+
+
Shares

‘हाम्रा लागि सिंहदरबार यही’

वाईसीएलले बनाएका अस्थायी आवास प्रचण्डले नुवाकोटका बाढीपीडितलाई हस्तान्तरण गरेका छन् ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ असोज २७ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले मंगलबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटेमा बाढीपीडित २० परिवारलाई वाईसीएलले बनाएका अस्थायी आवास हस्तान्तरण गरे।
  • भदौ १० गतेको बाढीले श्रीकृष्ण नेपालको घर पुरेपछि उनले वाईसीएलले बनाएको दुई कोठे अस्थायी घरलाई सिंहदरबारजस्तो भएको बताए।
  • वाईसीएलका अनुसार डेढ सय अस्थायी आवास निर्माणको अन्तिम चरणमा छन्, र बाढीपहिरो प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएका छन्।

२७ असोज, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटेका ६३ वर्षीय श्रीकृष्ण नेपालको घर भदौ १० गतेको बाढीले पुर्‍यो । भएको त्यही एउटा ओत पनि बस्न नमिल्ने बन्यो । बर्खाको विपत्तिले घरबारविहीन बनाउँदा आगामी दिन कसरी काट्ने भन्ने चिन्ता थपियो । तर, अहिले उनी वाईसीएल नेपालले बनाइदिएको नयाँ अस्थायी आवासमा बसेर त्यो पीडा भुल्ने प्रयासमा छन् ।

‘मेरो घर बाढीले पुर्‍यो । वाईसीएलले घर बनाइदियो । मेरा लागि यही नै सिंहदरबार हो,’ नेपालले मंगलबार अनलाइनखबरसँग भने । दशैं लगायतका चाडबाडका बेला ओत लाग्ने ठाउँ पाउँदा उनको नजरमा त्यही दुई कोठे घर नै सिंहदरबारजस्तो बनेको छ ।

मंगलबार बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलकोटगढी नगरपालिका–७, रातमाटेमा बाढीपीडित परिवारका लागि वाईसीएलले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गरे ।

वाईसीएलका अनुसार डेढ सय वटा अस्थायी आवासहरु अहिले निर्माणको अन्तिम चरणमा छन् । तीमध्ये पूर्णरुपमा तयार भइसकेका २० वटा घर संयोजक प्रचण्डले हस्तान्तरण गरेका हुन् ।

नयाँ जीवन सुरु गर्न प्रेरित

दुई कोठा र शौचालयसहितका ती आवासले घर गुमाएका परिवारलाई तत्कालका लागि सुरक्षित ओत दिएको छ । विपत्तिपछि अनिश्चित बनेको दैनिकीलाई सामान्य अवस्थामा फर्काउने आशासमेत जगाएको छ ।

रातमाटेका प्रदीप राईले वाईसीएलले बनाइदिएको अस्थायी टहरामा जसोतसो दशैं मनाउने तयारीमा रहेको बताए ।

‘विगतमा जस्तै धूमधामसँग दशैं मनाउने रहर त थियो, तर जसोतसो यसमै दशैं मनाउने तयारीमा छु,’ उनले भने ।

स्थानीय शम्भु सिग्देल पनि वाईसीएलले गाउँलाई ठूलो गुन लगाएको बताए । अस्थायी आवासले भए पनि आफूहरूलाई बाँच्न र नयाँ जीवन सुरु गर्न प्रेरित गरेको उनको भनाइ छ ।

राहतदेखि पुन:स्थापनासम्म

वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प वलीका अनुसार पीडाबाट सामान्य जीवनमा फर्काउने प्रयासमा बाढी प्रभावित परिवारका लागि जस्ताको छाना र जस्ताकै भित्ता भएका दुई कोठे अस्थायी घर बनाइएको छ । प्रत्येक परिवारलाई शौचालयको व्यवस्था पनि गरिएको छ ।

अस्थायी आवास निर्माणको नेतृत्व वाईसीएलका केन्द्रीय उपाध्यक्ष हरि ढकालले गरेका थिए । उनका अनुसार दाताहरूबाट प्राप्त निर्माण सामग्री तथा प्राविधिक सहयोगमा ती संरचना निर्माण गरिएका हुन् । एउटा आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको उनले बताए ।

प्रभावित परिवारका लागि खाद्यान्न, खाना पकाउने ग्यास, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार बत्ती तथा मोबाइललगायत अत्यावश्यक सामग्री पनि वितरण गरिएको थियो । प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउन ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन:स्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएका थिए । आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा संगठनका ६०० भन्दा बढी नेता तथा कार्यकर्ता खटिएका थिए ।

यसअघि वाईसीएलको मातृपार्टी नेकपाका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले ३०० विस्थापित परिवारलाई खाना पकाउने ग्यास, भाँडाकुँडा, इन्डक्सन चुलो तथा भान्सामा आवश्यक अन्य सामग्री सहयोग गरेका थिए ।

भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न स्थानमा भौतिक पूर्वाधारका साथै मानवीय क्षतिसमेत गरेको थियो । वाईसीएलको टिम बाढी गएको दिनदेखि नै उद्धार, राहत तथा अस्थायी आवासको व्यवस्था गर्न खटिएको वाईसीएल नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेल बताउँछन् ।

उनका अनुसार प्रभावित क्षेत्रका नागरिकहरुको सुनचाँदी, पैसा लगायत धनमाल उत्खनन् गरी सम्बन्धित घरधनीलाई बुझाउने, बाढीले बगाएका शवहरु खोजेर व्यवस्थापन, रक्तदानमार्फत् रगतको परिपूर्ति र होल्डिङ सेन्टरहरुमा खानपिनको व्यवस्था गर्न वाईसीएल सक्रिय थियो । ‘हामी दैनिक १२ घण्टासम्म खटिएर काम गर्‍यौं र अस्थायी भए पनि आवासको पनि व्यवस्था गर्‍यौं,’ गजुरेलले भने ।

नुवाकोट रातमाटेका बाढीपहिरो प्रभावित परिवारलाई अस्थायी आवास हस्तान्तरण गरेर नेकपा संयोजक प्रचण्ड रसुवा प्रस्थान गरेका छन् ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?