+
+
Shares
विचार :

नदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कट

रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद्को स्वरूप कसरी बदलिँदै छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अब हिमालदेखि तराईसम्मका नदी करिडोरहरूको विपद्-जोखिम बुझेर विकासको ढाँचा परिवर्तन गर्नुको विकल्प छैन।

प्रदीप खतिवडा प्रदीप खतिवडा
२०८३ असोज २८ गते ९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकी क्षेत्रमा हिम-चट्टान हिमपहिरो र गेग्रान प्रवाहले ठूलो क्षति पुर्‍याएको लेखमा उल्लेख छ।
  • लेखकले असोज २५ गते गोरखामा ड्रोन र सेनाको हेलिकप्टरमार्फत तीन जना अलपत्र व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो।
  • आरुघाट मापन केन्द्रमा बिहान ८:४० बजे ९.४३ मिटर जलस्तर अभिलेख भएको र त्यसपछि केन्द्रसमेत बगाएको प्रतिवेदनले जनाएको छ।

सन् २०१५ (२०७२ साल) देखिको अनुभवले नै भन्न सकिन्छ- हिमालदेखि तराईसम्म नदीका करिडोरहरूको विपद्-जोखिम बुझेर विकास ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता छ।

गत असोज २५ गते बिहानै बूढीगण्डकीमा झन्डै-झन्डै रसुवा-भोटेकोशीको जस्तै बाढी आएको जानकारी पाउनसाथ म ड्रोनको टोली लिएर विपद् प्रभावित क्षेत्र गोरखा गएँ। साँझपख स्यार खोला-बूढीगण्डकीको शिर-मुहानमा हेलिकप्टरबाट उद्धार र प्राविधिक अवलोकन सकेर फर्कंदै गर्दा हाम्रो नजर तीन जना अलपत्र व्यक्तिमा पर्‍यो। म नेपाली सेनाका अधिकारीहरूसँगै थिएँ। सेनाको हेलिकप्टर तत्काल ओरालेर ती तीनै जनालाई सुरक्षित स्थानमा पुर्‍याइयो।

दिनभरि भत्किएको छत-विक्षत भूभाग र गेग्रानले पुरिएको नदीको दोब हेरेपछि त्यो उद्धारले मनमा थोरै भए पनि राहत दियो। झन्डै डेढ महिनाअघि रसुवा-भोटेकोशीको महाविपद्को बेलामा पनि म यस्तै ड्रोन सर्वेक्षण गर्न र आपत्कालीन सञ्चार जोड्न रसुवाको उत्तरी भूभागमा पुगेको थिएँ।

यी दुइटा घटनाले हिमाली क्षेत्रमा भएको उथलपुथल र त्यसले ल्याएको विनाशकारी क्षति हेर्दा नेपाली हिमालय क्षेत्रमा कति ठूलो जोखिम रहेछ भन्ने कुराले मनमा ढ्याङ्ग्रो ठोक्यो।

डेढ महिनाको छोटो अन्तरालमा रसुवा-भोटेकोशीको हिम-चट्टान हिमपहिरो, मनाङको तालनजिकै झरेको भीमकाय पहिरो, कालीगण्डकीको बाढीका साथै गोरखाको त्यसको लगत्तै हिमलुङ क्षेत्रबाट सुरु भएको ठूलो गेग्रान प्रवाह (डेब्रिस फ्लो) का विपद्का घटनामा नजिकबाट काम गर्ने अवसर पाएँ।

रसुवा र गोरखामा पहिलो दिनमै भूगर्भविद् र ड्रोन सर्वेक्षण टोलीसहित प्रारम्भिक मूल्याङ्कनमा पुगेँ। मनसुन वर्षापछिको उद्धार तथा प्रतिकार्यमा पनि संलग्न रहेँ। यी घटनाले हिमाली जोखिमलाई हिमाल, नदी र विकास एउटै सम्बन्धभित्र हेर्नुपर्ने आवश्यकता थप स्पष्ट भयो।

भूकम्पपछि विज्ञान र तथ्याङ्कसँग जोडिएको यात्रा

२०७२ सालको भूकम्पले मेरो जीवनको दिशा बदल्यो। तेस्रो दिनदेखि राष्ट्रिय स्वयंसेवक कार्यक्रमको संयोजकका रूपमा काम गर्दा करिब ५ हजार स्वयंसेवक परिचालन र ७ हजार सुरक्षित आवास निर्माणको अभियानसँग जोडिएको थिएँ। प्रभावित परिवारलाई सुरक्षित छानो पुर्‍याउने कामले राहतसँगै जोखिम बुझ्ने र सुरक्षित पुनर्निर्माण गर्ने जिम्मेवारी सिकायो।

त्यसपछि युथ इन्नोभेसन ल्याब मार्फत युवा वैज्ञानिक र प्राविधिकलाई समेट्दै बहुप्रकोप जोखिम मूल्याङ्कन, नेपाल सरकारको विपद् सूचना व्यवस्थापन प्रणाली र विभिन्न तहमा तथ्याङ्कको प्रयोगमा निरन्तर काम गर्‍यौँ। विज्ञानलाई नीति र समुदायले बुझ्ने भाषामा पुर्‍याउने तथा विपद्सम्बन्धी निर्णय तथ्याङ्कमा आधारित बनाउने कामसँगै विकास गरेका केही समाधान नेपालबाहिरसमेत प्रयोग भइरहेका छन्।

रसुवामा हिमालबाट सुरु भएको प्रवाह

भदौ १० मा रसुवाको द्रुत क्षति मूल्याङ्कन गर्दा हाम्रो ड्रोन टोली करिब १२ घण्टा अड्किएको थियो। धुन्चे हुँदै स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी र नेपाल-चीन सीमासम्मको प्रभावित करिडोरमा पहुँच कठिन थियो। सीमाको अध्यागमन र बजार, माथिल्लो र तल्लो टिमुरे तथा स्याफ्रुबेँसीका नदीनजिकका क्षेत्र गम्भीर रूपमा प्रभावित थिए। सडक र पूर्वाधारको नामोनिसान थिएन; केही ठाउँमा नदीकिनारभन्दा निकै माथिसम्म गेग्रान थुप्रिएको र बाढीले पोतिएको मात्र देख्न पाइन्थ्यो।

यो महाविपद्को सुरुवात लाङटाङ लिरुङको उत्तरी मोहडामा हिम र चट्टानको ठूलो खण्ड छुट्टिएर भयो। अध्ययनले स्रोतबाट छुट्टिएको पदार्थको आयतन करिब ११ करोड घनमिटर अनुमान गरेको छ। विभिन्न अध्ययनका अनुमान ७.४ देखि १३ करोड घनमिटरसम्म छन्। करिब १ हजार ४०० मिटर तल खसेको पदार्थले बाटोमा थप ३ करोड घनमिटरसम्म पदार्थ समेटेको विवरण छ।

यसको अर्थ माथिबाट खसेको पदार्थ तल आइपुग्दा उही आकारमा रहेन। चट्टान टुक्रियो, बाटोको गेग्रान सोहोरियो र हिम तथा नदीको पानी मिसिँदा प्रवाह अझ चलायमान भयो। हिम-चट्टान हिमपहिरोबाट विकसित भएको गेग्रानयुक्त प्रवाह भोटेकोशी-त्रिशूली-नारायणी प्रणालीमा फैलियो।

प्रतिवेदनले करिडोरभर करिब ३ करोड ५ लाख घनमिटर गेग्रान र लेदो थुप्रिएको अनुमान समेटेको छ। बस्ती, खेत र जलविद्युत् संरचनामा पुगेको असर बुझ्न पानीसँगै यो ठोस पदार्थको भार पनि हेर्नुपर्छ।

नदीनजिक बस्ती, व्यापारिक संरचना, सडक र जलविद्युत् आयोजना केन्द्रित हुँदा एउटै प्रवाहले धेरै सेवा एकैसाथ अवरुद्ध गर्‍यो। ‘बाढी’ भन्ने शब्दले तल्लो क्षेत्रको अवस्था बताउँछ; स्रोतमा हिमालको खण्ड भत्किएको र त्यसले बाटोमा पदार्थ समेट्दै विनाश फैलाएको शृङ्खला पनि बुझ्न आवश्यक छ।

रसुवामा स्रोतबाट छुट्टिएको पदार्थ बाटोमा थप गेग्रान समेट्दै तल्लो नदी प्रणालीमा फैलिएको प्रक्रिया। आयतन उपलब्ध प्रतिवेदनका प्रारम्भिक अनुमान हुन्।

गोरखामा रोकिएको पदार्थ र दुई चरणको निकास

असोज २५ मा गोरखा पुग्दा सुरुमा अनुमान गरेको स्रोतभन्दा धेरै माथिसम्म घटना फैलिएको देखियो। चुम्लिङ, चुम्हेत, न्याक र फिलिममाथिको क्षेत्रमा ठूलो भूभाग भत्किएर लामो दूरीसम्म गेग्रान बगेको निसान थियो। आसपासका भित्तामा फैलिएको कालो धुलो र मसिनो पदार्थले चट्टान टुक्रिँदै र छरिँदै तल सरेको सङ्केत दिन्थ्यो।

हाम्रो प्रारम्भिक अवलोकनमा नदीमार्गमा बनेको अस्थायी अवरोधले पदार्थको केही भाग रोक्यो। त्यसपछि दुई चरणमा गेग्रान तलतिर गएको विवरण आयो। यस्तो अवरोधले सुरुको गति तोडेर प्रवाहको चरित्र बदल्न सक्छ। ठूलो परिमाण एकैचोटि छुटेको भए तल्लो क्षेत्रमा अझ ठूलो असर पर्न सक्थ्यो। साथै रोकिएको पदार्थपछाडि पानी जम्मा हुँदा अर्को विनाशकारी प्रवाहको जोखिम पनि रहन्छ।

आरुघाटको मापन केन्द्रमा बिहान ८:४० बजे ९.४३ मिटर जलस्तर अभिलेख भएको र त्यसपछि केन्द्रसमेत बगाएको जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको प्रारम्भिक स्थिति प्रतिवेदनले जनाएको छ। यो केन्द्रको सन्दर्भ तहअनुसारको जलस्तर हो। स्रोतबाट खसेको गेग्रानको कुल आयतन भने अझै मापन गर्न बाँकी छ।

रसुवासँग तुलना गर्दा गोरखामा अर्को महत्त्वपूर्ण पक्ष बस्तीको अवस्थिति थियो। नदीभन्दा माथि रहेका धेरै बस्ती र महत्त्वपूर्ण संरचना तत्कालको प्रवाहबाट जोगिए; प्रवाहले भेटेका नदीकिनारका ठाउँ भने प्रभावित भए। उचाइ, उपत्यकाको बनावट र प्रवाहमार्गले असर कहाँ केन्द्रित हुन्छ भन्ने निर्धारण गर्छन्। नयाँ बस्ती र पूर्वाधारको स्थान छनोटमा यही सम्बन्धलाई आधार बनाउनुपर्छ।

उपलब्ध UNOSAT नक्सामा आधारित गोरखाको प्रवाहमार्ग र स्थलगत विवरणअनुसार नदी अवरोध तथा दुई चरणको निकासको व्याख्यात्मक रेखाचित्र।

वर्षा र हिमलुङले देखाएको अर्को कठिनाइ

सेप्टेम्बरको अन्तिम साताको अत्यधिक वर्षाले बागलुङ, म्याग्दी, मनाङलगायतका जिल्लामा पहिरो, बाढी र जनधनको क्षति गरायो। यही समय आसपास हिमलुङमा उच्च हिमाली हिमपहिरोको घटना भयो। यी घटनाका उत्प्रेरक फरक हुन सक्छन्, तर सडक, विद्युत् र सञ्चार अवरुद्ध हुँदा उद्धार र राहतमा परेको कठिनाइ साझा थियो। मौसमले हवाई पहुँच रोकेपछि स्थानीय स्रोत र उपलब्ध जनशक्तिबाट सहायता पुर्‍याउनुपर्ने अवस्था आयो।

तीव्र वर्षालाई ‘क्लाउडबर्स्ट’ भनेर वर्गीकरण गर्न स्थानीय वर्षा मापन चाहिन्छ। हिमलुङको स्रोत प्रक्रिया पनि छुट्टै अध्ययनको विषय हो। प्रतिकार्यमा भने सुरक्षित आश्रय, स्वास्थ्य सेवा, खाद्यान्न र सञ्चार एकैसाथ चल्ने व्यवस्था आवश्यक हुन्छ।

विपद्को अध्ययनमा जलवायुको सन्दर्भ

यी घटनाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनलाई एउटै योजनामा हेर्नुपर्ने देखाएका छन्। वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनले मानवीय तापवृद्धिका कारण रसुवाको विफलता क्षेत्र आसपास जुलाई-अगस्टको तापक्रम पूर्वऔद्योगिक अवस्थाको तुलनामा करिब १.५ डिग्री सेल्सियस बढी भएको देखाउँछ।
तापक्रम वृद्धि, हिमनदीको क्षय र चट्टानका दरारमा जमेको हिम पग्लिने प्रक्रियाले ढलान कमजोर बनाउने पृष्ठभूमि सिर्जना गर्न सक्छन्। भूगर्भीय संरचनासँग मिलेर काम गर्ने यी परिवर्तनलाई जोखिम मूल्याङ्कनमा समेट्नुपर्छ।

हिमताल अध्ययनसँगै अस्थिर चट्टानी ढलान, झुन्डिएका हिमखण्ड, नदी थुनिन सक्ने ठाउँ र गेग्रान बग्ने मार्गको अध्ययन पनि आवश्यक छ। घटनापछि ड्रोनबाट देखिएको विनाशलाई नक्सा र तथ्याङ्कमा बदल्ने कामले तत्कालको सहायता र भविष्यको स्थान छनोट दुवैलाई सहयोग गर्नुपर्छ।

अबको बस्ती र पूर्वाधार कस्तो हुने ?

पुनर्निर्माणका क्रममा घर जहाँ भत्कियो, त्यहीँ बनाउनु हुँदैन। गाउँमा पनि जलवायुमैत्री एकीकृत बस्ती विकास चाहिन्छ- जहाँ सुरक्षित आवाससँगै पानी, सरसफाइ, स्वास्थ्य सेवा, विद्यालय, जीविका र आपत्कालीन पहुँचको योजना जोडिएको होस्। ‘विपद् उत्थानशील पूर्वाधार’ भन्नुको अर्थ जोखिम क्षेत्रभन्दा पर, सुरक्षित स्थानमा सहने संरचनासँगै सङ्कटमा पनि आवश्यक सेवा चल्ने व्यवस्था हो।

सुरक्षित स्थान छनोटका लागि नदीबाटको दूरी वा उचाइ मात्रै पर्याप्त हुँदैन। माथिल्लो ढलानको स्थिरता, सम्भावित गेग्रान प्रवाहको सीमा, नदीले बाटो बदल्न सक्ने अवस्था र पहिरोको जोखिम हेर्नुपर्छ। सडक, पुल र जलविद्युत्‌को डिजाइनमा पानीको बहावसँगै ठूलो ढुङ्गा झर्न सक्ने सम्भावना, गेग्रानको भार र नदीपिँध कटानको मूल्याङ्कन आवश्यक छ।

निगरानीमा उपग्रह र ड्रोन तस्बिर, जमिनको कम्पन, नदीको जलस्तर र स्थानीय अवलोकन जोड्नुपर्छ। ती सूचना जिम्मेवार निकायबाट समुदायसम्म साइरन, मोबाइल, रेडियो र वैकल्पिक सञ्चारमार्फत पुग्नुपर्छ। निकासमार्ग र नियमित अभ्याससँगै कामदार तथा सहायता चाहिने व्यक्तिको सुरक्षित स्थानान्तरण पनि तयारीको भाग हुनुपर्छ। सीमापार जलाधारमा समयमै सूचना आदानप्रदान उत्तिकै आवश्यक छ।

रसुवा र गोरखाले सिकाएको पाठ

जोखिमको पाठ अबको हाम्रो हिमालय क्षेत्रमा हुने विकास-निर्माण कस्तो हुने हो भन्ने प्रश्नबाट सुरु गर्नुपर्छ। हिमालदेखि नदीकिनारसम्मको जोखिम बुझेर बस्तीको स्थान, पूर्वाधारको डिजाइन र सेवाको निरन्तरता तय गर्न सकियो भने उद्धारमा देखिएको तत्परतालाई घटनापूर्वको सुरक्षामा पनि बदल्न सक्छौँ।

लेखक
प्रदीप खतिवडा

लेखक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तनका विज्ञ हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?