Comments Add Comment

सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनी बढ्दै

८ असार, धनगढी । जिल्ला कारागार कञ्चनपुरमा रहेका ४०० सय जनाभन्दा कैदीबन्दीमध्ये करीब ७५ प्रतिशत लागूऔषधसम्बन्धी मुद्दाका छन् । तीमध्ये पनि अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन् ।

लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये अधिकांश कैद सजाय काटिरहेका छन् भने कोही पुर्पक्षमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताए । ‘हामीकहाँ जिल्ला कारागारमा अहिले चार सय जना कैदीबन्दी आश्रित हुनुहुन्छ,’ प्रहरी नायब उपरीक्षक थापाले अनलाइनखबरसँग भने, ‘उहाँहरुमध्ये करिब ७५ प्रतिशत लागूऔषध दुर्व्यसनीकै छ । त्यसमा पनि १८ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता बढी छ ।’

कैलाली र कञ्चनपुरबाट ११ महिनामा साढे तीन सयजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा मात्रै लागूऔषध मुद्दामा दुई सय जनालाई पक्राउ गरेको छ । तीमध्ये ४ महिला र ९ जना भारतीय नागरिक रहेको डीएसपी थापा बताउँछन् । पक्राउ परेकाहरुबाट साढे दुई किलो चरेस र साढे आठ सय ग्राम ग्राम ब्राउन सुगर बरामद भएको उनले बताए । यस्तै ६३० ट्याबलेट नाइट्रोभेट, ११६ ट्याबलेट स्पास्मो, ६ ट्याबलेट कोरेक्स, ६ सय थान ट्रामाडोल पनि बरामद गरिएको छ ।

‘हामीकहाँ जिल्ला कारागारमा अहिले चार सय जना कैदीबन्दी आश्रित हुनुहुन्छ,’ प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अनलाइनखबरसँग भने, ‘उहाँहरुमध्ये करिब ७५ प्रतिशत लागूऔषध दुर्व्यसनीकै छ । त्यसमा पनि १८ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता बढी छ ।’

यता कैलालीमा पनि विगत ११ महिनामा लागूऔषधसहित १२० जनालाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित १२० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट बताउँछन् । यो संख्या अघिल्ला वर्षहरुको तुलनामा बढी हो ।

बिष्टका अनुसार उनीहरुको साथबाट सबैभन्दा धेरै १५ किलो चरेस बरामद गरिएको छ भने ३१८ ग्राम ब्राउन सुगर पनि बरामद गरिएको छ । दुई हजार १४७ ट्याब्लेट नाइट्रोभेट, एक हजार १० ट्याब्लेट स्पास्मोप्रोक्सोभन, ५२० ट्याब्लेट ट्रमाडोल लगायतका लागूऔषध पनि प्रहरीले बरामद गरेको छ । प्रहरीको भनाइमा पछिल्लो समय लागूऔषध दुर्व्यसनीमा फस्नेहरुमा युवा पुस्ताको संख्या धेरै छ ।

निषेधाज्ञामा पनि रोकिएन लागूऔषधको कारोबार

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा समेत लागूऔषधको कारोबारमा कमी आएको देखिंदैन । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि मात्र प्रहरीले लागूऔषधको कारोबार तथा सेवनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले ६४ र कैलाली प्रहरीले १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा सुरुमा लागूऔषध सेवन गर्ने तर पैसाको अभाव हुँदै जान थालेपछि आफैं कारोबारी बन्ने क्रम बढेको पाइएको बताउँछन् । उनका अनुसार चोरी, डकैती जस्ता आपराधिक गतिविधिमा समेत लागूऔषध सेवनकर्ताकै संलग्नता बढी पाइएको छ ।

लागूऔषध नियन्त्रणलाई अभियानकै रुपमा अघि बढाएको प्रहरीले प्रारम्भिक चरणमा रहेका सेवनकर्तालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउँदै आएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको छ । युवा पुस्ता लागूऔषध दुर्व्यसनीमा फस्नु सबैभन्दा ठूलो चिन्ताको विषय भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले सक्रियता बढाउनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment