+
+

कोरोना खोपको माग गर्दै कास्कीमा ग्यास आपूर्ति रोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १७:१०

९ जेठ, पोखरा । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै व्यवसायीहरुले कास्कीमा बिहीबारदेखि एलपी ग्यास आपूर्ति रोक्ने भएका छन् ।

अगपंतिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपनि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको एलपी ग्याँस विक्रेता संघ कास्कीले जनाएको छ । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भएपनि उपेक्षा गरिएको संघका संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए ।

संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाउँदै खोपको व्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जनाएको छ ।

‘कोरोनाको पहिलो र दोस्रो लहरमा पनि नागरिकको जीवन यापनमा समस्या नपरोस् भनेर रातदिन आपूर्ति कम हुन लिएनौं । सरकारले अत्यावश्यक पदार्थ भन्छ तर खोपमा प्राथमिकतामा राख्दैन, यो निकै विडम्बनापूर्ण छ,’ संघका सचिव कुशल पौडेलले भने, ‘बाध्य भएर खोपको प्रवन्ध नहुँदासम्म आपूर्ति ठप्प पार्ने निर्णयमा पुग्यौं ।’

कास्कीमा ५० वटा ठूला र ३०० साना डिलरबाट दैनिक १५ हजार ग्यास आपूर्ति हुँदै आएको छ । करिब ८ सय जना मजदूर यो ग्याँस आपूर्तिमा दैनिक खटिने सचिव पौडेलले जानकारी दिए । ‘दैनिक उपभोक्तासँग ठोकिनुपर्छ ।

अस्पतालदेखि सरकारी कार्यालयसम्म आपूर्ति गर्नुपर्छ तर खोप लगाउन सरकारले अत्यावश्यकमा राख्दैन,’ सचिव पौडेलले भने, ‘जसका कारण दैनिक उपभोक्तसँग जोडिएको यस क्षेत्रले ठूलो जोखिम र असुरक्षा महसुस छ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले सरकारको ध्यानाकर्षण आफूले पनि गराउने तर ग्यास आपूर्ति नरोक्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?