Comments Add Comment

कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा लकडाउन

१३ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा लकडाउन घोषणा गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या ११० पुगेसँगै सिड्नीमा दुई साताको लागि लकडाउनको घोषणा गरिएको हो । त्यस्तै उत्तरी क्षेत्रमा रहेको डर्विन सहरमा पनि दुई दिनको कडा लकडाउनको घोषणा गरिएको छ ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले आगामी दिनमा कोरोनाका नयाँ संक्रमितको संख्या झन् बढ्न सक्ने भन्दै लकडाउनको घोषणा गरिएको बताएकी छिन् ।

अष्ट्रेलिया अन्य मुलुकको तुलनामा कोरोना महामारी नियन्त्रणमा सफल मानिएको मुलुक हो । महामारी नियन्त्रणका लागि उसले कडा किसिमको लकडाउन गर्ने र सीमा बन्द गर्नेलगायतका नियम लगाउँदै आएको छ ।

पछिल्लो केही समययता भने अष्ट्रेलियामा संक्रमण बढिरहेको देखिएको छ । आइतबार सिड्नीमा कोरोनाका ३० नयाँ संक्रमित फेला परेका छन् ।

लकडाउन गरिएसँगै आइतबारदेखि मानिसहरुले अत्यावश्यक सामग्री खरिद गर्न, काम, पढाइ, शारीरिक अभ्यास र स्वास्थ्य सेवा लिनका लागि मात्र घरबाहिर जान पाउनेछन् ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment