Comments Add Comment

रामबहादुर कुरुम्वाङ : सिनियरलाई पन्छाउँदै कसरी पाए दाङको सीडीओ ?

१० असार, काठमाडौं । सिनियर सहसचिवहरुलाई गृह मन्त्रालयमै थन्काएर उपसचिव रामबहादुर कुरुम्वाङलाई दाङ जिल्लाको सीडीओ बनाइएको छ ।

सर्वोच्च अदालतको आदेशबाट खगराज अधिकारी गृहमन्त्रीबाट पदमुक्त हुनुअघि दुई जिल्लाको सीडीओ हेरफेर गर्दा कुरुम्वाङले दाङ जिल्ला हाँक्ने जिम्मेवारी पाएका हुन् । उनी आइतबार दाङमा हाजिर हुँदैछन् ।

यही असार १८ गते अवकाश हुन लागेका दाङका प्रजिअ दीर्घनारायण पौडेललाई उनकै रोजाइमा गृह मन्त्रालयमा तानेर कुरुम्वाङलाई दाङ पठाइएको हो । यसैगरी सप्तरीका प्रजीअ फणिन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा तानेर गृहमन्त्रालयमा रहेका सिनियर सहसचिव जयनारायण आचार्यलाई सप्तरी पठाइएको छ ।

गृहमन्त्रीले जाँदाजाँदै गरेको यो सरुवाबाट मन्त्रालयका अधिकारीहरु सन्तुष्ट छैनन् । ‘कमल ढकाल, रामप्रसाद पाण्डे, कृष्णप्रसाद पन्त, जनार्दन गौतमलगायत सिनियर सहसचिव मन्त्रालयको बरण्डामा हल्लिएर बस्नुपरेको छ,’ एक अधिकारीले भने, ‘तर उहाँहरुभन्दा जुनियरलाई सीडीओको जिम्मेवारी दिइएको छ ।’

कहाँ पर्छ असर ?

दाङको सीडीओको रुपमा सहसचिवको दरबन्दी छ । कुरुम्वाङ आगामी मंसिर महीनामा बढुवा भएर सहसचिव हुने पालोमा छन् । प्रशासनिक क्षेत्रका जानकारहरु सहसचिवको दरबन्दीमा उपसचिवलाई सीडीओ बनाएर पठाउने प्रचलन अब सामान्य भइसकेको बताउँछन् । तर, पूर्वगृहसचिव उमेशप्रसाद मैनाली भने सहसचिवको दरबन्दी भएको ठाउँमा उपसचिवलाई सीडीओको जिम्मेवारी दिँदा कार्यसम्पादनमा कहिलेकाहीँ समस्या पर्नसक्ने बताउँछन् ।

कुरूम्वाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको रोजाइमा परेको र उनीप्रति प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्भिन्स भएको स्रोतको भनाइ छ । कुरुम्वाङले भने मिलेर काम गर्ने शैली भएकाले सबैले मन पराउने गरेको बताउँछन्

‘सहसचिवको पदपूर्ति नभएको भए बेग्लै कुरा हो, तर सहसचिव हुँदाहुँदै उपसचिवलाई पठाउनु गलत हो,’ लोक सेवा आयोगका निवर्तमान अध्यक्षसमेत रहेका मैनालीले भने, ‘म लोक सेवाबाट रिटायर्ड हुनुअघि नै पर्याप्त संख्यामा सहसचिवमा नियुक्ति सिफारिस, फाइल बढुवालगायतका काम भएका छन् ।’

हाल उपसचिव रहेका कुरुम्वाङ दाङको सीडीओ बनेपछि उनले लाए-अह्राएको काम तुलसीपुर र घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले गर्नुपर्ने छ । उपमहानगरपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिवको दरबन्दी छ ।

तर अहिले सजिलो के छ भने घोराहीमा प्रशासन सेवाकै उपसचिव ऋषिराम केसी र तुलसीपुरमा शिक्षाका उपसचिव भाष्करराज गौतमले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका छन् । दाङको बेलझुण्डीस्थित सँस्कृत विश्वविद्यालयका पदाधिकारी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भने उपसचिव कुरुम्वाङभन्दा तल पर्ने अवस्था आएको एक अधिकारीले बताए ।

मलाई सबै पार्टीकाले मन पराउँछन् : कुरुम्वाङ

कुरूम्वाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको रोजाइमा परेको र उनीप्रति प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्भिन्स भएको स्रोतको भनाइ छ ।

कुरुम्वाङले भने आफूसँग उपसचिव बनेको १२ वर्षको अवधिमा ९ जिल्लाको सीडीओ बनेको अनुभव भएको र मिलेर काम गर्ने शैली भएकाले सबैले मन पराउने गरेको बताउँछन् ।

‘मलाई सबै पार्टीकाले मन पराउँछन्,’ कुरुम्वाङ भन्छन्, ‘म बाँकेमा बस्दा नेकपाको सरकार भयो तर नेपाली काँग्रेसका मानिसहरु पनि मसँग असाध्यै नजिक छन् । बर्दिया, स्याङ्जा र अछाममा पनि त्यस्तै भयो ।’

१२ वर्षको अवधिमा ९ जिल्लाको सीडीओ

सरकारी सेवामा काबिल अफिसरको रुपमा परिचित छन् कुरुम्वाङ । उपसचिव बनेको १२ वर्षको बीचमा नौ जिल्लाको सीडीओ बनेको उनी बताउँछन् । सुरुमा ताप्लेजुङको सिडियो बनेका उनी त्यसपछि म्याग्दी, सोलुखुम्बु र अछाम जिल्लाको सीडीओ बनेका थिए ।

अछामबाट उनी रुपन्देहीमा सहायक सीडीओको रुपमा सरुवा भए । रुपन्देहीमा १० महीना बिताएका उनी त्यहाँबाट प्युठान सरुवा भए । प्युठान जिल्ला अढाइ वर्ष सीडीओ बनेर हाँकेपछि उनी गृह मन्त्रालयमा सरुवा भए । गृहमा केही महीना बिताएपछि उनी बर्दियाको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए । गृह मन्त्रालयले गरेको कार्यमूल्यांकनमा उनी देशभरका प्रमुख जिल्ला अधिकारीहरुमध्येमा सर्वोत्कृष्ट भएका थिए । बर्दियाको सीडीओ रहेकै बेला उनले एक निजी संस्थाले प्रदान गर्ने इन्ट्रिगेटी आइडलको उपाधि पनि जितेका थिए ।

एक वर्षको बीचमा तीन ठाउँमा सरुवा

कुरुम्वाङ एक वर्षको बीचमा तीन ठाउँमा सरुवा भएका छन् । बर्दियामा २० महीना सीडीओ बनेर बसेका उनलाई कोरोना संक्रमणको पहिलो लहरको बेला हटस्पट मानिने बाँकेको जिम्मेवारी दिएर पठाइएको थियो ।

बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले प्रशासनिक कौशल देखाउन नसकेको भन्दै उनलाई गृहमा तानेर कुरुम्वाङलाई बर्दियाबाट बाँके सरुवा गरिएको थियो । सीडीओहरुको नजरमा बाँके आकर्षक जिल्ला हो ।

बाँकेमा ११ महिना बिताएर कुरुम्वाङ कैलालीको टीकापुर इलाका प्रशासन कार्यालयमा सरुवा भएका थिए । टीकापुरमा बसेको दुई महिनामै उनलाई सुर्खेतस्थित अख्तियारको कार्यालयमा सरुवा गरियो।

तर सुर्खेतमा हाजिर हुन नपाउँदै उनलाई गृह मन्त्रालयमा तानियो र गृहबाट दाङ पठाइयो । ‘कोभिडको कारणले म सुर्खेत जानै पाइनँ । अख्तियारले फेरि गृहमै पठाइदियो,’ उनले कारण खुलाए । आगामी आइतबार दाङ हाजिर हुने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विनोद घिमिरे

ट्रेन्डिङ

Advertisment