Comments Add Comment

साविक विजेता पोर्चुगल र विश्व नम्बर एक बेल्जियमको खेल आज

१३ असार, काठमाडौं । युरोकप २०२० को फर्म्याटनै यस्तो छ कि जहाँ सुरुमै ठूला टिमहरु एक आपसमा खेल्नुपर्छ । साविक विजेता पोर्गुलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनीसँग खेलिसकेको छ ।

फेरि एकपटक पोर्चुगलको लागि अर्को ठूलो टिम विपक्षीको रुपमा छ । उपाधि रक्षाको होडमा अघि बढेको पोर्चुगलको बाटो पक्कै सहज छैन । त्यही पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर एक बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा यी दुईले फरक खालको अवस्था सामाना गरे ।

बेल्जियमले समूह बी को विजेता बन्ने क्रममा सबै ३ खेल जितेको थियो । पोर्चुगलले समूहको अन्तिम खेलमा फ्रान्ससँग २-२ को बराबरी खेलेपछि पनि शीर्ष दुईमा पर्न सकेको थिएन । तर ६ समूहका तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्ने भएपछि पोर्चुगल पनि भाग्यमानी बन्यो । त्यसअघि हंगेरीलाई ३-० ले हराएको पोर्चुगल जर्मनीसँग ४-२ ले पराजित भएको थियो ।

उता बेल्जियमले पहिलो खेलमै रुसलाई ३-० ले सहजै हरायो । दोस्रो खेलमा डेनमार्कविरुद्ध एक गोलले पछि परेर पनि २-१ को जित हात पारेको बेल्जियमले तेस्रो खेलमा फिनल्याण्डलाई २-० ले पराजित गरेको थियो ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र एडेन हाजार्डो कप्तानीमा रहेको बेल्जियमबीचको खेल प्रतिक्षित बनेको छ ।

पोर्चुगलले प्रतियोगितामा ७ गोल गर्दा रोनाल्डो एक्लै ५ गोल गरिसकेका छन् उनले एक असिस्टसमेत गरेका छन् । उता बेल्जियमका लागि रोमेलु लुकाकुले पनि ३ गोल गरिसकेका छन् । मिडफिल्डमा केभिन डे ब्रुएनाको प्रेरणादायी प्रदर्शन बेल्जियमको लागि फाइदा बन्न सक्छ ।

रोनाल्डो र लुकाकु दुवै अहिले गोल्डेन बुटको होडमासमेत अघि छन् ।

बेल्जियमको टिमलाई अहिले गोल्डेन जेनेरेसनको रुपमा हेरिन्छ । तर फिफा वरीयतामा नम्बर वान भएर पनि उसले केही जित्न सकेको छैन । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको बेल्जियमले त्यसका लागि साविक विजेता पोर्चुगललाई पराजित गर्नुपर्नेछ । तर पोर्चुगलसँग रोनाल्डो छ ।

पोर्चुगल र बेल्जियम युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् । यी दुई टोलीबीच सन् २०१८ मा भएको पछिल्लो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । अहिलेसम्म दुई टोलीबीच १८ खेल हुँदा पोर्चुगलले ६ र बेल्जियमले ५ खेल जितेको छ भने ७ खेल बराबरीमा सकिएको छ ।

पोर्चुगल र बेल्जियमबीचको खेलको विजेताले क्वाटरफाइनलमा इटलीसँग खेल्नुपर्नेछ । सेमिफाइनलमा सम्भवत फ्रान्स वा स्पेनमध्ये एक हुनेछ । मैदानमा अब्बल हुने टिम नै अघि बढ्नेछ तर यस खेलपछि एउटा दु:ख पनि के हुनेछ भने उपाधि दाबेदार एक टिम बाहरिनेछ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज राति १२:४५ बजे स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment