Comments Add Comment

कोरोना जितेकी ९२ वर्षीया आमाको खुशी (फोटो फिचर)

११ असार, काठमाडौं । जेठ २४ गतेदेखि लमजुङकी ९२ वर्षीया कालिकादेवी बास्तोलालाई खाना रूच्न छाड्यो । अस्वभाविक रुपमा जीउ दुख्ने र थकाइ लाग्ने क्रम बढ्यो । छोराहरूले कोरोना जाँच गराए । कालिकादेवीका दुई छोराको रिपोर्ट नेगेटिभ आयो ।

उनलाई छाती दुख्ने व्यथा पनि बढेपछि बेसीसहरमा उनको कोरोना परीक्षण गराइयो । घरबाट कतै नगएकी आमालाई एकाएक कोरोना देखिएसँगै बास्तोला परिवार आत्तियो । परिवारले आमालाई काठमाडौंको ग्रिन सिटी अस्पताल ल्यायो ।

ग्रिन सिटीले ‘अवस्था सामान्य छ निगरानीसहित आराम गर्नू’ भनेपछि उनीहरू सामाखुसीको राधास्वामी कोभिड आइसोलेसनको सहारामा आइपुगे । राधास्वामी आइसोलेसनमा भर्ना भएकी कालिकादेवी १९ दिनको उपचारपछि शुक्रबार कोरोना जितेर घर फर्किएकी छिन् । घर फर्किने बेला डाक्टर–नर्ससँग ‘मलाई ठीकै छ अहिले’ भन्दै बिदा भएकी उनी निकै खुशी देखिन्थिन् ।

यता नेपाली सेनाका डाक्टर, नर्स तथा संस्थाका स्वयंसेवकहरूले कालिकादेवीलाई फूलको गुच्छा दिंदै बधाई दिए । सबैजनाले ताली बजाएर बिदा गर्दा कालिकादेवीका छोरा पशुपति बास्तोला र आफन्तहरू प्रसन्न देखिए ।

राधास्वामी आइसोलेसनका डा. राम थापा क्षेत्रीका अनुसार कालिकादेवी पूर्णतः स्वस्थ बनेकी छन् । ‘हामीले करिब दुई साता अक्सिजनसहितको उपचारमा गरेपछि उहाँ स्वस्थ हुनुभएको छ,’ डा. क्षेत्रीले अनलाइनखबरसँग भने, ‘कालिकादेवीले कोरोना जितेको खबरले अन्य संक्रमितको मनोबल बढेको छ ।’

आमालाई डिस्चार्ज गराउन कालिकादेवीका छोरा पशुपति बास्तोला सामाखुसीमा रहेको राधास्वामी आइसोलेसन सेन्टर आएका थिए । उनले सामाजिक संस्थाबाट सञ्चालित आइसोलेसनमा राखेर आमा निको भएकोमा स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरे ।

‘सुरुमा हामी आत्तिएका थियौं । तर औषधि नै नखाइकन आमाले कोरोना जित्नुभयो,’ पशुपतिले भने, ‘कोरोना भन्नेबित्तिकै डराइहाल्न नहुने रहेछ । आमा पनि डराउनुभएको थिएन ।’

कोरोना जितेकी कालिकादेवीलाई अहिले गोंगबुमा रहेको आफन्तको कोठामा लगिएको परिवारस्रोतले बताएको छ । लमजुङको बेसीसहर बस्ने कालिकादेवीलाई यसअघि प्रेसरको समस्या थियो ।

काठमाडौंको सामाखुसीमा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग, सीसीएमसीको संयोजन र नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित ‘राधास्वामी आइसोलेसन सेन्टर’मा अहिलेसम्म १२४ जना संक्रमितले उपचार गराएका छन् । जसमध्ये ९७ जनाले कोरोना जितिसकेका छन् । आइसोलेसनका डा. थापा भन्छन्, ‘गरिब विपन्न कोही हुनुभए यहाँ आउन सक्नुहुन्छ, निःशुल्क उपचार गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शंकर गिरी

ट्रेन्डिङ

Advertisment