Comments Add Comment

सुदूरपश्चिमकी मन्त्रीले गरिन् प्रादेशिक आपतकालीन गोदामघरको निरीक्षण

१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले प्रादेशिक आपतकालीन गोदामघरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्री जोशीले प्राकृतिक विपतको पूर्वतयारी अन्तर्गत रोकथाम, उद्धार तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री भण्डारणको अवस्था बुझ्न गोदामको स्थलगत निरीक्षण गरेकी हुन् ।

‘प्राकृतिक प्रकोप नियन्त्रण, रोकथाम तथा उद्धारका कार्यक्रम सञ्चालन गर्न हामीसँग के–कति सामग्री मौज्दात छ ?  के–कति सामग्री थप आवश्यक पर्छ ? हामीसँग भएका सामग्री कस्तो अवस्थामा छन् ? भन्ने विषयमा अध्ययन गरेर योजना बनाउने काम गरिरहेका छौं,’ मन्त्री जोशीले भनिन्, ‘गोदाममा मौज्दात रहेका सामग्रीहरु काम लाग्ने अवस्थामा छन् कि छैनन् ? भनेर आज अनुगमन गरेका छौं । यसले हामीलाई योजना बनाउन सजिलो हुन्छ ।’

प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी जोशीले ९ वटै जिल्लामा आवश्यकताका आधारमा उद्धार तथा राहतका सामग्री वितरण गर्ने योजना रहेको बताइन् । उनले प्राकृतिक प्रकोप नियन्त्रणका लागि आवश्यक पर्ने ठूला प्रकृतिका सामग्री र उपकरण व्यवस्थापन एवं खरिदका लागि संघीय सरकारलाई आग्रह गरिएको जानकारी दिंदै गृह मन्त्रालयको बैठकमा आफूले हेलिकप्टर समेत तयारी अवस्थामा राख्न माग गरेको जानकारी दिइन् ।

‘हाम्रो गोदाममा नभएका अत्यावश्यक सामग्रीहरु संघीय सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्, ‘विपद् व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयसँग हामीले माग पनि गरेका छौं ।’

कैलालीमा १० हजार घरधुरी बाढीबाट प्रभावित हुनसक्ने अनुमान

कैलालीमा यस वर्ष प्राकृतिक प्रकोपबाट सिर्जना हुने विपद्ले झण्डै १० हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘असार २ गते हामीले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन प्रतिकार्य योजना पारित गरेका छौं । सबै स्थानीय तहबाट लिएको सुझाव र तथ्यांकलाई विश्लेषण गर्दा यहाँका १० हजार घरधुरी प्राकृतिक प्रकोपबाट प्रभावित हुनसक्ने अनुमान हामीले गरेका छौं ।’

उनले प्राकृतिक प्रकोपबाट प्रभावित हुनसक्ने घरधुरीको राहत, उद्धार लगायतका कार्यका लागि स्थानीय तह, तीनवटै सुरक्षा निकाय लगायतका सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन भनिसकेको जानकारी दिए । जिल्लामा ड्रोन लगायतका सामग्रीको अभाव रहे पनि त्यसको व्यवस्थापनमा जुटिसकेकाले प्रकोप नियन्त्रणका लागि तयारी अवस्थामै रहेको उनको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment