संक्रमित थपिन्थे भने बिरामीको चाप थेगिनसक्नु थियो । अस्पताल थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेका थिए । मृत्युदरसमेत अत्यधिक बढ्यो । त्यसबेला प्रदेशमा दैनिक १०/१२ जना संक्रमितको मृत्यु हुने गरेको थियो ।

तर, पछिल्लो समय प्रदेशमा संक्रमण दर घटेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् । ‘निषेधाज्ञा जारी पछि प्रदेशमा संक्रमणको दर हृवात्तै घटेको छ, ४० प्रतिशतमा झरेको संक्रमण दर फेरि गाउँमा परीक्षण बढाइएपछि ग्राफ बढेर ४४ प्रतिशत पुगेको छ,’ उनले भने, ‘यो पहिलेको तुलनामा दुई तिहाइ कम हो ।’

निर्देशक खड्काका अनुसार केही दिनयता संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ । पछिल्लो तथ्याङ्कअनुसार परीक्षण गरिएकामध्ये २० प्रतिशतमा मात्र संक्रमण पुष्टि हुने गरेको देखिन्छ । ‘समग्रमा प्रदेशभर पहिलेको तुलनामा संक्रमण दर निकै घटेको छ, केही ग्रामीण भेगमा परीक्षणको दायरा बढाएका छौं, तर संक्रमितको संख्यामा कमी नै छ,’ उनल भने ।

संक्रमणदर घट्नु सुखद संकेत भए पनि निषेधाज्ञा जारी गरेको ५० दिन कट्दा पनि २० प्रतिशत हाराहारी रहनु राम्रो संकेत भने नभएको निर्देशक खड्का बताउँछन् । ‘निषेधाज्ञा लगाएको ५० दिन पुगिसक्दा पनि संक्रमणदर सकारात्मक तरिकाले नघट्नु राम्रो संकेत भने हैन,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा एन्टिजेन परीक्षणको दायरा थप बढाएका छौं, सहरी क्षेत्रमा संक्रमण घटे पनि ग्रामीण क्षेत्रमा भने अझै बढ्न सक्छ ।’

ग्रामीण क्षेत्र ‘हटस्पट’ बन्न सक्छ

कोरोना संक्रमणको दर २० प्रतिशतमा झरे पनि प्रदेशका ग्रामीण क्षेत्र अझै पनि उच्च जोखिमा रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार रुकुम पश्चिम, दैलेख, हुम्ला र सल्यानमा अझै पनि कोरोना संक्रमणको दर अन्य जिल्लाको तुलनामा बढ्दो छ ।

‘सुर्खेतमा संक्रमितको संख्यामा कमी आएको छ । तर, ग्रामीण क्षत्रेका चार जिल्लामा भनेे संक्रमितको दर अझै पनि उच्च नै छ’, प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारयण चौधरीले भने ।

कर्णाली प्रदेश अस्पतालका प्रवक्ता डा. विकास केसी पनि सहरी क्षेत्रमा संक्रमण घटे पनि ग्रामीण क्षेत्रमा बढेको बताउँछन् । उनका अनुसार जाजरकोट, डोल्पा, हुम्ला, सल्यान, रुकुम पश्चिमलगायत जिल्लाका ग्रामीण भेगका सिकिस्त संक्रमित आउन थालेका छन् ।

‘सहरी क्षेत्रका संक्रमितमा कमि त आएको छ, तर फेरि ग्रामीण क्षेत्रबाट जटिल प्रकृतिका संक्रमित आउन थालेका छन्ा्’, डा. केसी भन्छन् ।

प्रदेशका ग्रामीण क्षेत्रमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि पर्याप्त परीक्षण नभएको स्थानियहरु बताउँछन् । स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको एन्टिजेन परीक्षण गर्नसमेत मानिस हिच्किचाएको प्रदेश स्वास्थ्य निर्देशक डा. खड्का पनि स्वीकार गरर्छन् । ‘अझै नागरिकमा जनचेतनाको अभाव नै छ, कतिपए ठाउँमा त कोभिडसँग मिल्दो लक्षण देखिए पनि परीक्षण गर्न मान्दैनन्,’ उनले भने ।

ग्रामीण क्षेत्रमा पातलो बस्ती भएकाले संक्रमण पनि बिस्तारै फैलिने प्रदेश अस्पतालका डा. नवराज केसी बताउँछन् । उनका अनुसार सहरी क्षेत्रमा महामारी उत्कर्षबाट घट्दै गए पनि प्रदेशका ग्रामीण क्षेत्र भने ‘हटस्पट’ बन्दै छन् ।

‘म त निशेषाज्ञा हटाउँ, प्रदेश भित्रिने नाकामा कडाइ गरौं र ग्रमीण भेगमा एन्टिजेन परीक्षणको दायरालाई बढाउँ भन्छु,’ डा. केसीले भने, ‘अझै दोस्रो लहर सकिएको छैन्, जोखिम कायमै छ, अव ग्रामीण भेगका बस्ती केन्दि्रत हुनुपर्छ ।’

दोस्रो तहरमा मात्रै प्रदेशमा २७० जनाको मृत्यु

कोरोनाको पहिलो लहर अर्थात गत वैशाखसम्म कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ३२ थियो ।

कोरोना नेपाल प्रवेश गरेको करीब ५ महिनापछि गत वर्ष जेठ ५ गते कर्णालीमा पहिलो संक्रमित फेला परेका थिए । त्यो महिनाभित्र ९५७ संक्रमित भेटिए भने तीमध्ये तीन जनाको मृत्यु भयो ।

गत वर्ष असारमा पनि ३ जनाको मृत्यु भयो । साउन र भदौमा संक्रमणको दर उही रहे पनि मृतकको संख्या भने शून्य रहृयो । तर असोजमा भने संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो ।

प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार असोजमा २ हजार ११ कोरोना संक्रमित भेटिए भने थप ६ जनाको मृत्यु भयो । क्रशम संक्रमणको दर न्यून भएसँगै मृत्यु हुनेको संख्या पनि शून्यमा झर्‍यो । गत बैशाखसम्म प्रदेशभर कोरोनाबाट ३२ जनाको मात्रै मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

कोरोनाको पहिलो चरणमा ३२ जनाको मात्रै मृत्यु भएको कर्णालीमा दोस्रो लहर सुरु भएपछि वैशाखमा मात्रै १०३ जनाको मृत्यु भयो । त्यस्तै जेठमा पनि १५६ जनाको मृत्यु भयो भने असार ८ गतेसम्म ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै कणर्ालीमा कोरोना संक्रमणबाट ३०२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment